दलितमाथिको आक्रमणप्रति सरोकारवालाको आपत्ति

काठमाडौँ, १९ कात्तिक । पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा छुवाछूतको निहँुमा दलितमाथि भइरहेको आक्रमणप्रति सरोकारवाला सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् । पछिल्लोपटक दसैँ मनाउँदै गर्दा मुुलुकका विभिन्न जिल्लामा मन्दिरमा टीका थाप्न गएको आरोपमा, दैलो नाघेको निहुँमा र घरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट तथा आक्रमण गरेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

यही कात्तिक ७ गते ओखलढुङ्गाका स्थानीय लालबहादुर भुजेलको घरमा प्रवेश गरेको आरोपमा कुइभीर गाविस–५ का ६१ वर्षीय बेनबहादुर दर्जीको परिवारमाथि गैरदलित युवाको समूहले आक्रमण गरी परिवारका सातजना सदस्यलाई कुटपिट गरी घाइते बनाएका थिए । यसैगरी, दैलेख जिल्ला सल्लेरी गाविस सामाटोका भीमबहादुर विकलाई दैलो नाघेको निहँुमा स्थानीय दलबहादुर बस्नेतले टाउकोमा हँसिया प्रहार गरी घाइते बनाएका छन् । बाजुरा जिल्लाको मार्तडीस्थित बडिमाली मन्दिरमा टीका थाप्न गएको आरोपमा मन्दिरका पूजारी दलबहादुर राउतले स्थानीय सीता विक, लक्ष्मी विक, दिलीप उखेडालाई कुटपिट गरेकोमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले आपत्ति जनाएको छ ।

मुक्ति मोर्चाका सचिवालय सदस्य राजकुमार हिङ्माङले छुवाछूतका घटनाका दोषीलाई जातीय विभेद तथा छुवाछूत सजाय (कसुर ऐन) २०६८, अनुसार तत्काल कारबाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । राष्ट्रिय दलित आयोग र जागरण मिडिया सेन्टरलगायतका सरोकारवाला संस्थाले विज्ञप्ति जारी गरी ऐन लागू भइसकेको अवस्थामा पनि राज्य र सरकारले दोषीमाथि कडाइका साथ कारबाही गर्न नचाहेको आरोप लगाउँदै छुवाछूतको निहँुमा यसरी नै दलित समुदायमाथि आक्रमण भइरहे सङ्घर्षमा जाने चेतावनी दिएका छन् ।

जागरण मिडिया सेन्टरका महासचिव दीपक परियारले छुवाछूत कसुर ऐन लागू भइसकेको अवस्थामा छुवाछूत तथा अन्तरजातीय विवाह गरेकै कारण मुलुकका विभिन्न स्थानमा चारजना दलितले ज्यान गुमाउनु परेको भन्दै दलित भएकै कारण मन्दिरमा टीका थाप्न जाँदा कुटिनुपर्ने दुःखको कुरा हो भन्नुभयो । रासस

No comments:

Post a Comment