पर्वत गिज्यानका भुक्म्प पीडित भोकभोकै दिन काट्न बाध्य

माया अधिकारी, पर्वत- बैशाख २१
विभेद बिरुद अभियान । 
विनाशकारी भूकम्पका कारण दलित बस्तीका सबै घर भत्केपछि पर्वतको तिलहार गाविस ३ गिज्यानका पीडित भोकभोकै दिन काट्न बाध्य भएका छन्। भूकम्प गएको यतिका दिन बितिसक्दा पनि कतैबाट राहत नपाएपछि सिंगो दलित बस्तीका पीडित भोकभोकै बस्न बाध्य भएका हुन्।
'घरमा भएको अन्नपात सबै पुरियो,' पीडित सीता नेपालीले भनिन्, 'अहिलेसम्म अैंचोपैंचो गरेर खाएकी थिएँ, अब भोकै बस्नुको विकल्प छैन।' राहतका नाममा अहिलेसम्म टाउको पनि नओतिने पालबाहेक केही पाउन नसकेको गुनासो पीडितको छ।घर क्षति भएपछि पीडितहरू खुला आकाशमुनि बस्न बाध्य छन्। स्थानीय बजारमा पालको स्टक छैन। घामपानीसमेत छेक्न नसक्दा कष्टकर रूपमा बस्नुपरेको पीडित बताउँछन्।भूकम्पबाट सबैभन्दा बढी क्षति दलित बस्तीमा परेको छ। दलितका २० घरमध्ये तीन घर मात्र बाँकी छन्। सबैका घर भत्केका छन्। अन्नपात पुरिएको छ। अरूको घरमा ज्यालामजदुरी गरेर खाने दलित परिवारको घर नै गुमेपछि उनीहरू बिलखबन्दमा छन्।
दलित बस्तीका अधिकांश युवा श्रम गर्न जाने भएकाले गाउँमा वृद्धवृद्धा र महिला मात्रै भएको स्थानीय चन्द्रबहादुर विकले बताए। 'बस्ने बास र खाने अन्न नभएकाले जीवन धेरै पीडादायी भएको छ,' स्थानीय दलित अगुवा विकले भने, 'जो होचो उसकै मुखमा घोचोजस्तै दैवले पनि हामीलाई नै हेपेको छ।'गाउँ नै भूकम्पले लगेपछि बालबालिकासमेत नराम्रोसँग प्रभावित बनेका छन्। घर भत्किएको, खानेकुरा नभएको र अभिभावक दिनभरि मजदुरीमा जाने गरेकाले उनीहरू मानसिक रूपमा डर त्रासमा बस्ने गरेका छन्। भूकम्पले घर भत्किएर अन्न पुरिएपछि पैंचो खोजेर खाने गरेका छन्।
गाउँमा भएसम्म त पैँचोले चलाउने भए पनि अहिलेसम्म केही राहत नदिएकाले भोकै बस्नुपर्ने अवस्था आउने भएपछि गाउँले चिन्तित बनेका छन्।मजदुरी गरेर बिहानबेलुका हातमुख जोड्ने दलित परिवारको जीवनभरको कमाइ भनेको एउटा घर हो, त्यही घर विनाशकारी भूकम्पले भत्काइदियो। पकुवा, रानीपानी, बर्राचौर, पीपलटारीलगायतका गाविसका सिंगो दलित बस्ती नै ध्वस्त भएको छ।
पर्वतको तिलहारमा भूकम्पले घरबारविहीन भएका पीडित परिवार आफंै घर निर्माणमा जुटेका छन्। पाँच दिन कुर्दा पनि राहत नपाएपछि सामूहिक रूपमा क्षतिग्रस्त घर मर्मत र पुनर्निर्माण गर्न थालेका हुन्।
पर्वत जिल्लामा भूकम्पबाट सबैभन्दा बढी क्षति भएको तिलहार गाविस ३ गिज्यान हो। गिज्यान गाउँका तीन सय घरधुरीमध्ये दुई सय ५० भन्दा बढीमा क्षति पुगेको छ।
अहिले स्थानीय ५/७ जनाको समूह बनाएर भत्किएका संरचना हटाउने तथा अस्थायी घर बनाएर बस्न थालेका छन्। 'मैले पनि पूरै भत्केको घरको एउटा तला फालेर टिनले बारेको छु,' कलाकार गणेश जिसीले भने, 'पालमुनि बस्नुभन्दा टिनको छाप्रो बनाएर भएपनि रात काट्नुपर्‍यो।'महाभूकम्पमा पर्वत जिल्लाका करिब पाँच हजार घरधुरी क्षतिग्रस्त बनेको अनुमान गरिएको छ।
हालसम्मको प्राप्त तथ्यांकअनुसार जिल्लाका करिब एक हजार घरधुरी पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने तीन हजार बढी घरधुरीमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- साभार्# अन्नपूर्ण पोस्ट

No comments:

Post a Comment