सर्बस्व गुमाएका नेपाली परिवारको घाउमा धुर्मुसको टोलीले मलहम लाउदै

विभेद बिरुद्ध अभियान ।  काठमाडौं : स्क्रिनको पर्दामा उखान टुक्का जोडेर दर्शक हसाउँन सिपालु कलाकार सीताराम कट्टेल धुर्मुसको दैनिकी भूकम्पसँगै फेरिएको छ । 
सरकारको सफाइ दूतसमेत रहेका धुर्मुस कलाकार पत्नी कुन्जना घिमिरे सुन्तली र अन्य कलाकार लिएर दिनरात कुदिरहेका छन् । भूकम्पले देश शोकमा डुबेका बेला मेरी बास्सैका धुर्मुस दर्शक हसाउँन होइन, रोइरहेका दर्शकको घाउमा मलहम लगाउन दौडिरहेका हुन् । 
धुर्मुस अर्काे हाँस्य टेलिफिल्म भद्रगोल र सुगन डटकमको साथ पाएर भूकम्पपीडितलाई राहत र शौचालय बनाउन दौडिरहेका छन् । उनीहरु सिन्धुपाल्चोकको पिपलडाँडा पुग्दा भूकम्पले सर्बस्व गुमाएका रघुबीर नेपाली र पत्नी थलीमायाको अनुहारमा चमक देखियो । 
आफू समानका दुई छोराबाट हेलाका पात्र बनेका यी बाबुआमाले धुर्मुसको टोलीलाई देखेपछि राहतको शास फेरे । तर, भुइँचालोपछि चिरिएको उनीहरुको झुपडी बस्ती पहिरोले निल्ने त्रास दिनदिनै बढिरहेको छ । पटक पटकको भूकम्पले दुईचिरा बनेको पिपलडाँडामा वर्षा नलाग्दै सुख्खा पहिरो झरिरहेको छ । ठूला दुई भुइँचालापछि धर्ती हल्लिन रोकिएको छैन । भुइचालोको थर्काइसँगै उनी पनि दौडधुप गरिरहेका छन् । पछिल्लो पटक उनी आफ्ना सहयात्रीसहित सिन्धुपाल्चोकको पिपलडाँडा नगरपालिका–१ को कथित दलित समुदायको  बस्तीमा पुगे । 
भूकम्पले चिराचिरा परेको बस्तीमा बसेर उनको टोलीले भूकम्पपीडितहरुको घाउमा मलहम लाउने प्रयास ग¥यो । पिपलडाँडाको कथित दलित समुदायको बस्ती र अन्य दुई बस्तीमा तीन दिन लगाएर धुर्मुसको टोलीले १० वटा पक्की शौचालय बनायो । 
भूकम्पले सर्वस्व गुमाएर बाँचेका धैरैजसो वृद्धवृद्धामात्र रहेको पिपलडाँडामा कलाकारको टोली पुग्दा गाउँलेले पींडा विर्सने प्रयास समेत गरे । 
‘हामी पुगेपछि गाउँलेको मुहार थोरै भए पनि उज्यालो भयो’, धुर्मुसले भने, ‘सरकारका प्रतिनिधिको अनुहार देख्न नपाएका उनीहरु हामीलाई देख्दा ठूलो सहारा पाएझैं गरिरहेका थिए । 
धुर्मुसको टोलीले त्यहाँका ६० घरका लागि ६ घरले एउटा प्रयोग गर्ने गरी १० वटा शौचालय बनाए । धुर्मुसको टोलीले शौचालय बनाउँदै गर्दा दुई चिरा परिसकेको गाउँमा निरन्तर पहिरो झरिरहेको थियो । 
‘शौचालयको अभावमा महमारी फैलने डर थियो, त्यो अब रोकिएको छ’, धुर्मुसले भने, ‘शौचालय त बनायौं तर राहत नपुग्दा गाउँले भोकभोकै बस्ने अवस्था छ । त्यहाँ तत्काल राहत लैजान सरकारी र अन्य निकायलाई अनुरोध गर्छु ।’
धुर्मुसको टोली पिपलडाँडा जाँदा र फर्कँदा पनि सडकहरु सुनसान थिए । अहिले पनि त्यो क्षेत्रमा सरकारी र अन्य राहत टोली पुग्न सकेका छैनन् । 
‘हामी जाँदा पनि पहिरो भरिरहेको थियो, फिर्दा पनि भूकम्पका बीच पहिरोले किच्ने डर छ’, धुर्मुसले भने, ‘शौचालयका लागि खाल्डो खन्दै गर्दा पनि पहिरो गइरहेको थियो । दूर्गम बस्तीहरुमा सरकारी राहत अझै पुगेको छैन ।’
साभार :- अन्नपुर्ण पोस्ट 

No comments:

Post a Comment