विजय विकलाई सहयोग गर्नेहरू भेटिन थाले

धादिङ, मंसिर २२ - आमासँगै जेलमा रहेका ६ वषर्ीय विजय विकलाई सहयोग गर्नेहरू भेटिन थालेका छन् । विभिन्न संघसंस्था, व्यापारी, समाजसेवी र व्यक्तिले शुक्रबार प्रमुख जिल्ला अधिकारी र कारागार शाखामा टेलिफोन सम्पर्क गरेर सहयोग गर्न तयार गरेको जनाएका हुन् ।
करिब एक दर्जन सहयोगीहरू सम्पर्कमा आएको जेलर चिरञ्जीवी गौतमले जनाए । 'मेरो दिन बालकबारे जानकारी दिएरै बित्यो,' उनले भने, 'फोन गर्नेहरू हामीले के सहयोग गर्न पर्‍यो, बच्चालाई हामी लैजान्छौं भन्छन् ।' बालक विजयबारे कखरा सिक्दासिक्दै जेलमा समाचार शुक्रबार प्रकाशित भएको थियो ।
बालकलाई पालनपोषण र शिक्षादीक्षा दिने भन्दै केही संस्थाले कारागार शाखामा निवेदनसमेत दर्ता गराएको उनले बताए । केही व्यक्ति र धेरै संस्था सम्पर्कमा आएका छन् । बालकलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धेरैले सम्पर्क गरेपछि जेलर गौतमले प्रजिअ विष्णुप्रसाद पोखरेल र बालककी आमा सुनितासँग छलफल गरेका थिए । छलफलपछि सहयोग संकलन गरेर बच्चालाई सदरमुकामकै कुनै विद्यालयमा पढाउने निर्णय भएको प्रजिअले बताए ।
'बालकको उमेरले आमाभन्दा टाढा राख्ने अवस्था छैन,' उनले भने, 'सहयोग संकलन गरेर बालकलाई जेलबाटै विद्यालय जाने/आउने व्यवस्था मिलाउन कारागारलाई निर्देशन दिएका छु ।' छोरालाई पठनपाठनका लागि सहयोग गर्ने भेटिएकामा आमा सुनिताले खुसी व्यक्त गरिन् । उनले भनिन्, 'मसँगै बसेर छोरा स्कुल जाने गर्न पाए हुन्थ्यो ।' सिन्धुपाल्चोकका विजय ६ महिनादेखि आमासँगै जिल्ला कारागारमा छन् ।
मानव बेचबिखनको आरोपमा थुनामा रहेकी आमासँगै उनी पनि जेल बसेका हुन् । आमा पक्राउ परेसँगै बाबु विकास र घरपरिवार सम्पर्कविहीन भएपछि बालक जेल बस्न बाध्य भएका हुन् ।
साभार :- कान्तिपुर

No comments:

Post a Comment