कञ्चनपुरमा दलितलाई छात्रवृत्ति दिलाउन अभियान सञ्चालन

विभेद बिरुद्ध अभियान। १३ जेष्ठ २०७२ ।कञ्चनपुर जिल्लाको बेलडाँडी–७ स्थित चन्दनवस्तीको सिंहपाल निम्न माध्यमिक विद्यालयमा प्रावि तहमा दुई सय ४० र निमावि तहमा दुई सय ६० विद्यार्थी अध्ययनरत छन् । तीमध्ये आधा त दलित विद्यार्थी नै छन् ।  तर, कसैले पनि सरकारी स्कुलमा पैसा नतिरी पढ्न पाएका छैनन् । यस विद्यालयमा कक्षा १ मा पढ्नेले सय रुपैयाँ बुझाउनुपर्छ । कक्षा ८ मा पढ्नेले आठ सय ५० तिर्नुपर्छ । त्यसका अलावा परीक्षा शुल्क छुट्टै तिर्नुपर्छ । 
बेलडाँडी–७ की अनु चदारोले सो विद्यालयमा १२ सय ५० रुपैयाँ तिरेर आफ्ना तीन सन्तानको भर्ना गरिन् । उनका दुई छोरा कक्षा २ र ५ मा पढ्छन् भने एक छोरी ७ कक्षामा पढ्छिन् । अनुले तिरेको रकम पनि छुटसहितको हो । 
दलितका बालबालिकाले निःशुल्क पढ्न पाउने कुरा जानकारी नभएर पनि होइन, पटक–पटक स्थानीय दलित अधिकारकर्मी र अविभावकले विद्यालयमा गएर कुरा गरेका छन् । बेलडाँडी–७ को सम्झना दलित महिला समूह र गाउँकै दलित महिला सञ्जालले शुल्क लिनुहुन्न भनेर आवाज उठाउँदै आएका छन् तर विद्यालयले भने विभिन्न बहानामा शुल्क असुल्दै आएको छ । सो विद्यालय व्यवस्थापन समितिमा दलितको प्रतितिधित्व नभएको पनि होइन तर समितिमा राखिएका प्रतिनिधि मात्र प्रतिनिधि हुन् । उनीहरूका कुरा न विद्यालय व्यवस्थापन समितिले सुन्छ, न विद्यालय प्रशासनले नै ।
बेलडाँडीका दलित त्यसै पनि पीडित छन् । उनीहरू आरक्षबाट आउने हात्तीबाट बारम्बार पीडित बनेका छन् । तर, क्षतिपूर्ति पाउँदैनन् । उनीहरूका कुरा बोलिदिने पनि कोही हुँदैनन् । अहिले दलित महिला संघ मातहत गठित विभिन्न महिला समूहले गाउँमा दलित महिलाको चेतना स्तर उकास्न मद्दत गर्दै आएको छ । त्यही चेतनाका कारण उनीहरूले आफ्ना छोराछोरीले सरकारी विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने र छात्रवृत्ति पाउनुपर्ने माग विद्यालयसम्म पु¥याउँदै आएका छन् । गाविसस्तरीय दलित महिला सञ्जालकी अध्यक्ष रत्न विक भन्छिन्, ‘गाउँका दलित छात्रछात्राले एसएलसी पास गर्न सक्दैनन्, उनीहरूलाई उच्च शिक्षाको अवसर त कमै मिल्छ ।’
सरकारले दलित बालबालिकाका लागि निःशुल्क शिक्षा र छात्रवृत्ति दिने गरेको छ तर कञ्चनपुरका अधिकांश विद्यालयमा दलितका छोराछोरीले निःशुल्क पढ्न पाएका छैनन् । कञ्चनपुरको चाँदनी दोधारा नगरपालिकाका अधिकांश विद्यालयले भर्ना शुल्क लिएका छन् । उदाहरणका लागि चाँदनी दोधारा–२ कृष्णनगरस्थित श्री शारदा उच्च माविलाई हेरे पुग्छ । सो विद्यालयले कक्षा १० मा पढ्ने अल्का नेपालीको भर्ना शुल्क एक हजार छ सय रूपैयाँ लियो । 
सरकारले सबै तहमा निःशुल्क शिक्षा दिने भन्दै आएको छ । सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि केही वर्ष अघिदेखि विद्यार्थी भर्ना अभियान नै प्रारम्भ ग¥यो तर चाँदनी दोधाराकी गीता नेपालीले छोराछोरीको परीक्षा शुल्क बुझाउन नसक्दा परीक्षा नै दिन पाएनन् ।
शुल्क लिन चोर बाटो ः 
विद्यालयको आर्थिक विकास र उन्नतिका लागि भनेर जिल्ला शिक्षा कार्यालयले पर्याप्त बजेट दिएको हुन्छ । प्रशासनिक खर्च पनि उपलब्ध गराएकै हुन्छ तर पनि विद्यालयले विद्यालयको शैक्षिक सुधार वा अन्य बहानामा विद्यार्थीबाट शुल्क असुल्दै आएका छन् । 
जिल्ला शिक्षा कार्यालयले कुनै पनि बहानामा विद्यार्थीबाट शुल्क असुल्न नपाइने बताउँदै आएको छ । तर, विद्यालयको स्तरोन्नतिको बहानामा विद्यार्थीबाट रकम असुल गरिन्छ । उनीहरूले निर्देशनको ढाकछोप गर्न सहयोगको नाममा रकम असुल गर्छन् । भर्ना शुल्क भनेर लिन नमिल्ने भएपछि विद्यालयले अविभावकको नाममा सहयोग शुल्क उठाउँदै आएका छन् । कतिपय विद्यालयले त फलना विद्यार्थीको अविभावकबाट प्राप्त सहयोग भनेर उठाउने गरेका छन् । 
जिल्लाका अधिकांश विद्यालयले कुनै पनि विद्यार्थीका अविभावकसँग भर्ना शुल्क भनेर लिएको पाइँदैन तर शुल्क लिने बहाना भने अनेक छन् । प्रायः विद्यालयले शिक्षकको अभाव, शिक्षालाई गुणस्तरीय बनाउन व्यवस्थापन समितिको निर्णय गराएर पैसा असुल गर्छन् । सिंहपाल निमाविका प्रअ बहादुरसिंह खड्काले समितिको निर्णय विनाकुनै शुल्क नलिएको दाबी गरे । 
निसाना छात्रवृत्ति ः 
जिल्ला शिक्षा कार्यालयले गत शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्मका १९ हजार पाँच सय ७० दलित विद्यार्थीका लागि ६५ लाख ३६ हजार तीन सय ८० रूपैयाँ र ९ र १० कक्षामा अध्ययन गर्ने दुई हजार दुई सय ६७ दलित विद्यार्थीका लागि  नौ लाख ४३ हजार आठ सय ७२ पैसा निकासा ग¥यो । तर त्यो रकम दलित विद्यार्थीको हातमा परेन । 
जिल्ला शिक्षा कार्यालयले दलित विद्यार्थीका लागि यति ठूलो रकम खर्च गरे पनि दलित विद्यार्थीको हातमा नपरेपछि कञ्चनपुरस्थित दलित महिला संघ (फेडो) ले दलितलाई छात्रवृत्ति दिलाउन अभियान नै सञ्चालन गरेको छ । संघका जिल्ला कार्यक्रम संयोजक अमित सुनारले पटकपटक जिल्ला शिक्षा कार्यालयमा छात्रवृत्तिको कुरा उठाउँदा पनि सुनवाइ नगरेपछि जिल्लाभर अभियान सञ्चालन गर्नुपरेको बताए । 
जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीलाई जिल्लाका विभिन्न विद्यालयले यसरी शुल्क उठाइरहेका छन् भन्ने थाहा छैन । उनी केही दिनअघि मात्र कञ्चनपुर सरुवा भएर आएका हुन् । उनले त्यसरी यो वा त्यो बहानामा विद्यालयले दलित विद्यार्थीसँग पैसा उठाएको भेटिए तत्काल फिर्ता गराउने र शुल्क उठाउनेलाई कारवाही गर्ने बताए । यसअघि जिल्लामा रहेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउथले भने व्यावस्थापन समितिको निर्णय अनुसार दलित विद्यार्थीका अविभावकसँग सहयोग उठाइएको देखिएकाले यसमा शिक्षा कार्यालय जिम्मेवार नहुने बताउँदै आएका थिए । 
दलित महिला संघले विभिन्न गाविसमा महिला समूह गठन गरेर त्यही समूहमार्फत अभियान सञ्चालन गरिरहेको छ । उनीहरूले आफ्ना गाविसमा रहेको विद्यालयमा गई छात्रवृत्तिको कुरा उठाउन पनि थालेका छन् । जिल्लाका हरेक गाविसमा दलित महिला सक्रिय बन्न थालेपछि छात्रवृत्ति दिलाउन नसके पनि व्यवस्थापन समितिमाचाहिँ राख्न थालेको झलारी पिपलाँडी–११ की देवकी सुनार बताउँछिन् । उनी मनकामना दलित महिला समूहकी अध्यक्ष पनि हुन् । 
संघले पछिल्लो समयमा जिल्लाका महिलालाई सचेतीकरण गराउँदै आएको छ । जसका कारण दलित महिला पनि अधिकारका लागि सक्रिय बन्दै आएका छन् । उनीहरूकै सक्रियताले पनि छात्रवृत्ति दिलाउने अभियान सफल बन्ने संघकी जिल्ला उपाध्यक्ष लक्ष्मी ताम्राकारको विश्वास छ । -
स्रोत:कमान्डर पोस्ट

No comments:

Post a Comment