पालुङ्टार (गोरखा), जेष्ठ ५ - भूकम्पले घर भत्केका लुइँटेलका प्रेमबहादुर परियार हलगोरु लिएर मंगलबार बिहानै मेलामा निस्किए । छिमेकीको बारी जोतेर आएको पारिश्रमिक टहरो बनाउन खर्च गर्ने उनले सुनाए । श्रीमती प्याली परियार पनि ११ बजेबाट तोरी गोड्ने पर्म लगाउन जाने तयारीमा थिइन् । ‘आफ्नो बारीको तोरी पनि छिप्पिन लागेको छ,’ उनले भनिन्, ‘भारोपर्म गरेर काम गर्न पाए सजिलो हुन्छ ।’
प्रेमबहादुरको पाँचजनाको परिवार घर भत्केपछि पालमुनि बसेको छ । ‘सधैं पालमा जिन्दगी कट्दैन,’ उनले भने, ‘जागिर छैन । पहिले पनि मजदुरी गरेर घर उभ्याएको हो । उनीहरूलाई छोराछोरीले पनि साथ दिइरहेका छन् । ‘वर्षात्भरिलाई ओत लाग्न कटेरो हाल्नुपर्ला,’ उनले भने, ‘हिउँद लागेपछि पक्की घर उभ्याउने विचार गरेको छु ।’ घर ढलेकामा उनलाई खासै पीर–चिन्ता छैन । ‘प्रकृतिको लीला भूकम्पसँग के रिस–राग गर्नु ?’ मुसुक्क हाँस्दै उनले भने, ‘हेरौं, हिउँदसम्म सरकारले धेरैथोरै जस्तापाता सहयोग गर्ला कि ।’
छेवेटार अमलापानीकी भगवती परियार पनि १० जना खेताला लिएर चर्को घाममा खेतमा जुटेकी थिइन् । ‘धान छिप्पिन लाग्यो । कति दिन भुइँचालोसँग डराएर बस्ने ?’ उनले भनिन्, ‘बाँचेको दिनसम्म त खानैपर्यो ।’ अधियाँमा लगाएको चैते धान गोड्न उनले खेताला खोजेकी थिइन् । भगवतीका खेतालाहरू सबैको घर भत्केको छ । चर्को घाममा असिनपसिन भएर उनीहरू धानको गाँजवरिपरिको झार उखेल्दै थिए । उनकी सासू तुलसाले भनिन्, ‘भूकम्प कति बेला कसरी आउँछ थाहा हुँदैन रहेछ, कति दिन डराएर बाँच्ने ?’ बाँचेको दिनसम्म सकभर खुसी हुने प्रयत्न गर्नुपर्ने उनले बताइन् ।
त्रासको घडीमा पनि खेतको उब्जनीमा आधा धनीलाई बुझाउनुपर्ने अन्न सासू–बुहारी मिलेर गोडमेल गरिरहेका थिए ।
‘भूकम्पले त ज्यानै लिन्छ । घामले त केही हुँदैन,’ भगवतीले भनिन् । छोप्राक र अमलापानीकै छिमेकी धान गोड्न मेला आएका थिए । ‘बर्खा लाग्न लाग्यो, उब्जाएको अन्न भित्र्याउने घर पनि छैन,’ राममाया परियारले भनिन् । दरौंदी फाँटमा मंगलबार धेरै किसान खेत गोडमेल गर्न, तरकारीमा मल–औषधि राख्न व्यस्त भेटिए । केटाकेटी गर्मी छल्न दरौंदी नदीमा डुबुल्की मार्दै गरेका देखिए ।
बूढापाका र ठिटाठिटी गाईबस्तु गोठाला थिए । भूकम्पको कम्पन घट्दै गएपछि पुरानै दैनिकीमा फर्कन थालेका उनले बताइन् । ‘भूकम्प आएदेखि यो फाँटमा कोही देखिँदैनथ्यो,’ राममायाले भनिन्, ‘दुई दिनदेखि धक्का आउन छाड्यो । मान्छे काममा निस्कन थालेका छन् ।’
मनमा डर भए पनि बिर्सन पर्ने तुलसाले बताइन् । ‘हामी नै डरायौं भने त केटाकेटी झन् डराउँछन्,’ उनले भनिन्, ‘अजम्बरी बुटी खाएर को जन्मेको छ र ?’ ढिलोचाँडो मर्नु नै पर्ने भए पनि भूकम्पबाट जोगिन सावधान रहनुपर्ने उनले बताइन् । ‘चर्केको घरभित्र सुत्न कहाँ मन मान्छ ? पालमै सुत्छौं,’ उनले भनिन् ।
ठाँटीपोखरीका टीकाबहादुर थापा अस्थायी बसोबासका लागि ट्रस बनाउन व्यस्त छन् । ‘सरकारले जस्तापाता दिन्छ भनेर कति दिन कुर्ने ? दिनदिनै झरी पर्दै छ,’ उनले भने, ‘सरकारको के भर ?’ चर्केको घरमा राखनधरन गरेर टहरोमा सुत्नेबस्ने उनको योजना छ । मिरकोट चैतेफेदीका बाबुकाजी सार्की पनि चर्केर भत्किन लागेका घर मर्मत गर्न व्यस्त भेटिए । छोरा र नातिले उनलाई सघाएका छन् । सुत्नबस्न उनले टहरो बनाइसकेका छन् । ‘गाउँको घर कच्ची बनाएर पनि हुँदैन,’ उनले भने, ‘चोरीचकारी हुन्छ । पक्कीमा गरगहना, अन्नपात राख्ने । भूकम्पबाट जोगिन टहरोमा सुत्ने–बस्ने ।’
स्रोत्#कान्तिपुर दैनिक
No comments:
Post a Comment