गाउँमा गएर नृत्य सिकाउने सपना अधुरै छ’- कुलमान नेपाली

जेष्ठ ८ २०७२ , विभेद बिरुद्ध अभियान  । वि.सं. २०२२ सालमा आमा जुनकिरी नेपाली र  बुवा गगनबाबु नेपालीको कोखबाट पश्चिम सुर्खेतको लगामको बाँसपानी धनरासमा जन्मिएका कुलमान नेपाली सानैदेखि नृत्य गर्न र गीत गाउनमा रुचि राख्थे । लगाममा जन्मे पनि कुलमान वीरेन्द्रनगरमा नै हुर्किए । सुरुमा गायनलाई अँगाल्दै उनले बन्धकी, बाटुली र गोरखा पल्टन जस्ता चर्चित फिल्ममा संगीत र नृत्य निर्देशन समेत गरिसकेका छन् । साथै उनले हालसम्म एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा नृत्य निर्देशन समते गरिसकेका छन् । २०३१ सालबाट आफ्नो कलाकारिता क्षेत्रलाई सुरुवात गरेका उनले नृत्यको क्षेत्रमा सफलता पनि हात पारेका छन् । उनले नृत्यमा प्रशिक्षण दिएका दिपाश्री निरौला र शंकर बीसी लगायत कलाकारहरूले अहिले राष्ट्रियस्तरमा ख्याती पाउन सफल भएका छन् । सुर्खेती माटोमा जन्मिए पनि यस क्षेत्रको समग्र कलाकारिता क्षेत्रलाई जोगाउने अभियानमा सहभागी रहेका चर्चित नृत्य निर्देशक कुलमान नेपाली हिजोआज के गर्दै छन् ? उनले नृत्यलाई कसरी बुझेका छन् ? प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेरसाझा बिसौनी दैनिकका लागि सहकर्मी सुशील खड्काले नृत्य निर्देशक कुलमान नेपालीसँग गरेको कुराकानी ः
हिजोआज के मा व्यस्त हुनुहुन्छ ?
दैनिक रूपमा बागीनामा गएर बिहान र साँझको समयमा विद्यार्थीहरूलाई नृत्य सिकाइरहेको छु । दिउँसोको समयमा स्कुलमा पढाउने कामलाई पनि निरन्तरता दिएर नै दिनहरू बितेका छन् । कहिले काहीँ नृत्य निर्देशन गर्नुपर्छ भनेर बोलाउँछन्, त्यसलाई पनि समय दिएको छु, यसैमा नै व्यस्त छु ।
लामो समयदेखि नृत्य निर्देशन गरिरहनुभएको छ, नृत्य भनेको के हो ?
नृत्य त्यो हो, जुन शरीरका विभिन्न अङ्ग, प्रत्यङ्ग, उपाङ्ग चलाएर लच्काएर सुर र तालमा गीतको माध्यमबाट आफ्नो भाव व्यक्त गर्ने कला नै नृत्य हो । यसलाई बोलीचालीको भाषामा नाच पनि भन्ने गरिन्छ ।
तपाईंले नृत्यमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो नि ?
मलाई बाल्यकालदेखि नै नृत्य गर्ने र गीतमा संगीत भर्ने ठूलो चाहना थियो । जन उच्च माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा मेरो प्रस्तुतीले गर्दा होला टेकराज भारती र गंगा केसीले ‘तिमीलाई हामी सहयोग गर्छौं’ भन्नुभयो । मलाई काठमाडौं लैजाने, नृत्य प्रशिक्षण दिने, संगीत भर्न सिकाउने कार्य उहाँहरूले नै गर्नुभएको थियो । मेरो प्रेरणाको मार्गदर्शन नै उहाँहरू हो । जसले गर्दा आज म यो स्थानमा आइपुगेको छु ।
कुनै व्यक्ति सफल नृत्यकार बन्न के गर्नुपर्छ ?
नृत्यमा सफल हुने पहिलो आधार नै व्यक्तिको लगाव हो । यस्तै निरन्तरता, सामाजिक विश्वास र अनुशासन पनि आवश्यक छ । किनकि व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि नृत्यु गर्छु भन्नु मुर्खता हो । ध्यानमा नियमित नृत्य गर्दै लुकेर रहेका संस्कृतिलाई बचाउनमा समेत लाग्नुपर्छ । अनुसन्धानात्मक नृत्य र अरुभन्दा कसरी फरक नृत्य दिन सकिन्छ भनेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा जहिले पनि ख्याल पु¥याउनुपर्छ ।
अरुलाई त नाच्न सिकाउनु भयो, आफू कत्तिको नाच्नु हुन्छ नि ?
हा...हा...हा..., म नाच्छु । मलाई अलि मोटो देखेर होला, सक्दैन कि भन्नु भयो है ? माहोल बनेको बेला जसरी मैले विगतमा नाच्थे उत्तिकै आज पनि नाच्छु । कुनै अप्ठेरो हुँदैन । म्युजिकमा नाच्नु भन्दा लाइभ कार्यक्रममा नाच्दाको मज्जा बेग्लै हुन्छ । बिहान र बेलुका सिकाउने क्रममा पनि विद्यार्थीहरूसँग म मज्जाले नाच्ने गर्दछु । नाच्न छोडेको छैन्, मौका मिल्यो भने तपार्इंलाई पनि देखाउँला नि ।
हिजोका दिनमा तपाईंले नृत्य सिकाएका राष्ट्रिय कलाकारहरूको नाम लिनुपर्दा ? 
मैले नृत्य सिकाएका धेरै कलाकारहरू आज पनि राष्ट्रियस्तरमा मात्र नभएर विदेशमा पनि काम गरिरहेका छन् । उनीहरू अहिले चर्चित नृत्य निर्देशक पनि बनेका छन् । नृत्य निर्देशक शंकर बीसीलाई मैले पहिलो पटक नेपालगञ्जमा नाच्न सिकाएको थिएँ । दिपाश्री निरौलालाई सुर्खेतमा सुटिङ्ग हुँदै गरेको टेलिफिल्म ‘सँगै रोइरहेछ’ मा सिकाएको थिएँ, आज उहाँ राम्रो नाच्नु हुन्छ । त्यसैगरी टिका पुन, अर्जुन सोनाम, याम गुरुङ, चन्द मन्दिर, सुनिल रेग्मी, खीम बस्याल, ललित सिंजाली र ज्ञानबहादुर नेपाली लगायत थुप्रै कलाकार जो अहिले चर्चामा छन् । यसै क्षेत्रमा सक्रिय भएर लागेका छन् । 
जीवनमा भुल्नै नसकिने कुनै दुःखको क्षण सम्झन चाहनुहुन्छ ? जुन घटनाले आज पनि तपाईंलाई झस्काई रहेको छ  ।
कलाकारितासँगै मेरो खेलकुदमा पनि रुचि थियो । भलिबल प्रतियोगिताका लागि म २०५३ सालमा बर्दिया गएको बेला मेरो खुट्टामा सानो घाउ थियो । डाक्टरले त्यो घाउ च्यातिदिएपछि विस्तारै ठूलो भयो । पछि गएर डाक्टरले त्यो खुट्टा नै काट्नुपर्छ भन्दा म चिन्तित भएको थिए । म ६ महिनासम्म अस्पतालमा नै बसे । तर सबैको सहयोगले खुट्टा काट्नु परेन । मेरो नृत्य निर्देशक बन्ने सपना साकार भयो । त्यही पल सम्झिन्छु, डाक्टरले खुट्टा काट्नुपर्छ भनेको त्यो क्षणलाई अझै पनि भुल्न सकेको छैन् ।   
एकातिर शिक्षण पेसा अर्कोतर्फ कलाकारिता, परिवारबाट कत्तिको सहयोग पाउनुभएको छ नि ? 
धेरै सहयोग पाएको छु, मेरो श्रीमती सीताले मलाई दुःख र सुखमा जहिले पनि साथ र सहयोग गरिरहेकी छन् । म विचलित र कमजोर भएको बेला उनले सधैं सहयोग र साथ दिने गर्छिन्, जसले मलाई अगाडि बढ्नमा हौसला मिलेको छ । मेरो छोरा शिव संगीत पनि कलाकारिता क्षेत्रमा सक्रिय छन् । छोरीले पनि स्नातक गरी सकेकी छन् । परिवारका सबैबाट उत्तिकै माया र हौसला मिलिरहेको छ, खुसी छु ।
कलाकारितामा लागेर मात्र बाँच्न सकिन्छ र ? 
सकिन्छ, जीवनमा उतार चढाब आउँछन् । तिनलाई पार गर्दै मेहेनत गरेर अगाडि बढ्ने हो भने बाँच्न सकिन्छ । यो क्षेत्रमा कुनै समस्या छैन । तर, आफ्नो बाटो कहिले पनि भुल्नु हुँदैन । म यही गर्छु, जति छ त्यसमा नै सन्तुष्ट छु भन्दै अगाडि बढ्ने हो भने अवश्य बाँच्न सकिन्छ । आज धेरै कलाकारहरू यही क्षेत्रमा लागेर आफूमात्र होइन, परिवारलाई पनि त पालेका छन् । यद्यपि आफ्नो पेसामा लगनशील, मेहेनत र अनुशासनलाई भने कहिल्यै भुल्नु हुँदैन ।
पहिलेको र अहिलेको कलाकारितामा के भिन्नता छ ? 
अहिले सबैले आफ्नो लोक संस्कृति र कलालाई भुल्दै छन् । पश्चिमी संस्कृति हावी भएको छ । आफ्ना पुरानो संस्कृति जगेर्नामा समेत टेवा पु¥याउने गरी लाग्न आवश्यक छ । पछिल्लो पटक आफ्नो संस्कृति हराउँदै गएको हो कि भन्ने अनुभूति भइरहेको छ । कलाकारको समेत राज्यले सम्मान गर्न सकेको छैन् । २०४७ साल पहिला कलाकारलाई सम्मान, आफ्नो श्रम अनुसारको पारिश्रमिक पनि पाइन्थ्यो । सबैको साथ र माया पाइन्थ्यो । तर आज न राज्यले गरेको छ न अरु कसैले । कहिले काहीँ सम्झिंदा आफैमा दुःख लाग्छ ।  राजनीतिक विकृति र विसङ्गतिले आज कलाकार अपहेलित हुनुपरेको छ ।
कलाकारितामा अझै पूरा गर्न बाँकी रहेका सपना छन् ? 
केही सपनाहरू अधुरै छन्, यतिका समयसम्म मैले जीवनलाई नृत्य निर्देशन, संगीत भर्ने कार्यहरू गरें, एक हजार भन्दा बढीलाई नृत्य सिकाई सकेको छु । अझै सिक्ने क्रममा छन्, जसलाई मैले बिहान साँझ सिकाई पनि रहेको छु । म पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म पुगें । बन्धकी, बाटुली र गोरखा पल्टन जस्ता चर्चित फिल्ममा संगीत र नृत्य निर्देशन समेत गरिसकेको छु । दर्जनौं म्युजिक भिडियोमा समेत नृत्य निर्देशन गरेको छु । मैले आत्मैदेखि भन्दा अब गर्न बाँकी रहेको सपना भनेको ग्रामीण भेगमा लोप हुन लागेको कला संस्कृतिमा आधारित नृत्य त्यहाँ पुगेर सिकाउने रहेको छ । यही सपना पूरा गर्नका लागि प्रयास गरिरहेको छु । हुम्ला, डोल्पा, मुगु लगायतका ठाउँमा पुगेर नयाँ पिंढीलाई पुरानो सँस्कृतिबारे जानकारी दिएर नृत्य सिकाउने ठूलो इच्छा छ । हरेश खाएको छैन्, अवश्य पनि म त्यो स्थानमा पुगे भने मात्र जिन्दगीका अधुरा सपनाले सार्थकता पाउने छन् । अनि मात्र म ढुक्क हुनेछु ।
साभार : साझा बिसौनि 

No comments:

Post a Comment