बुटवलमा बल्झिरहने अतीत अल्झिरहने बर्तमान’ बारे अन्तरक्रिया

रूपन्देही, १८ फागुन,

 तारालाल श्रेष्ठको तेस्रो अनुसन्धानात्मक पुस्तक ‘बल्झिरहने अतीत अल्झिरहने बर्तमान’ बारे सोमबार बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दलित पत्रकार संघ नेपाल रुपन्देही, डिस्कोर्स पब्लिकेशन र व्यवसायिक विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले पुस्तकले दलित आन्दोलनको इतिहास, दमन र भावी आन्दोलनको बारेमा दिशानिर्देशन गर्न मद्धत पुग्ने बताएका छन् । पुस्तकका लेखक तारालाल श्रेष्ठले पुस्तक वास्तविक दलितहरुको समस्या बुझेर लेखिएको बताउँदै यसले दलित आन्दोलनको कमीकमजोरी समेत औल्याउने प्रयास गरेको बताउनुभयो । उहाँले पुस्तक विक्रिबाट प्राप्त हुने रकम दलित र उत्पीडित समुदायका विद्यार्थीलाई अध्ययनका लागि छात्रबृति स्वरुप प्रदान गर्ने जानकारी दिनुभयो ।
पुस्तकबारे विश्लेषण गर्दै लेखक दील साहनीले पुस्तकले दलितका मर्कासँगै उनीहरुको विद्रोहको समेत उजागर गरेको बताउँदै पुस्तकले बुद्धिजिवी र लेखकहरुलाई समेत झकझक्याउने काम गरेको बताउनुभयो । अर्का लेखक डिक बहादुर विश्वकर्माले पुस्तक दलित आन्दोलन जान्न र बुझ्न खोज्नेहरुका लागि नभइनहुने कृती रहेको बताउनुभयो । पूर्व मन्त्री प्रकाश चित्रकारले मानसिक परिवर्तन विना विभेदको अन्त्य नहुने बताउँदै गैरदलित समुदायको व्यक्तिले उत्पीपडत वर्गको बारेमा पुस्तकै लेखेर अभियान चलाएकोमा धन्यवाद दिनुभयो । उहाँले आफुलाई राजनितिक आस्थाको आधारमा अलग गराएको बताउँदै दलित समुदायको पक्षमा पञ्चायतकालदेखिनै सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी पण्डित बाबुराम भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहाकार सुमन अधिकारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जीसी, लेखक दीपक विश्वकर्मा, माया गौतम, गणेश उचै, दलित महिला संघका मनु खड्का लगायतले बोल्दै उत्पीडित वर्ग समुदायको बारेमा पुस्तक लेखिएकाले यसको समाजमा सकरात्मक छाप रहने बताउनुभएको थियो । कार्यक्रम व्यवसायिक विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष कमला हेम्चुरीको अध्यक्षता, दलित पत्रकार संघका रुपन्देहीका अध्यक्ष सञ्जय विश्वकर्माको स्वागत एंव सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

source:- जागरण मिडिया सेन्टर 

No comments:

Post a Comment