आरनमा ओदान बनाउने क्रममा बम विष्फोट

 काठमाडौं- आरनमा एक मिटरजति लामो फलामे पाइप तात्दै थियो। कमारो चदारा चिम्टाले समातेर पाइप मिलाउँदै थिए। १५ वर्षे नैनबहादुर नेपाली आरनको ऐर (पंखा) चलाउँदै थिए। फलामको पाइप तातिसकेकाले घन हान्न तयार थिए, आरनमा आफ्ना साधन अर्जप्न पुगेका अन्य पाँच व्यक्ति।
‘अचानक पाइप ठूलो आवाजसहित पड्क्यो। आरनमा रहेका हामी सबै यत्रतत्र उछिट्टियौं। को कहाँ पुग्यो, के भयो, केही पत्तो भएन,' जाजरकोट सदरमुकामबाट करिब १६ कोस टाढा दसेरा–३ तल्लोगाउँस्थित कमारोको आरनमा बिहीबार भएको पाइप बम विस्फोटको घटना सम्झँदा नरसिंह चनाराको गला अवरुद्ध हुन्छ।

दसवर्षे माओवादी द्वन्द्व शान्ति प्रक्रियामार्फत साम्य भए पनि त्यसको हिंस्रक असर नेपालीले अझै कहिलेसम्म भोग्नुपर्ने हो, टुंगो छैन। जाजरकोट घटना त्यही दशकको हिंसापूर्ण अवशेष हो, जसले एकजनाको ज्यान लिइसकेको छ।तत्कालीन विद्रोहीले छाडेको पाइप बम विस्फोटमा घाइते आरनधनी कमारोको शनिबार टिचिङ अस्पताल महाराजगन्जको आइसियुमा उपचारकै क्रममा निधन भएको छ। घाइतेहरू नरसिंह थापा, भक्तबहादुर नेपाली, नैनबहादुर नेपाली र मनबहादुर थापाको त्यहीँ उपचार भइरहेको छ। गम्भीर घाइते जोखे थापा वीर अस्पतालमा जीवनमृत्युको दोसाँधमा छन्।

‘सँगै बसेकाहरू कोही पल्टिए, कोही उडे,' निकैबेर अवाक बनेर नरसिंहको बयान सुनिरहेका अर्का घाइते भक्तबहादुर नेपाली भन्छन्, ‘त्यसपछि एकैपटक अस्पताल आएपछि होस खुल्यो।'कमारोको मृत्युले उनीहरूलाई थप आहत तुल्याएको छ। ‘हामी उपचारमा छौं, कमारो गएछ,' नरसिंह र भक्तबहादुरमा झैँ अन्य घाइते नैनबहादुर र मानबहादुरसँग अब त्यो त्रासदीपूर्ण घटनाअघिको सम्झनामात्र बाँकी छ। चिकित्सकले चारैजनाको अवस्था खतरामुक्त भनेका छन्।घाइते अधिकांशको अनुहार पूरै, केहीको हात र खुट्टासमेत डढेको छ। घाइतेका अनुसार थापाले जंगलनजिकैको गोठमा भेट्टाएर ल्याएको फलामको पाइप ओदान बनाउन तताउने क्रममा पड्किएको हो।

आरनमा आएकाहरू पाइप तात्न र गलाउन समय लाग्ने भन्दै आफ्नो काम छिटो गरिदिन आग्रह गरिरहेका थिए। गाउँका बलिया युवक जम्मा भएको मौकामा तताइहाले फलाम चुट्न घन हान्न सहयोग पाइने आशमा कमारो र जोखेले पाइप आरनमा हालेका थिए।

‘अरू हाँसोठट्टा गर्दै थिए, मैले समय लाग्लाजस्तो छ भनेर जोखेकी छोरी (जयसरी) लाई जाऊ भनेर पठाएँ,' मनबहादुरले भने, ‘कमारोका नातिनातिना पनि स्कुलतिर लागिसकेका थिए, धन्न तिनीहरू पनि परेनन्।'

मानबहादुरका अनुसार सानैदेखि फलामको भाँडा बनाउने काममा लागेका कमारो गाउँमा असल र इमानदार मानिन्थे। गाउँबाट केही टाढाको जंगलनजिकै रहेको जोखेको गोठ द्वन्द्वकालमा विद्रोही माओवादी कार्यकर्ताको सेल्टर थियो। त्यही डरले वर्षौसम्म त्यो गोठमा कोही फर्किएनन्। दुई वर्षयता मात्रै उनले त्यहाँको बारी र गोठ प्रयोग गर्न थालेका थिए।

जोखेले गोठमा एकतिर मुख बन्द भएको करिब एक मिटर लामो पाइप भेट्टाए। हेर्दा राम्रो फलाम देखेर उनले ओदान बनाउन हुन्छ भनेर घर ल्याएका थिए। कमारोले ओदान बनाउन सबै फलाम लाग्दैन भनेपछि छोरी जयसरीले बाँकी फलामको आँसी (हसियाँ) बनाइदिन आग्रह गरेकी थिइन्। ‘पाइप तात्दै गएछ, सबै आ–आफ्नै काम र गफमा मस्त थिए,' मनबहादुर थप्छन्, ‘पड्किएर कता उडेको जस्तो थाहा छ, त्यसपछि विद्यालयमा हेलिकप्टर आउँदैछ भन्ने सुनेको छु, अरू केही होस भएन।'

घटनापछि स्थानीयले घाइतेलाई बोकेर नजिकैको स्वास्थ्यचौकी पुर्‍याएका थिए। स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि सभासद राजनविक्रम शाहको पहलमा हेलिकप्टरमा उनीहरूलाई बिहीबारै राजधानी ल्याइएको थियो। गम्भीर घाइते जोखेलाई तत्काल आइसियु भेन्टिलेटर चाहिने देखिएपछि वीर अस्पताल लगिएको थियो।

विस्फोटबाट कमारोको हात झरेको र तिघ्रामा पाइपको झन्डै आधा फुट लामो ३/४ इन्च चौडा पाइपको टुक्रा गढेको अस्पतालका कार्यकारी निर्देशक एवं उपचारमा संलग्न प्लास्टिक सर्जन डा. ईश्वर लोहनीले बताए।सभासदको पहलमा हेलिकप्टरमार्फत राजधानी ल्याइएका यी विपन्न समुदायका घाइतेले उपचारमा सरकारले सहयोग नगरेको गुनासो गरे। राजधानीमा बसोबास गरिरहेका गाउँले र आफन्तको सहयोगले उपचार भइरहेको उनीहरूले बताएका छन्।

No comments:

Post a Comment