पाँच पुस्तामा लुटियो पूर्खाको इतिहास - तारा लामगादे

१६ जेष्ठ २०७२ , विभेद बिरुद अभियान । दक्षिण एशिया महाद्धीपको भारतबाट नेपाल खण्डको पश्चिमी क्षेत्रमा आर्यहरुको प्रवेशसँगै मेहेनतकश, श्रमजीवि वर्गको पनि उपस्थिति थियो भन्ने कुरा इतिहासबाट प्रष्ट भएको छ । विशेषत ः पश्चिम नेपालका विभिन्न भूभागमा बसोबास गर्दै नेपाल खण्डका विभिन्न स्थानमा आर्यहरुको सघन बसोबास भयो । कालान्तरमा त्यहि मानव वस्तीहरु मिलेर स–साना राज्यहरु बने । राज्यहरुको एकीकरण पछि मात्रै नेपाल बनेको हो । त्यसैले नेपालमा को मूलावासी वा आदिवासी, को चाहिँ आप्रवासी भनेर झगडा गर्नुको तुक छैन । राज्यको स्वरुप नबन्दै अहिलेको नेपाल क्षेत्रमा प्रायः जातिहरुको बसोबास थियो । त्यहि मानव समाजले राज्यको अवधारणा निर्माण गरेको हो । यद्यपी त्यसरी बसोबास गर्दा एउटै वर्ण, एउटै भाषा, एउटै धर्मावलम्बीहरुको सघन उपस्थिति हुनुचाहिँ स्वभाविक नै हो । तर यतिबेलाको जटिल समस्या भनेको जातीय समस्या पनि हो । त्यहि जातका आधारमा अहिले नेपालमा एकले अर्काप्रति शंका गर्ने, इष्र्या गर्ने, कलह गर्ने, विभेद गर्ने जस्ता भेदभावहरु छँदैछन् । यसको निराकरण गर्न र राष्ट्रलाई सहि ढंगले अगाडि बढाउन वास्तविकता खोज्नु अत्यन्त जरुरी छ ।
इतिहास लेख्नेहरुकै बन्छ । नलेख्नेको बन्दैन । प्राचिन समयमा छापाखाना र अहिलेको जस्ता उपकरणहरुको आविष्कार भएको थिएनन् । उबेला शिलालेख, ताम्रपत्र, चर्मपत्र लगायतमा लेख्ने चलन थियो तर त्यो लेख्ने काम जोसुकैले गर्न सकेनन् किनकी त्यो चेतना र शिक्षा सबैमा थिएन । यसैले पनि अहिले सबै जातिले आफ्नो इतिहास लेख्न सक्ने र खोज्न सक्ने अवस्था छैन । केहिले लेखेका छन् ति कतिपय मनगढन्ते र कल्पनामा आधारित छन् । पछिल्लो समयमा हरेक जाति र जातिभित्रका पनि थरहरुले वंश समाज बनाउने, बंशावली खोजी गर्ने कार्य गरिरहेका छन् । अन्ततः त्यस्ता समाजहरु धार्मिक विधान र राजनीतिक दस्तावेज तयार गर्न पुग्छन् जसले केहि व्यक्तिलाई फाइदा पु¥याए पनि आम समाजलाई त्यसले विभाजित र टुटफुट मात्रै पार्छ । सामाजिक सद्भाव र जातीय एकता झल्कन नसकि विद्धोष र विखण्डनकै पक्षमा टेवा पु¥याएको छ । यस्तो विषम परिस्थितिमा पङ्तिकारको आफ्नै पाँच पुस्तालाई अध्ययन गर्ने कोशिष गरिएको छ । यस अध्ययनले समग्र जाती र नेपाल राष्ट्रको प्रतिनिधित्व पनि गर्न सक्छ ।
हालको पूर्वी नेपालमा पर्ने भोजपुर जिल्लाको चरम्बी गाविस अन्तर्गत वडा नम्बर ४ मा पर्ने  “धपेनी” भन्ने ठाउँ छ । त्यहि धपेनीमा म जन्मिएँ र मेरो पूर्खाहरुले आफ्नो जीवन लिला समाप्त गरे । मैले मेरो हजुरबालाई देख्न पाएँ र बुबा अहिले पनि हुनुहुन्छ । त्यससँगै आज भन्दा २० वर्ष अघि झण्डै ९५ वर्षका बृद्धबृद्धाहरुलाई पनि देख्न पाएँ त्यहि गाउँमा । उनीहरुले सुनाएका ‘उहिलेका कुरा’ आजसम्म पनि मेरो मनस्पटलमा ताजै छन् । यसैले लाग्छ इतिहास भविष्यको निम्ति मार्गदर्शन पनि हो । धेरै जना पाका व्यक्ति मध्ये मैले संगत गर्न पाएका एक व्यक्ति थिए ‘ल्यारे बुढा’ उनको सक्कली नाम त के हो मलाई थाह छैन तर गाउँमा ल्यारे बुढालाई सबैले ‘ल्यारे’ भनेरै चिन्थे । उनी क्षेत्री जातिका बगाले थापा थरका थिए । उनी मेरो बुबाको हजुरबालाई पनि चिन्थे रे । उनले धेरै पहिलेका कुरा गर्थे । त्यस्तै कर्कीनी साईली पनि मेरो हजुरआमाकी दावली रहिछन् । मैले उनलाई आमैकै दर्जामा राखेर हेर्थे । उनीले मलाई मेरी हजुरआमाकी सासुलाई वा मेरी कुर्पीआमालाई पनि देख्न र व्यवहार गर्न पाइछन् । उनले भनेअनुसार मेरी कुर्पी आमै त्यो गाउँकी साहुनी हुनुहुदो रहेछ । मेरा बुबाको हजुरबा वा मेरो कुर्पीबा गाउको मालिक हुनुहुँदो रहेछ । अर्थात त्यो गाउँमा क्षेत्रीहरुलाई राख्ने व्यक्ति हुनुहुँदो रहेछ । त्यस्तै गाउँमा मैले मेरो बुबाको बडाबाउ श्यामलाललाई म निकै जवान हुँदासम्म संगत गरे । उहाँ पनि बृद्धा अवस्थासम्म बाच्नु भएको थियो । उहाँले उहाँको हजुरबुबाको समेत कुरा गर्नुहुन्थ्यो । त्यतिमात्र होइन, त्यहि गाउँमा केहि बूढापाका राईहरुलाई पनि देख्न पाए र उनीहरुका कुरा पनि मैले खुब मज्जाले सुनेँ । यसरी जिवित व्यक्तिहरुसँगको प्रत्यक्ष कुराकानी, पाटीपौवामा लेखिएका शिलालेख, घरको भन्सारमा राखिएका ताम्रपत्र, बुबाले पाउनु भएको अंशका काँसे भाडाकुँडा र बुबाले पितृपुजा गर्दा फलाक्नु भएका नामहरुः रणबिर, करविर, बलविर, दलविर र पुष्पलाल’ आदिबाट मैले मेरो पूर्खाहरुको पाँच पुस्तामा देखिएको जातीय अन्तर मेरो निम्ति पनि आश्चर्य बन्यो । ति सबै प्रमाणहरुबाट मैले मेरो त्यो गाउँको कथा यसरी लेख्न मन लाग्यो ।
करिब ६ सय वर्ष पहिला रणविर पौडेल पश्चिम नेपाल खण्डबाट पूर्वतिर बसाइसर्ने क्रममा एउटा अति नै सुन्दर ठाउँमा आइपुगे । उनी त्यहाँ आइपुग्दा भोक र तिर्खाले धपेटी लागिसकेको थियो । अनि त्यहाँको पानी पिए पछि भोकतिर्खा नै हराएजस्तो भयो र त्यसठाउँको नाम उनले ‘धपेनी’ राखे । त्यसठाउँमा आउँदा उनी र उनकी श्रीमतिले धेरै खोला नालाहरु पारगर्दै आउनु परेको थियो । त्यसरी ठूलाठूला नदीहरु पार गर्दा उनीहरुले पौडि खेलेर पार गरेका थिए । पौडि खेल्न सिपालु भएका कारण पौडल भनिएको भनाई रहेको छ । उनका केहि परिवारसहित त्यो स्थानमा बसोबास गर्न लागे । माथिल्लो डाँडामा बसोबास गर्न सुरु गरे । त्यसको मुनिपट्टी ठूलो आहाल थियो, जहाँ हात्तिहरु बस्दथे । वरीपरि सिकार खेल्ने र पूरै जमिन खाली थियो । बोटविरुवाले पुरै ढाकेको थियो । त्यहाँ बसोबास गर्दै जाँदा ढुंगा बाटोको घर बनाए र खरको फुस्कोले छाना लगाए । जुन धेरै लामो थियो । किनकी उनले पालेका गाई भैसीहरु, घोडा, बाख्रा आदि पनि त्यहि घरमा राखिन्थ्यो साथै जंगल फडानी गरेर पानी भएको ठाउँहरुमा खेतिकिसानको काम पनि सुरु गरे । रणविरका धेरै छोराछोरीहरु थिए तिनीहरु छुटफुट भएर देशका अन्य भूभागमा बसोबास गर्न थाले । करविर चाहिँ रणविरसँगै रहे । रणविर बृद्धअवस्थासम्म बाँचे । करविरको पालामा शिकार खेल्दै जंगल जाँदा एउटा खिम्बुले परिवारसँग भेट भयो । करविरले त्यो खिम्बुलेको परिवार जंगलमा ओडारमुनी त कहिले रुखका फेदतिर कन्दमूल खाई कस्टले जिवन जिएको देखेर करविरले आफुसँगै बस्न आग्रह       गरे । अनि त्यो लामो छाना भएको घरमा पौडेल र खिम्बुलेको परिवार बस्न थाल्यो । करविर र खिम्बुले सिकार खेल्न दिनभर जान्थे र साँझपख      घरमा सिकार लिएर आउँथे । पछि खिम्बुले परिवार पल्लो डाडामा र पौडेल परिवार वल्लो डाडामा बस्न थाल्यो । खिम्बुलेका परिवारले करविरका परिवारलाई लामो छाने भनेर चिन्न थाले । त्यहि लामो छाने पछि लामिछाने भयो । यसरी करविरको नाम पछि करविर लामिछाने भयो । करविरका पनि थुप्रै सन्तान भए । उनीसँग बलविर मात्रै रहे अरु छोराहरु परदेश तिर लागे ।
बलविर लामो कदका थिए तर उनीहरुसँगै छिमेकमा बसोबास गर्ने खिम्बुलेहरु छोटा कदका । बलविर अग्लो, गोरो थिए । नामजस्तै उनी बलियो पनि थिए । सायद उनी बलियो भएकै कारण बलविर नाम रहेको अग्रजहरुको भनाई छ । बलविरलाई लामो कद (उचाई) भएकाले अरुले उनलाई लामो कदे त कसैकसैले ‘लामघारे’ पनि भन्दथे । कसैले लामकदे, कसैले लामघारे भन्दाभन्दै अन्ततः बलविर लामगादे भनियो । त्यहि समयमा एकदिन पारी गाउँमा मान्छे मरेको खबर एकोहोरो शंख बजारएर दिइरहेको सुनेपछि खिम्बुले र लामगादेको परिवारमा पनि खुलदुली      भयो । आखिर बलविर खिम्बुले परिवारका दामेली साथीसँग करिब १ घण्टाको ओरालो झरेर अरुण नदिमा पुगे । त्यहाँ लामो लामो टुप्पी पालेका कपाल चिण्डै काटेका  गर्मिको समयमा पातलो कपडा बेरेर काधमा जनै भिरेका लोग्ने मान्छे र लालाबालासहितका स्त्रीहरु नदिको किनारामा दुःखसहित बसेको देखेपछि बलविरले सँगैको साथीसँग सल्लाह गरि तिनीहरुलाई आफैसँग उकालो लागे । साथमा उनीहरुसँग भएका गाई बाख्राहरु पनि लगे । जब ‘धपेनी’मा पुगेपछि डाडामा घमाइलो हुने भएकाले तिनीहरुका गाईबाख्रालाई प्रशस्त घाँसपात र दानापानी होस् भन्ने सल्लाहले हात्तिको आहाल वरीपरिका जंगल फडानी गरेर जिमाहामा बस्न लगाए । बलविरका पनि प्रसस्त छोराछोरी मध्ये विहेवारी गरेर त कति चाहि घुमफिर गर्ने चाहनाले विभिन्न ठाउँमा गए र कहिल्यै त्यस ठाउँमा फर्केनन् । बलविरलाई बुढेशकालमा पालन पोषण गर्ने काम उनका साहिला छोरा दलविरले गरे । दलविर विशेष गरेर जमिन्दा र सम्पन्न थिए । उनले उ बेला २ वटा धन्सार (अन्नपात जम्मा गर्ने घर) बनाएका थिए । मानववस्ती बढ्दै जाँदा खाद्यान्नको अभाव देशमा बढ्दै गएको सुनेर उनले आफ्ना बाबु बलविरले ल्याएका ‘बगाले’हरुलाई काम लगाएका थिए । दलविरबाट ‘बगाले’हरु निकै खुशी थिए । उनीहरुले आफ्नो बगाललाई लालनपालनमा दलविरको भुमिका प्रति यति खुशी भएकी उनीहरुले आफुलाई दिएका सबै जिम्मेवारी र कामको प्रश्रय दिँदै ‘विश्वकर्मा’ बाबाको पगरी दिए । सो बेलामा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिसकेका थिए । राज्यसत्ता पनि बगालेहरुलाई ‘थापा’ खिम्बुलेहरुलाई पनि ‘राई’ लेख्ने प्रचलन कायम बनाईसकेको थियो । यद्यपी बगालेहरुले गुथाई दिएको विश्वकर्माको     पगरीपछि दलविर विश्वकर्मा भए ।
बगालेहरुको बगाल निकै बढ्यो । देशमा जातपात र छूवाछूत प्रथाले अन्य क्षेत्रमा व्याप्त बनाई सकेको थियो । पश्चिममा राज्य–           राज्यबीचको द्वन्द्वले घरवारविहिन बनाई लखेटिएका बगालेहरु ‘धपेनी’मा संख्यात्मक रुपमा खिम्बुले र विश्वकर्माहरुको भन्दा निकै मात्रामा बढि भइसकेको थियो । त्यसबेलासम्म जाति प्रथाले कानुनी मान्यतासमेत पाइसकेको थियो । श्री जङ्गबहादुर राणाले वि.सं.१९१० मा छूवाछूत प्रथा लादिएको थियो । राजामहाराजा र राणाको प्रतिनिधित्व बगाले अर्थात् थापाहरुले गर्न थालिसकेका थिए । दलविरको पालासम्म जाति प्रथाले छुन नसकेको धपेनीमा बगालेहरुको बाहुल्यताले दलवीर बृद्धा अवस्था भएपछि आफ्नो सक्कली रुप देखाए । बगालेहरुले त्यसपछि आफ्ना पितापूर्खाको खोजी गरेर त्यसकै आडमा राज्यसत्तासँग साँठगाँठ बढाउन थाले राणाहरुसँग पनि नजिकको सम्बन्ध बनाउन थाले । दलविरका २ जना छोराहरु थिए । श्यामलाल जेठा र पुष्पलाल कान्छा । तर त्यस ठाउँका बगालेहरुले देशका अन्य ठाउँहरुमा झैँ श्यामलाललाई ‘बन्दुके कामी’ र पुष्पलाललाई ‘पिठे कामी’ भनेर नामाकरण गरिदिए । यतिसम्मकी सरकारी विवरणमा मेरो हजुबा पुष्पलाललाई ‘पुष्पे कामी’ भनेर लेखियो । कामीको अर्थ सबैभन्दा तल्लो दर्जाको गाली वा बेइजती हो । स्त्री लम्पट, कामवासनाले युक्त, कामुक अर्थात् धेरै स्वास्नी खोज्ने भन्ने अर्थ लाग्छ । त्यहि अर्थमा उनीहरुले हाम्रा पूर्खालाई ‘कामी’ भनिदिएका हुन् । तर मेरो हजुरबाको पेशा कृषि थियो । उहाँहरुले फलामको काम गर्नु हुँदैन थियो । फलामको काम गर्नेलाई ‘कामी’ भनिन्छ भन्ने परिभाषा पनि छ तर मेरो पूर्खाहरुले कहिल्यै फलामको काम गरेका थिएनन् । बरु लौ–हार अर्थात् लौ–भनेको फलाम र हार–भनेको काम गर्नेलाई लोहार भनिन्थ्यो । त्यसपछि बगालेहरुले हजुरबालाई र त्यसपछिका पुस्तालाई हातहतियार बनाउन दबाब दिए । थापाहरुले बालिघरे प्रथाको सुरु गरे जसरी शासक वर्गले देशका अन्य क्षेत्रमा सो प्रथा लादेको थियो ।
मेरो बुबा वि.सं.२०१२ सालमा जन्मिनु भएको हो । मेरो बुबा गोपाल विश्वकर्मा पुष्पे कामीका ५ भाई छोरा मध्ये जेठा हुनुहुन्थ्यो । त्यसैले पनि उहाँमा परिवारको हेरचाहमा धेरै समय बिताउनु पथ्र्यो । प्रजातन्त्र भनिए पनि पढलेख गर्ने वातावरण थिएन । जातीय भेदभावको चरम सिमा नाघिसकेको थियो । अत्यन्तै अन्याय भयो मेरो बुबालाई । २०२ड सालमा सरकारले जग्गा जमिन नापी गर्ने र व्यक्तिको नाममा दर्ता गर्ने व्यवस्था ग¥यो । त्यतिबेला हाम्रा पूर्खाहरुले जोडेका सबै श्रीसम्पत्ति बगाले थापाहरुले हडपे । सरकारमा क्षेत्री ब्राह्मण जातका कथित उच्च जातिहरु भएको र उनीहरुसँगै मिलेमतो गरी हाम्रो सम्पूर्ण जग्गाजमिन थापाहरुले आफ्नो र आफन्तका नाममा भटाभट दर्ता गरे । मेरो बुबालाई कालो अक्षर भैँसी बराबर थियो । कसले के गर्दैछ त्यो हेर्ने र बुझ्ने फुर्सद् नै थिएन । भएभरका सबै खेतबारीहरु बन्दकीका नाममा थापा क्षेत्री र केहि बाहुनहरुको नाममा थियो । उनीहरु ५–६ वर्ष चुपचाप बसे त्यसपछि हामी ति सबै जग्गा जमिन किन्न पर्ने बताए । जबकी आफ्नो जग्गा कतै हजुरबाले एक माना चामल लिएको, कतै एक कुरुवा घिउ त कतै एक पाथी धान लिएको झुटो विवरण बनाई कागज बनाइएको र सहि छाप लगाउन लगाएको काल्पनिक विवरणहरु सुनाएर सुकुम्बासी बनाए । हाम्रो आफ्नै नाउँमा केहि पनि रहेन कि आफु बसेको जग्गा जमिनसमेत हुँदै नभएको झुटो      विवरण बनाएर बन्दकीमा राखेको र त्यो उकास्न धरानको फुस्रेदेखि भोजपुरको धपेनीसम्म मेरो बुबाले ६ महिनासम्म निरन्तर धाएर डडाल्नु पिल्सीने गरी २१ माथि नुन बोकेर सोही गाउँको चेतबहादुर थापालाई बुझाएको बुबाआमाले बारम्बार मलाई सुनाउनु हुन्थ्यो । गाउँसमाजमा राज्यसत्तासँग सिधै सम्पर्क गर्ने टाठाबाट भए छिमेकी बगाले थापाहरु । मेरो बुबाभन्दा जेठाहरुले पनि गुरुकुल शिक्षा लिए र साक्षर भएका थिए । अहिले पनि मेरो बुबा निराक्षर नै हुनुहुन्छ । बुबालाई जर्बजस्ती फलामको काम गर्न लगाइयो, बालिघरे प्रथा लादियो र म आफै ठूलो हुँदासमेत कथित ‘विष्ट’का घरमा बालि उठाउन गएँ । वर्षदिनभरी उपल्लो जातका हातहतियार अर्जाप्नु पर्ने, भाडाबर्तन बनाउनेदेखि फलामका औजारसमेत निर्माण गरिदिनुपर्ने त्यतिमात्र होइन गोपाल कार्कीकोमा मेरो बुबा १० वर्षसम्म हलिको रुपमा बस्नुभयो । हिउँद वर्षा सँधै हलो जोतिदिनुपर्ने र त्यसवापत दशैँ तिहारमा जाउली भात खान पाइने हलियाप्रथामा पनि मेरो बुबा जोतिनु भयो । कतिपय यस्ता घटनाहरु हुन्थे कि मैले अहिले सम्झेर ल्याउँदा अति नै हृदय छिया–छिया भएर आउँछ ।
मैले पढ्ने बेलामा नेपालमा बहुदल आइसकेको थियो । तरैपनि त्यो गाउँमा राणा शासन जस्तै थियो । तिलबहादुर र चेतबहादुर थापा भनेपछि थुरथुर हुनुपथ्र्यो । स्कूल जाँदा उनीहरुको घर छोएर हिड्नु हुँदैन थियो । पानी पँधेरोमा जाँदा उनीहरुले उघाएर फयाकिदिन्थे, धारा पँधेरामा पुरै छोइछिटो हुन्थ्यो । पसलमा किनमेल गर्न पाइदैन थियो । अरु कथित ठूलाजातका व्यक्तिलाई पठाउनु पथ्र्यो । एकदिन म कक्षा ८ मा पढ्दा चुडा कार्कीको पसलमा विस्कुट किन्न जाँदा झण्डै ज्यानै गुमाउनु प¥यो । यतिसम्मकी ०५६–५७ सालसम्म पनि त्यस ठाउँमा हामीलाई ज्यादै कष्ट थियो । देशमा माओवादी छ, माओवादीले सबैलाई समान रुपमा हेर्छ भन्ने सुनेपनि त्यो गाउँमा माओवादीले हामीलाई हेर्नसकेको थिएन । बरु माओवादीमा पनि त्यहि थापाहरुको बर्चश्व थियो । एकदिन प्याउली स्कूल पढ्दा झूटो आरोपमा माओवादी भन्नेहरुले नै ‘त सानो जातको मान्छे भएर हामीसँग टक्कर लिने’ भनेर झण्डै बन्दुक खानुप¥यो । सायद अहिले यो लेखिरहँदा ति नरभंक्षी राक्षसहरुको अनुहार मेरै आँखा अगाडि फन्फनी घुमिरहन्छ ।
जे भएपनि मेरो बुबाले विश्वकर्मा लेख्ने अधिकार पाउनु भयो । जेजस्तो अवस्था भएपनि बुबाले हामीलाई पढाउन स्कूल पठाउनु भयो । हामी दुई दाजुभाई थियौं । दाजुले धेरै मुस्किलले एसएलसी दिनुभो । त्यसपछि फलानोको छोराले यत्रो पढ्ने भनेर देखि सहेनन् गाउँका थापाहरुले । हुन त थापाहरु मेरो बुबाका उमेरकाहरु कोही काठमाण्डौंमा अधिवक्ता थिए, कोही असई थिए, कोही कांग्रेसका खुङखार नेता थिए । तर हामीले स्कूल जानु र पढ्न दिनु हुँदैन भन्ने सोच यथावत नै थियो । तर ममा आएको राजनीतिक चेतना र अध्ययनले ति सबै मुल्य र मान्यतालाई चुनौती       दियो । मैले अध्ययन गर्दा धेरै पटक–पटक ज्यानको बाजी थाप्नु प¥यो ।
अहिले नेपाल तथा भारतका विभिन्न जिल्लाहरुमा हाम्रा दाजुभाई वंशहरु छरिएर रहेका छौं । कोही पौडेलहरु पौडेली भन्छन् त कोही लामिछाने, कोही लाम्गादे । तर जेजे भने पनि हामी एउटै वंशका हौं । प्राय गरेर पौडेल बाहुन हुने गरेकाले पौडेली लेख्ने चलन पनि छ तर त्यो माथि उल्लेखित गरिएकै शब्द र अर्थ हो । पौडेल र पौडेलीमा फरक छैन । अर्को कुरा लामिछाने भनेको बाहुन, क्षेत्री, मगर र गुरुङ जातिभित्र पनि पाइन्छ । यो स्वभाविक नै हो कि आफ्नो मूलथलो छाडेर देशका विभिन्न भूभागमा बस्नेक्रममा त्यहाँकै सरसमाजमा बस्ने प्रचलनले त्यो प्रचलित थर अरुहरुले पनि राखेका हुन् । यसरी हेर्दा हाम्रो सम्पूर्ण लामिछाने वन्धुहरुसँग पनि रगतको नाता रहेको हुन्छ । जो लाम्गादे भन्नुहुन्छ उहाँहरुसँग झन् नजिकको अर्थात् एक पुस्ता पछिको सम्बन्ध हो । त्यसैले पौडेल, पौडेली, लामिछाने, लामगादे वा लाम्गादे जे भनिएपनि हामी एउटै हौं । यसको मतलब अहिले कुनै पौडेल बाहुन र कुनै लामिछाने क्षेत्री भयो भनेर हामी पनि क्षेत्री बाहुन नै हौं भन्ने दाबी होइन । क्षेत्री र बाहुनको इतिहास आफ्नो ठाउँमा होला तर हामी न त खस पर्वते हौं न त हिन्दु नै ? हामी धपेनीका मूलवासी वा आदिवासी हौं । हाम्रा पूर्खाले सो क्षेत्रमा भूमि आवाद गरेका हुन् तर अहिले हामी त्यस ठाउँबाट विस्थापित भइसकेका छौं । हाम्रा घरहरु भत्किन लागेका छन् । त्यस ठाउँमा बस्ने वातावरण छैन । त्यसैले ति भूमीहरु छाडेर प्राय बसाई सर्ने र सभ्य समाजको खोजीमा हिड्नेक्रम बढिरहेको छ । संघर्ष गरेर उपलब्धी नहुने भएपछि त्यहाँका आदिवासी मूलवासी पौडेल लामिछाने वा लामगादेहरु अहिले विभिन्न सहरमा रोजीरोटीका लागि छरिएर बसेको अवस्था छ । धपेनीमा पनि अहिले करिब ७÷८ घर हुनुहुन्छ । थापाहरुको दमन अहिले पनि त्यस्तै छ । अत्याचार यथावत छ । हाम्रा वंशहरु अहिले पनि देश विदेशमा कोही कलाकार, कोही राजनीतिज्ञ, कोही शिक्षक, कोही उद्योगी, व्यवसायी, समाजसेवी लगायतका विभिन्न क्षेत्रमा क्रियाशिल रहेका छन् । कतिपयले अहिले पनि समाजका अरु मान्छेले जात सोध्दा के भन्ने के नभन्ने दोधारमा रहेका छन् । तर यो विडम्बनालाई हामीले चिर्नका निम्ति पनि आफ्नो स्पष्ट इतिहास अध्ययन गर्ने र पूर्खाहरुको बारेमा खोजी गर्नु अनिवार्य ठानेर यथासम्भव धेरै सामग्री अटाउने कोशिष गरेको हुँ । यसले मेरा भावी सन्तानलाई अध्ययन सामग्री बन्नेछ र पूर्खाको मेटिएको इतिहासलाई पुनः जोडेर हिजोका निरुत्साहित पीडाहरुलाई भुलेर नयाँ युगको थालनी गर्न मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु । साथै आज दलितका नाममा पीडा भोगेका लाखौं लाख जनसमुदायले आफ्नो सक्कली इतिहास खोजी गर्न उत्प्रेरणा मिल्नेछ भन्ने पनि मैले आशा गरेको छु । अबको संघीय लोकतान्त्रिक गणतन्त्रमा यसरी इतिहासबाटै पूर्खाहरुलाई नामेट बनाउने जाति र वर्गमाथि कारबाही गर्दै आम उत्पीडित वर्गको रक्षार्थ नेपालको कानुन र नेपाली समाज लाग्न जरुरी छ ।
जातीय आन्दोलनलाई पृथकतावादी, विखण्डनकारी, देशद्रोही भनेर केहि उच्च जातीय अहंकारीहरुले थप दमनको प्रयास गरिरहेका छन् । यस्तो विषम परिस्थितिमा हरेक जातिले आफ्नो जातीय उत्पत्तिका बारेमा गहन अध्ययन र विश्लेषण गर्नु जरुरी छ । फेरी रणविरदेखि पुष्पलाल सम्मका यी पाँच पुस्ताको इतिहासले यो प्रष्ट पार्छ कि मानिसको चेतनाले धेरै कुराको निर्धारण गर्छ । शक्ति र पहुँचका आधारमा मानवले मानवलाई गरेको घृणित र जघन्य अपराधलाई कहिलेसम्म वेवास्ता गरेर बस्ने ? सोझा र इमान्दार व्यक्तिहरु इतिहासमा सँधै ठगिएका छन् । उनीहरुको इतिहास लेखिएको छैन । अहिले दलित समुदाय कसरी बन्यो ? यसको छुट्टै इतिहास छ तर मेरो हकमा यी पाँच पुस्तामा देखिएका घटनाहरुले मानवबाट भएका यस्ता गलत चिन्तनलाई नामेट पारेर मान्छे–मान्छेबीचको भेदभाव अन्त्य गर्न र समतामुलक समाजको निर्माणमा हामी सबै जात, वर्ग वा समुदाय सबै–सबै लागि पर्न जरुरी छ । इतिहासमा कुनै जातिले समाज विकासक्रममा बाधक बनेको छ तर प्रतिशोधकै हिसावमा अगाडि बढेर होइन सबैलाई समान व्यवहार र त्यस्ता गद्दारी गर्ने जातीहरुका व्यक्तिहरुले पनि आत्माआलोचित हुँदै सभ्य मानव समाजको निर्माणमा जुटौं ।

No comments:

Post a Comment