साला ! दमाइहरू लाई केको राहत ? -शिवहरि ज्ञवाली

२०७२ जेठ ११ विभेद बिरुद् अभियान ।
दिउँसोको ३ बज्दै थियो । राहत बोकेको हाम्रो ट्रिपर घ्याच्च रोकियो ।
“गाडी अब अगाडि बढ्दैन । यहाँ अब टाउको फुट्छ ।” कपाल रातो बनाएका तामाङ युवकले ट्रिपरमाथि मुड्की बजार्दै भने ।
“साला ! दमाइहरूलाई केको राहत ? हाम्रो गाउँको बाटो जाने हो भने हाम्लाई’नि चाहिन्छ ।” अर्कोले धम्की दियो । उसले रुखको काटेर राखिएको एउटा हाँगो हामीमाथि प्रहार गर्ने प्रयास ग¥यो ।
उता एकहुल १६÷१७ वर्षका तामाङ र ब्राह्मण, क्षेत्री समुदायका किशोरीहरू उही उमेरका दलित समुदायका किशोरीहरूलाई मुख छाडेर गाली गरिरहेका थिए, “तिमीहरू डुमलाईमात्र राहत ! कस्ले दिँदो रहेछ हेरी राखौंला ।”
म ट्रलीबाट ओर्लिएर उनीहरू भएतर्फ गएर सम्झाउन खोजें । ती किशोरीहरू भन्दैथिए “सल्लाह होइन प¥यो भने जे पनि हुनसक्छ ।”
एउटा निलो कुर्ता लगाएकी किशोरीले मेरो छातिमा मुक्का हान्ने प्रयास गरिन्, मुक्का मेरो क्यामेरामा लाग्यो ।
“राहत कब्जा”को नेर्तृत्व गरिरहेका थिए खड्का थरका नेपाल प्रहरीका एकजना पूर्व अधिकृत ।
गत जेठ ३ गते विनाशकारी भैंचालोले तहस—नहस बनाएको सिन्धुपाल्चोकको फुल्पिन डाँडागाउँ—५ स्थित दलित वस्तिमा करिब १४७ बोरा चामलसहित पुग्यौं । उक्त गाविसको ४ र ५ बडाका दलित समुदायले राहत नपाएर भोकभोकै रहेको भन्ने थाहा पाएपछि राजधानीका केही दलित संघसंस्थाहरूले संकलन गरेको रकमबाट चामल, नुन र तेलसहित विनोद पहाडीको नेर्तृत्वमा हामी त्यता हान्निएका थियौं । सोही दिन त्यहाँका दलित समुदायले गाविसबाट पहिलोपटक एक किलोका दरले चामल पाएका थिए । तर, तामाङ र ब्राह्मण क्षेत्री समुदायले दुईपटक पाइसकेका थिए । साथमा उनीहरूले त्रिपाल समेत पाएका थिए । दलित समुदाय भक्तिएको घरको जस्ता थुतेर ओत लागेका थिए । दलित वस्तिमा सरकारले राहत स्वरूप पठाएको त्रिपाल ५५० का दरले नगदमा किनेमामात्र पाइने नत्र नपाइने भन्ने उर्दी जारी गरिएको थियो ।

भुक्तभोगिहरू के भन्छन् ः
म त अलिपछि आ’को । झगडा प¥यो भनेर दौडिँदै आ’को । आउँदाखेरी बच्चु दाइले यसरी (बायाँ हात कुर्ताको घाँटीमा लैजाँदै) कठालो समातिरहेको रहेछ । तपाइँहरूको (दिनेश परियार) दाइले सम्झाउँदै हुनुहुँदो रहेछ, उहाँलाई कठालो समातेर त्यहाँ (केहीपर रहेको समीको रुखनेर) पु¥याउँनुभयो । त्यत्ति हुँदा पनि त्यो दाइले सम्झाइरहनु भएको थियो । त्यसपछि ऊ त्यहाँको रातो कपाल पाल्ने दाइले यत्रो (हातले आकार बताउँदै) बडेमानको लाठो ल्याएर झन्डै हानेको ।”


—कविता सिवाकोटी, १८, फुल्पिन डाँडागाउँ—४, सिन्धुपाल्चोक

“दमै भनेर यस्तो (धकेलेको जस्तो गर्दै) परियार दाइलाई धकेल्यो । एकदम धाँधली गर्ने, यसरी त राहत आउँदैन नि ! यो सबै गर्ने पुलिसको सई दाइले हो । पर रातो कपाल भएको, तालुखुइलेको । कतिपटक राहत आउँछ हाम्रो गाउँको बाटो भएर, जहिले आइरा’को हुन्छ । हाम्लाई एकमानो दिनुहुन्न । दमै भन्नुहुन्छ । हामी दलित भन्ने सबैलाई थाहा छ भनिराख्नुपर्छ ? भनेर सुनाइरहनु पर्दैन जहिले नि ! हामी पनि सेन्टरमा छम् । हाम्ले पनि खोस्न सक्थेम नि ! हस्पिटल छैन चोटपटक लागेको भए के हुन्थ्यो ? उनीहरूले खाओस् भनेर हामीले केही गरेका छैनौ । यहाँ सबै पढेपढेको हुनुहुन्छ । सबैको जागिर छ ।”

—विमला सिवाकोटी (१९), फुल्पिन डाँडागाउँ—४, सिन्धुपाल्चोक

“हाम्ले’नि यो राहत कन्ट्याक गरेर ल्या’को । उनेहर्लेे दलितहरूले ल्याउन सक्दैन भन्ने धारणा छ के । त्यही भएर हेप्छन् । उनीहरूले जब सामान (राहत) पाउँछन््, बल्ल थाहा हुन्छ । उनीहरूले सामान ल्या’को हाम्लाई थाहा हुँदैन । यहीँ बाटो लैजान्छन्, हाम्ले पाउँदैनौं । हाम्ले छोड्दिन्छौं । अहिलेसम्म हाम्ले कहिले झगडा गरेर, खोस्ने गरेर लिएका छैनौं । जति दिन्छन् त्यत्ति लिने गरेको छौं ।”

—शम्भु नेपाली (१६), फुल्पिन डाँडागाउँ—५, सिन्धुपाल्चोक


“हामी पानीमा रुझिरहेका थियौं । एउटा गाउँको दाइले पाँचोटा त्रिपाल ले’र आउनुभयो । मेरो दाइले एउटा त्रिपाल ल्याउनु न ! भन्नुभयो । पाँचोटा त्रिपाल ल्याएको छु तर उधारो हुँदैन भन्नुभो उहाँले । कतिहो ? भनेकोे उहाँले एउटा त्रिपालको ५५० रूपपे भन्नुभयो । एउटा त्रिपाल पनि दिँदैनन् । भन्नि हो भने यहाँ बाहुनहरू अल्लि धनिमनी र तामाङहरू बलको धमास देखाउ’नी । हामी दलितहरूलाई तल पारेर सामान (राहत) राम्रोसँग दिँदै दिँदैनन् । हाम्रो नाम बेचेर, दलितहरूलाई देखाएर, हाम्लाई केही देखाउँदैनन् । हाम्लाई मान्छे मर्दा समेत शंख फुक्न दिएनन्, जुठो हुन्छ, विटुलो हुन्छ अरे ।”

—शुष्मिता नेपाली (३०), फुल्पिन डाँडागाउँ—५, सिन्धुपाल्चोक

यसअघि भैंचालोको ११ दिनपछि सिन्धुपाल्चोककै कुन्चोक—६ स्थित दलित वस्तिमा पुगेको थिएँ । दलित वस्ति पुग्नुभन्दा पाँच मिनेटको बाटोमा ब्राह्मण र क्षेत्रीहरूको बस्ति रहेछ । उनीहरूले हामीलाई रोक्ने प्रयास गरे । तर, राहत केही नल्याएको भनेपछि छोडिदिए । कुरा के रहेछ भने उनीहरूले जति राहतका सामग्री आउँछन् आफ्नै गाउँमा लुटेर राख्दारहेछन् । केही पर रहेको दलितवस्तिका लागि पठाइएको राहतसमेत उनीहरूकै कब्जामा पर्दोरहेछ । उनीहरूबाट उम्केर हामी दलित वस्तिमा पुग्यौं । साँझको ४ बज्न आँटेको थियो । हामी पहिलो बाहिरिया थियौं जो दलित वस्तिमा पुगेका थियौं । त्यहाँ पुग्दा ६ वर्षकी सुमित्रा परियार माटोमा पुरिएको मकै नाङलोमा राखेर बटुल्दै थिइन् । चार महिनाकी सुत्केरी १८ वर्षे मिना विश्वकर्मा आफ्नो विरामी छोरालाई आगोमा सेक्दै थिइन् । दुई वर्षपछि कतारबाट फर्किएका पूर्णबहादुर विश्वकर्मा भैंचालोमा परी ज्यान गुमाएकी श्राीमतीको पिरमा टोलाउँदै थिए । ७० वर्षे कर्णबहादुर विश्वकर्मा हात जोड्दै “अहिलेसम्म केही’नि भेटाएको छैन मालिक, केही भेटा’को छैन । बर्खाको मान्छेहरूलाई नआ’को हो कि ?” भनेर प्रश्न गर्दै थिए ।

भुक्तभोगिहरू के भन्छन् ः 
भिडियो हेर्नुस् 
https://goo.gl/m1qsYE





“म कतार थिएँ । म १५ गते काठमाडौं आएँ । कतार गएर दुई सालमा आएको । घरमा आइपुग्दा श्रीमती र भाइको छोराको मृत्यु भइराखेको रहेछ । घरमा खाने कुरा नभएकाले नौ दिनमा श्रीमतीको जुठो चोख्यायौं । राहत हिजोमात्र अलिकता पाइयो । पहिला अलिअलि आफन्तहरूले पठाइदिएको खाइयो । गाविसको १० किलो पाइयो । कसरी बस्नु एक—दुईकिलो ल्याउँदै । पानी खान नपाएर कुखुरालाई दाना हालेको पानी खाएछन् । यो भइनै रखेको छ, यहाँ दलितहरूलाई पनि हेर्नुपर्छ भन्ने कसैको सोच आउँदैन । हामी तल्लो वर्गको भएर हो कि के भएर हो ? दुःख सबैलाई परेको छ । मानवताले पनि सबैलाई हेर्नुपर्ने साथीहरू खै के बुझ्छन् ? पाल आएको छैन । किरिया खर्च पनि पाएको छैन ।”

—पूर्ण विश्वकर्मा (३२), कुन्चोक—६, सिन्धुपाल्चोक

“किन दिन्नन् हाम्लाई राहात भन्दाखेरी निम्दो बर्खा, दलित जाति अलि कमजोर भएर हो कि ? खोइ हाम्रो भन्ने मान्छे नभएर हो कि ? हात काटेको थियो, अम्रिकानेहरूले औषधी लाई’दे । (हात जोड्दै) अहिलेसम्म केही’नि भेटाएको छैन मालिक ! केही भेटाको छैन । भर्खर आउँदै छु, मलाई केही थाहा छैन । अलि कमजोरी भएर हो कि मालिक ! बर्खाको मान्छेहरूलाई नआ’को हो कि ? गाडीको कारणले पनि नआएको हो कि । ओड्ने ओछ्याउने, खाने केही आएको छैन, मालिक ! ”

—कर्णबहादुर विश्वकर्मा (७०), कुन्चोक—६, सिन्धुपाल्चोक

४५ घर दलित परिवार रहेको यो गाउँमा हामी पुग्नुभन्दा अघिल्लो दिन हरेक परिवारका लागि १० किलोका दरले चामल पुगेको रहेछ । भैंचालोमा यो गाउँमामात्र ६ जना दलित समुदायका व्यक्तिले ज्यान गुमाएका थिए । सरकारले मृतकका परिवारलाई ४० हजारका दरले राहत दिने, र तत्काल घर भक्तिएकाहरूका लागि ७ हजार राहत दिने निर्णय गरेको थियो । तर हामी पुग्दासम्म उनीहरूमध्ये कसैले पाएका थिएनन् । दलित वस्तिको तल तामाङ समुदाय र माथि ब्राह्मण, क्षेत्रीहरूको बस्ति बीचमा रहेको दलित बस्ति पुरै राहतबाट विमुख थियो ।
खानेकुरा नभएर मृतकको मृत्युसंस्कार गर्न नसकेको, कुखुरालाई राखेको दाना र पानी खाएर बाँचेका बृद्ध—बृद्धाहरूको भोगाई भैंचालोभन्दा कहाली लाग्दो थियो । धुलोबाट बच्नका लागि बाँडिएको ‘मेडिकल मास्क’ चपाएर खाँदै गरेका भोका नानीहरू देख्दा कस्को मन नभक्कानिएला र ? म मन सम्हालेर यी दृश्यहरूको भीडियो खिच्दै थिएँ । लाग्थ्यो दुःखको भारीले थिँचिदा र भेदभावको दलनले दलिँदा उनीहरू रुन विर्षिसकेका थिए । हामी फर्कियौं । त्यसको तीनदिनपछि त्यहाँका दलित र गैरदलित समुदायलाई लक्षित गरेर काठमाडौंबाट राहत पठायौं तर त्यो राहतमध्येको ७० बोरा चामल ब्राह्मण, क्षेत्री बस्तिमै कब्जा गरियो । बाँकी राहत ३ र ४ बडामा लगेर बाँड्यौं ।
भैंचालोको १३ दिनपछि दिन हामी फेरी रसुवाको लहरेपौवा पुग्यौं । त्यहाँका दलित र गैरदलित समुदायसँग बसेर छलफल ग¥यौं । गाविसको ३ वडामा यसअघि तीनपटक राहत पुगिसकेको रहेछ । गाउँलेसँग कुरा गर्दा गाविसबाट आएको राहतलाई ‘व्यक्तिगत रूपमा ल्याएको हो’ भनेर स्थानीय राजनीतिक दलका कार्यकर्ताको नेतृत्वमा आफ्ना दलका कार्यकर्तालाईमात्र बाँडिएको रहेछ । तर, बडा नं ४ र ६ मा एकपटकमात्र त्यो पनि एउटा वडामा ८ बोरा चामल र ५ वटा त्रिपाल बाँडिएको थियो । ती वडाका अगुवाहरूले आर्थिक रूपमा कमजोर रहेको भन्दै प्राप्त राहत दलित समुदायलाई बाँडिदिए । तर वडा नं ९मा आएको राहत दामासायी रूपमा बाँडिएको थियो ।

भुक्तभोगिहरू के भन्छन् ः

“पाँच जनाको परिवार छ । अ‍ैले गाविस भवनमा बसेका छौं । श्रीमान कुल्ली काम गर्नुन्छ । म मेलापात गर्छु । हाम्रो जग्गा जमिन केही छैन । नागरिकता त छ । भाडामा बसेको घर भुइँचालोले भक्तियो । रातिमा चौरमा सुतिन्छ । अहिलेसम्म त्रिपाल पाएको छैन । अफिस खुलेपछि गाविसमा बस्न नदिने कुरा छ । कहाँ जानेहो ठेगान छैन ।”

—मिना विश्वकर्मा (३३), लहरेपौवा—४, रसुवा

“कानले सुन्दिन । म ब्या नगरी बसेको माइतीमा । खै ७५ वर्ष भइस् भन्छन् । अहिले बारीको पाटामा बस्याछम् । कसैले के दिने ? अस्ति चाउचाउ र त्यो के हो भुजिया दे’का थे । त्यैं विस्कुट द्याथे । के पो दिनुहुन्छ हजुर ! बुझ्दैन पढेको छैन, लेखेको छैन । के दिनुहुन्छ सरखारहरूले, त्यै हात थाप्ने ।”

—काइँली विक (७५), लहरेपौवा—४, रसुवा

“७० वर्ष भएँ । घर भत्को । चाओटा बाख्रा, भैंसी एउटो मरो । गाविसमा राहत लिन आ’को । घर भक्तेको पैसो पाइन्छ भन्थे । अस्ति आधा बोरा चामल पाइयो । आज केही नि पाइएन । फेरि आउन भनेको छ । घरमा छोरा, बुहारी र दुईटा नाति छन् । घर कामै नलाग्ने भ’को छ । एक घन्टा लाग्छ यहाँबाट घर पुग्न कालीकास्थान गाविस ४ मा हो घर । खानेकुरा अलिअलि भ’को नि सकियो । अब के खाने ?”
—टेकबहादुर विश्वकर्मा (७०), कालिकास्थान—८, रसुवा

भैंचालोको करिब महिनादिन पुग्नै लाग्दा जेठको ९ गते म भक्तपुर नगरपालिका ११ भेलुखेलस्थित देउला वस्तिमा पुगें । जहाँ डम्पिङ साइटको छेउँमा करिब एकसय घर देउलाहरू (नेवारी दलित) दुईटा त्रिपाल टाँगेर बसिरहेका थिए । त्रिपालको केही पर दुर्घन्धित खोला बगिरहेको थियो भने खोलापारीबाट लासहरू पोलेको धुवाँ त्रिपालभित्र छिरिरहेको थियो । वरिपरी झिंगा र फोहोरको डंगुर थियो । टाँगिएको त्रिपाल सरकारले राहतस्वरूप दिएको होइन, उनीहरूले पैसा उठाएर किनेका हुन् ।
सरकारी तवरबाट केही पनि राहत नआएपछि उनीहरू आफै पैसाउठाएर सामुहिक भान्सा चलाउँदै आएका छन् । यसअघि भारतको हरियाणा राज्यबाट आएको एउटा धार्मिक सस्थाले टोलमा एक महिनासम्म निःशुल्क खाना खुवाउने भनेको थियो । तर, यहाँका किसान (ज्यापु)हरूले देउलाहरूले छोएको नखाने, उनीहरूसँग सँगै खाँदा छोइन्छ भनेर विरोध गरे । विरोधकाबीच उक्त धार्मिक समुहले दश दिनसम्म निःशुल्क खाना खुवायो तर किसानहरूले उनीहरूलाई जबरजस्ति लखेटीहाले । त्यतिमात्र होइन १२ गते भैंचालोआएपछि भागेर खुल्ला ठाउँमा पुगेका देउलाहरूलाई किसानहरूले छोइन्छ भन्दै डम्पिङ साइटतिर लेखेटे । अरू खुल्ला ठाउँ नपाएपछि उनीहरू डम्पीङसाइटमा बस्न बाध्य छन् । स्मरणीय छ भक्तपुर कम्युनिष्ट नेता नारायणमान विजुच्छेको पकड भएको क्षेत्र हो ।

भुक्तभोगिहरू के भन्छन् ः

“हामी बसेको ठाउँमा उनीहरू (नेवार) बस्दैन । हामी पनि उनीहरू भएको ठाउँमा जाँदैनौ । झगडा केलाई गर्ने हो भनेर नगएको । उनीहरूले जहाँ पनि छुवाछूत गर्छ । राहतमा पनि छुवाछूत गर्छ । भैंचालो आएपछि हामी डम्पिङ साइटमा बसिरहेका छौं । अलिपर सफा ठाउँछ तर उनीहरू बसेका छन् । उनीहरू त्यहाँ बस्ने हामी डम्पिङ साइटमा बसे हुँदोहो जस्तो गर्छ । हामीलाई त्यो ठाउँमा गयो भने लखेट्छ ।”

—निलदेवी देउला (३०), भक्तपर नगरपालिका—११, भक्तपुर

“हामी पचासजना एकैठाउँ बसेका छौं । एउटाको टाउको अर्कोसँग जोडिन्छ । तल खोला गनाउँछ । नगरपालिकाले फिनेल दे‘को छ । हामी आफै पैसा उठाएर एकैठाउँ बनाएर खाना खाने गरेका छौं । अहिलेसम्म नगरपालिकाबाट राहत पाएको छैन । किसानहरू सबैले पाइराखेको छ । हामीले पाएको छैन । यहाँ फोहोर छ (झिंगा धपाउँदै) । पाल आफै पैसा तिरेर ल्याएको हो । नगरपालिकाबाट इन्जिनियर आएर घरमा नबस्ने भनेको छ । पारीपट्टि लास पोलेको धुँवा आउँछ बस्नै सकिन्न । नगरपालिकालाई डम्पिङ साइट सफा गरिदिन भनेको गरिदिएन । त्यहाँ सफाभए बस्न सजिलो हुन्थ्यो ।”

—सानीछोरी देउला (३२), भक्तपर नगरपालिका—११, भक्तपुर

“भैंचालो आउने वित्तिकै खुल्ला ठाउँमा गएको थियो । त्यहाँ किसानहरूले ‘तिमीहरू यहाँ नबस’ भन्यो । उनीहरूले यस्तो आपतको बेलामा पनि छोइन्छ भन्छ । हामी डम्पिङ साइटमा बस्यौं । हाम्रो टुक्रा जग्गा छैन । अहिले टहरा बनाएको ठाउँमा जग्गावाला आएर जाऊ भनेको छ । एउटाको घर भत्केको भएर आउने रे । अर्कोले बाली लाउने रे । अब हामी कहाँजाने थाहा छैन । घर भक्तियो बस्नेजस्तो छैन ।”
—शान्तालक्ष्मी देउला (४०), भक्तपुर नगरपालिका—११, भक्तपुर
“हरियाणाको एउटा धार्मिक टिमले एक महिना यहाँ निःशुल्क खाना खुवाउने भनेर आएको थियो । किसानहरूले देउलाहरूसँग बसेर खाँदैनौ भने । उनीहरूले हामीसँग झगडा गरे । राहत दिनेले ल्याएका सामान उनीहरू आफूलेमात्र लिइदिए । हामीसँग बसेर खाँदा छोइन्छ भनेर उनीहरूले बहिस्कार गरे । त्यो टोलीलाई लखेटिदिए । यहाँ राहात वितरणका लागि सर्वदलीय संयन्त्र छ । त्यसमा पहिलो दिन म गएको थिएँ सबै हाम्रो यो दलित बस्तिको क्षति संकलन गर्न । तर, अर्को मिटिंगमा मलाई नबोलाएर मेरै पार्टीको अर्कै किसान (ज्यापु)लाई बोलाएछन् । यहाँका १२० घर देउलामध्ये ९० जनाको त लालपुर्जा छैन । हामी यहाँ लिच्छवी कालदेखि बस्दै आएको इतिहास छ । अब सरकारले पुनर्निर्माण र पुनस्थांपनामा लालपुर्जाकै कारण अवसरबाट हामीलाई बञ्चित गराउने निश्चित छ ।”
बुद्धरत्न देउला (३९), भक्तपुर नगरपालिका—११, भक्तपुर

लिच्छविकालदेखि यहीँ ठाउँमा बसोवास गर्दै आएका देउलाहरूको १२० घरमध्ये ९० घरसँग अहिलेसम्म लालपूर्जा छैन । उनीहरू लालपूर्जाकै कारण अब क्षतिपूर्ति र राहत नपाइनेहो कि भन्ने चिन्तामा छन् । भैंचालोपछि बालबालिकालाई स्याहार पुग्दैन भनेर नगरपालिकाद्वारा सञ्चालित “शिशुस्याहार केन्द्रमा” देउला समुदायका बालबच्चालाई भर्ना लिन अस्वीकार गरियो । स्थानीय श्याम देउला भन्छन्, “यो तिमीहरूको जातका लागि होइन भन्यो । किसानका (नेवार) छोराछोरीहरूलाई लिन्छ हामी देउलाहरूको लिँदैन । हाम्रो बारम्बार झगडा गर्छ ।” उनले अझ थपे “पान्डव सुवाल छ गाविस सचिव ११ वडाको उसले राहतमा पनि भेदभाव गर्छ किसानहरू घर नभक्तेकोले पनि राहात पाएको छ । हामीहरूजाँदा भक्तेको घर पनि भक्तेको छैन किन चाहियो राहात ? भन्छ किसानहरू गएर थर्काएर लिन्छ । यसले हामीमाथि अत्याचार गरेको छ । यस्तोकुरा लेख्दिनुस्न ।”
भक्तपुरमात्र होइन सिंहदरवारदेखि करिब ८ किलोमिटर पूर्वमा रहेको लामाटार पुग्दा त्यहाँको अवस्था पनि उस्तै थियो । स्थानीय दलित समुदायले घर भक्तेर मान्छे पुरिएको बताउँदा बताउँदै पनि प्रहरीले सहयोग नगरेको, दलित समुदायको उद्धारमा गैर दलित समुदाय नआएको र राहतमा पनि दलितसमुदायमाथि विभेद गरिएको गुनासो गर्दैथिए । पाँच परिवारका ३० जना एउटै पालमा बसेका थिए । तीस जनाको लागि सरकारले १ बोरा चामल र एउटा त्रिपाल दिएको थियो । तर, त्यहीँ ठाउँका नेवारका तीन घरलाई ३ बोरा चामल र त्रिपाल दिएको रहेछ । यसको मुख्य कारण पूर्व गाविस अध्यक्ष नेवार रहेछन् र उनकै हालीमुहाली चल्दो रहेछ ।

“बहिनी घर भक्तेर पुरिइन् । गुहार माग्दा पनि पुलिस आएन । आएको पुलिस बाटोबाट यता आएन । पुलिसले देख्यो, तर उद्धार गरेर हामी बचाइदिन भन्यौं । हामी आफैले खोज्ने प्रयास ग¥यौं । ३ बजेमात्र हामीले आफै खोतलेर निकाल्यौ । मम्मीको पनि खुट्टा भाँचिएको छ । ३० जना एउटै पालमा बसेका छौं । सरकारले १ बोरा दिएको छ । अरू नेवारका तीन घरलाई ३ बोरा दे’का छन्, हाम्लाई १ बोरा । राम्रोसँग सहयोग पाएका छैनौ । एक त हामी दलित भएको कारणले पनि हो । अर्को राहत आउन लाएको कुरा ठूलाठूलाहरूलाई मात्र थाहा पाउँछन् के । बाँकी रहेमामात्र यो दलितलाई भनेर दिन्छन् । बोल्न सक्दैनन् माग्न सक्दैनन्, जे गरेपनि हुन्छ भन्ने मानसिकता छ ।”

—शान्ता परियार (२१), महालक्ष्मीस्थान नगरपालिका—११, ललितपुर

“सामान (राहत) आएको छ, नआएको छैन । व्यक्तिहरूले पनि बाँडेको छ । अर्कोचोटी दिन्छम् भन्छन् । लापरवाही तरिकाले बाँडेका छन् । गाउँका अरूले पाइरहेका छन् हामीले पाएका छैनम् । आफ्ना आफ्ना मान्छेलाई दिन्छन् । कतिबेला राहत आउँछ हाम्लाई थाहा हुँदैन । गयो भने फेरि आउँछ भन्छन् । फेरी जाँदा त्यस्तै । आफ्ना मान्छे नभएर हो कि ! दलितहरूलाई नआएको हो थाहा भएन ।”

—कृष्ण परियार (५५), महालक्ष्मीस्थान नगरपालिका—११, ललितपुर

जाँदाजाँदै
भैंचालोले जमिन हल्लायो । बलिया र बडेबडे भवनहरू हल्लायो । तर, हाम्रो समाजमा वर्षैदेखि रहेको जातीय भेदभाव तथा छुवाछूतको जरोलाई हल्लाउन सकेन । बरू, विपद्को कहाली लाग्दो अवस्थामा झन् गाढा भएर देखियो । कतिपयलाई त लाग्दो हो विपद्को समयमा पनि विभेद गरेहोलान् र ? यस्तो काइते तर्क गर्नेहरु अधिकांश विभेद गर्नेहरु नै हुन्छन् । यसै सन्दर्भमा लेखक विमल आचार्यले फेसबुकमा लेखे “यी नाथे सुकुम्वासी दमैकामीहरुको घरै थिएन । झुपडी जाबो के भक्तियो र ! हाम्रा त ती तीन्टा चारतले पक्की घर जरैबाट लडे हेर्नुस् । हाम्ले तीन डबल बढ्ता राहत पाउनुपर्छ । यस्तो भन्ने झुर र क्रुर मान्छेलाई के दिने होला ?” प्रतिउत्तरमा नेपालप्रहरीका पूर्वप्रमुख रविन्द्रप्रताप शाहले “यस्तो समयमा कस्ले भन्यो हाला र त्यस्तो भनेर जवाफ दिए ।” यसले के देखाउँछ भने विपद्को समयमासमेत समाजमा गडेर रहेका प्रवृत्तिहरु पालभित्र, शिविरभित्र र आपत्कालीन् आश्रयस्थलसम्म आउँछन् भन्ने तथ्यलाई नीतिनिर्माण तहबाटै बेवास्ता गरिन्छ ।
दलित भएकै कारण दलित वस्तिमा उद्धारका लागि बेवास्ता गरियो । राहतमा विभेद गरियो र सुरक्षित स्थान खोज्दै गएका दलितहरूलाई “छोइन्छ” भनेर लखेटियो । दूरदराजमा मात्र होइन उपत्यकाभित्र समेत दलित समुदायमाथि राहत तथा उद्धारमा प्रत्यक्ष विभेद भइरहेकोको मेरा आँखाहरूले देखे । काठमाडौंको शाँखुको सुनार वस्तिमा जाँदै गर्दा एक नेवार समुदायका व्यक्तिले ठाडो चुनौति दिँदै भने, “मेरो तीन—तीनओटा घर भक्तेको छ । दलितहरूको त जाबो छाप्रो हो । मेरो पक्की घर भत्केको छ । राहत त हाम्लाई चाइने हो । खोई त्रिपाल दिनुस् नत्र गाडी रोकिराख्नुस् ।” यो उनकोमात्र होइन सारा काठमाडौंभित्र दलित समुदायलाई हेर्ने आम दृष्टिकोण हो ।
भैंचालोपछि राहत तथा उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनामा दलित समुदायमाथि विभेद हुने अनुमान पहिल्यै गरिएको थियो । किनकि मानिसको प्रकोपतर्फ उन्मुख हुने अथवा प्रकोपको सामना गर्ने क्षमता, व्यवस्थापन तथा पुर्नर्लाभ प्राप्त गर्ने क्षमता उनीहरूको सामाजिक, आर्थिक, र राजनीतिक अवस्थाले प्रभाव पार्दछ । त्यत्तिमात्र होइन विपद्का कारण कुन समुदाय कुन हदसम्म प्रभभावित भएको छ भन्ने कुराको निर्धारण पनि यिनै विषयले गर्दछन् । अहिलेको भैंचालोको सन्दर्भमा पनि यहीँ कुरा लागू हुन्छ । भैंचालोबाट अति प्रभावित १३ जिल्लाहरूमा रहेका करिब दुई लाख ६५ हजार दलित समुदाय अरू समुदायभन्दा भिन्न र तुलनात्मक रूपमा कसरी बढी प्रभावित भएका छन् भन्ने कुराको निर्धारण पनि उनीहरूको सामाजिक, आर्थिक, र राजनीतिक अवस्थाले स्पष्ट पार्छ । तथ्यांकले यो भैंचालोमा परी ज्यान गुमाउनेहरूमा तामाङ समुदाय धेरै छन् । प्रारम्भिक तथ्यांकलाई तुलनात्मक रूपमा हेर्दा दलितहरूको कूल मृत्युको ४ प्रतिशतजति हुन आउँछ । तर, दलित समुदायको यो विपद्बाट उठ्ेर पहिलेकै अवस्थामा आउन सक्ने क्षमतालाई मूल्यांकन गर्ने हो भने दलित समुदाय नै उठ्नै नसक्नेगरी भैंचालोबाट प्रभावित भएको स्पष्ट हुन्छ । जनजाति÷आदिवासी समुदाय बञ्चितीकरणमा परेको समुदाय हो । दलित समुदाय बहिष्करणमा समेत परेको समुदाय हो जो पहिचानविहीन छ । त्यसैले यो समुदाय भैंचालोको प्रभावबाट पनि बढी पिल्सिएको देखियो ।
राहत तथा उद्धार र पुर्नस्थापनाका सरकारी तथा गैरसरकारी निकायका कार्यक्रम दलित समुदायसम्म पुग्न सकेका छैनन् । दलित समुदायले सहज र प्राथमिकताका आधारमा राहत पाउने सम्भावनालाई समाजमा जरो गाडेर रहेको जातीय भेदभाव तथा छुवाछूतले प्रमुख भूमिका खेलेको छ । अहिले पनि बल र पहुँच हुनेहरूले राहत पाए खोसेर, थर्काएर । राहत वितरणमा कुनै जातजाति समुदाय नभनीकन राहत तथा उद्धार गर्ने भन्ने प्रधानमन्त्री सुसिल कोइरालाको बोलीलाई पछ्याउँदै गैरदलितले विपद्को बेलामा पनि दलितहरूलाई राहत किन दिने भनी आएको राहत उनीहरूले नै खोसिदिने गरेका छन् । हाम्रा प्रधानमन्त्रीले समेत बुझेनन् कि सामाजिक आर्थिक रूपमा पछाडि पारिएका समुदाय नै विपद्को सबैभन्दा जोखिममा रहेका हुन्छन् । भैंचालोले जात भन्दैन तर जातीय भेदभाव भोगिरहेका दलित समुदायले राहत तथा उद्धार र पुनस्थापनाको समयमा पनि जातीय विभेद खेप्छन् भन्ने कुरा उनले विर्षिए । त्यसैले राजनीतिमा मात्र होइन विपद् व्यवस्थापनमा पनि सामाजिक समावेशीकरणलाई मुख्य आधार बनाइनु आवश्यक छ । 

साभार : भैंचालोको जातशास्त्र //जागरण मिडिया सेन्टर (ज्ञवाली एसियाली मानवअधिकार आयोग र जागरण मिडिया सेन्टरसँग आवद्ध छन् ।)

4 comments:

  1. बिमल आचार्य जस्ता मान्छेका तीन चार तलाका, तीन चार वटा घर मात्र भत्केछन । यस्ता मान्छेहरुलाई त तिनै तीन चार तलाका, तीन चार वटा घरले च्यापेर मर्नु पर्ने थियो ।

    ReplyDelete
  2. Patrakar mahodaya, ahikay uha haru ko awastha k kasto chha? Hami uha haru lai saano raahat dina sakcham. Help Fund a Relief Camp bhannay hamro sanstha chha. 100 familes lai paal, khadyanna ra ausadhi upachar garauna sakcham. Kripaya masanga samparka garnu hola. dr.sauravshrestha1@gmail.com maa email garnus or 9849304187 maa call garnus. Dherai raamro lekh lekhnu bhako chha. Kripaya hami lai sahayog garne avadhar dinus.

    ReplyDelete
    Replies
    1. नमस्ते सर
      यस समाचारका लेखक शिवहरि ज्ञवाली जागारण मिडिया सग आबद्ध हुनु हुन्छ । उहाँको निजि सम्पर्क नम्बर नभए पनि वहाँ आबद्ध सस्थाको सम्पर्क ठेगाना यश प्रकार छ ।
      Jagaran Media Center
      Buddha Nagar, Kathmandu, Nepal
      Post Box No.19619
      Phone: +977 -1- 4780597 / 4781216
      Fax: +977-1-4782851
      समय मिलेको खन्ड्मा हजुरले के कसो तरिकाले सहयोग गर्न सकिन्छ भनेर जान्कारी लिनु होला। धन्य्वाद

      Delete
  3. गरिब छ भन्दै मा हेप्ने को नि सिमा हुन्छ नि -
    सक्छौ भने ठुलो बडा दमाइ हरु लाई हेपेर देखाऊ त ???
    मानिस ठूलो जातले हुन्न यहाँ दिल नै ठूलो सबै थोक भन्दा
    मुना मदन आए गए कसैले केही बुझेन ।

    ReplyDelete