नागरिकता दिलाइदिन माग गर्दै राष्ट्रिय दलित आयोगमा निवेदन

जेठ १६, काठमाडौँ - विभेद बिरुद्ध अभियान । भोजपुरका कृपासुर नायब सुब्बाका रूपमा ताप्लेजुङ सदरमुकाम फुङलिङ गएका वेला स्थानीय दलित महिला धनमायासँग प्रेममा परेका थिए । उनीहरूको सम्बन्धबाट ०३७ मंसिर १ मा जन्मेको दाबी गर्ने गणेश अहिले बाबुसँग कानुनी लडाइँ लड्न काठमाडौंमा डेरा गरी बसेका छन् । त्यही डेरामा बस्छिन् धनमाया जसको सिरानीमा कृपासुरको फोटो छ । बिरामी धनमाया राम्ररी बोल्न पनि सक्दिनन् । सासैसासमा उनले भनिन्, ‘म कृपासुरकी स्वास्नी हुँ । 
गणेश हाम्रो छोरा हो । म मर्ने वेला भएको छ । छोराको नागरिकता आउला भनेर अदालत पनि गएँ । मसँगै छोराले पनि दु:ख पायो, छोराको अनुहारमा हाँसो देखेर मर्ने मन छ ।’ छोरा जन्मिएपछि कृपासुर ताप्लेजुङबाट हिँडे, सामाजिक अपहेलना र आर्थिक अभाव सहेर दलित महिलाले ‘विनाबाबुको’ छोरा गणेशलाई हुर्काइन् । गणेशले कृपासुरसँग बाबुछोराको नाता स्थापित गर्न डिएनए टेस्ट गर्ने प्रस्ताव राख्दै आएका छन् । धनमायालाई त्यो प्राविधिक जानकारी छैन, उनी भन्छिन्, ‘जे गर्नु छ चाँडै गर्नुपर्‍यो, म मरेँ भने छोरा–नातिले झन् दु:ख पाउँछन् ।’

गणेशकी पत्नी सुजाता भित्रिकोटी (शेर्पा)का अनुसार धनमायालाई कलेजोसम्बन्धी रोग र डाइबिटिज छ, ताप्लेजुङमै रहँदा घरमै एकपटक लडेकी थिइन्, त्यही कारण उब्जिएको नसासम्बन्धी समस्याले पनि वेलावेला दु:ख दिन्छ । ताप्लेजुङमै रहँदा १७–१८ वर्षपहिले ढिकीले दुवै हात किचेको रहेछ । पहिला गाउँमै गोबर लगाउनेलगायतका घरेलु उपचार गरिएको रहेछ । डेढ महिनापछि डाक्टरकहाँ जादा टिटानस अन्तिम अवस्थामा पुगेको देखिएछ । त्यसैले दुवै हातका सबै औँला काट्नुपरेको रहेछ । आफ्नो दु:खबारे धनमाया धेरै बोल्न सक्दिनन् । बुहारी सुजाताले भन्छिन्, ‘आमा जतिवेला राम्ररी बोल्नुहुन्थ्यो उतिवेला दु:खको बयान गर्नुहुन्थ्यो ।’
छोराबुहारीका अनुसार कृपासुरले आफूलाई पत्नी नस्विकारेपछि धनमायाले धेरै रक्सी पिउँथिन् र सदरमुकाम बजारमा हल्ला गर्दै हिँड्थिन् । तर, अहिले भने खानपिनदेखि दिसापिसाब बिस्तरामै हुन्छ । पिसाबका लागि चौबिसै घन्टा पाइप लगाइएको छ । नागरिकता नहुँदा परिवार पाल्न छोरा गणेशलाई पनि संकट छ । ‘घरभाडा, आमाको उपचार, केटाकेटीको लालनपालनका लागि वेलावेलामा बुबा (कृपासुर)ले खर्च दिनुहुन्थ्यो । मैले पनि काम गरेर अलि–अलि कमाउँथेँ । तर, अहिले खर्च दिनुहुन्न, सबैभन्दा ठूलो समस्या उहाँले छोरा भनेर मलाई नागरिकता दिन मान्नुभएन, नागरिकता नभएपछि मैले यो देशमा जागिर पाउन सकेको छैन, पासपोर्ट नहुँदा विदेश पनि जान पाएको छैन ।
’ गणेश अहिले ६७ वर्षकी आमा धनमाया, २५ वर्षकी पत्नी सुजाता, पाँच वर्षकी छोरी निग्मालमु र नौ महिनाको छोरा निमाछिरिङसहित भाडाको कोठामा बस्दै आएका छन् । धनमायासँग नाति–नातिनी खेलिरहेका हुन्छन् । तर, यो परिवारको विगत संघर्षपूर्ण र भविष्य अन्योलपूर्ण छ । गणेशले नागरिकता दिलाइदिन माग गर्दै बुधबार एमाले मुख्यालयमा निवेदनसमेत दिएका छन् । राष्ट्रिय दलित आयोगलाई समेत तीन पृष्ठ लामो निवेदन दिएर बाबु कृपासुरको नामबाट नागरिकता दिलाइदिन माग गरेका छन् । सरकार र पार्टीले आफूलाई न्याय दिनेमा आशावादी पनि छन् ।
गणेश आफैँ सितेरियो करातेको ब्ल्याकबेल्ट हुन् । रेफ्री कोर्स पनि पूरा गरेका छन् । तर, नागरिकता छैन त्यसैले उनले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने अवसर पनि पाएका छैनन्, स्थायी–अस्थायी जागिर पनि पाएका छैनन् ।
साभार -नयाँ पत्रिका

No comments:

Post a Comment