विभेद बिरुद अभियान ।बारपाक (गोरखा), वैशाख २९ – मेरी पत्नी र छोरी ऊ त्यही झुलुङ्गे डाँडोबाट खसेको ढुङ्गोमुनि पुरिएका छन् । बारपाक आउने–जाने यात्रुलाई सो ठाउँ देखाउँदै तिनको लास झिक्न अझसम्म कसैले सघाएका छैनन् भन्नुहुन्छ बारपाक–४ का प्रकाश विक । यही वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पले झुलुङ्गेको डाँडोमुनि हिँडिरहेका विकका पत्नी अञ्जु र छोरी प्रज्ञालाई माथिबाट खसेको ढुङ्गाले पुरेर एकै चिहान बनाइदियो ।
भोलिपल्टै रोजगारीका लागि दुबई जान काठमाडौँ आइपुगेका विकको यात्रा पनि रोकिदियो, त्यस दुःखद घटनाले । बारपाकका ७० जनाको बाँकी जीवन हरेर लगेको त्यस भूकम्पले ३०० भन्दा बढीलाई सख्त घाइते बनाएर मात्र छोडेन, तिनका घरबारसमेत उजाड बनायो । यस्तो अवस्थामा कस्ले झिकोस् तिनको लास । विक भन्नुहुन्छ, “त्यस दिन पत्नी अञ्जुले छोरी प्रज्ञालाई उपचार गराएर घर लैजाँदै थिइन् । त्यसैबेला आएको विनाशकारी भूकम्पपछि पहाडबाट खसेको ढुङ्गा र माटोले पुरेर भित्तापट्टि रहेका आमा–छोरी एकै चिहान भए । तर बाटोको छेउमै हिँडेका दुई बहिनी अरुणा र बिन्दुलाई भने बाटोमुनि फालिदिएकाले बाँच्न सफल भए । बाटोमा हिँड्ने अन्य व्यक्ति पनि त्यसै आसपासमा पुरिएका हुन सक्ने उनको अनुमान छ ।
त्यस घटनापछि भावविह्वल बन्नुभएका विक १३ गतेको दुबईको यात्रा त्यागेर घटनास्थलतर्फ फर्किए । तेस्रो दिन मात्र घटनास्थल पुगेका उनलाई त्यहाँ सहयोग गर्ने कोही थिए न त उहाँ एक्लैले बाटोभरि खसेका अजङ्गका ढुङ्गा पन्छाउने आँट नै गरे । भूकम्पले भत्काएर जीर्ण र कहालीलाग्दो बनाएको बाटो पनि कसरी पार गरेछु भन्ने पत्तै नपाएको उल्लेख गर्दै उनी भन्छन्, “चारैतर्फ भग्नावशेष मात्र देख्दा आफ्नो घर पनि सुरक्षित नभएको भान हुन थाल्यो । हतार–हतार घर पुग्दा भग्नावशेषमा केही खोजेजस्तो गरेर टोलाइरहेका बाबुआमा देख्दा मन थाम्न कठिन भयो र आमालाई अङ्गालो हालेर रुन थालें ।”
खण्डहर बस्तीमा रहेका छिमेकका कसैलाई त्यही भूकम्पले छिनेर लगेको र कसैलाई उपचारका लागि अस्पताल पु¥याइएको दुःखद खबर बाबुआमाले सुनाए । उनले भने – पत्नी र छोरीको लास झिक्न दुई हप्तासम्म तलमाथि गर्दा पनि सम्भव भएन, प्रहरी कार्यालयमा गरेको उजुरी पनि कार्यान्वयन भएन, पाँच दिनसम्म कहीँ कतैबाट राहत पाउने स्थिति पनि नभएपछि बाँकी रहेका परिवारलाई उनले चितवनस्थित एक नातेदारको घरमा पु¥याउनुपरेको दुःखेसो थियो विकको । सुरक्षाकर्मीको सूचीमा विकका दुई परिवार बेपत्ता भएको कुरा उल्लेख छ । भूकम्प आएको भोलिपल्टदेखि नै एक हजार ४०० घरपरिवार रहेको दुर्गम र विकट बजारमै ध्यान केन्द्रित गर्नुपरेको छ सेना, प्रहरी र सशस्त्र प्रहरीले । उनीहरुले घरले पुरिएका व्यक्तिको लास निकाल्न र घाइतेलाई उपचार गराउन सघाउँदै आएका छन् । बाँचेकालाई मर्न नदिनु र खण्डहर बनेका घरबाट अन्नपातलगायतका बहुमूल्य वस्तु निकाल्नु, महामारी हुन नदिनु भग्नावशेषबाट मरेका पशुपक्षी निकालेर गाड्नुजस्ता काम प्राथमिकतामा परेकाले एक्लो ठाउँको लास झिक्न कठिन भएको हो भन्छन्, बारपाकको उत्तरी भागमा खटिनुभएका प्रमुख सेनानी सुनिलसिंह राठौर । साभार # रातोपाटि
No comments:
Post a Comment