बाजुराका ६२ प्रतिशत हलियाले अझै हलिया परिचयपत्र लिएनन्

बाजुरा, (नेस) प्रमाणीकरणमा परेका बाजुराका ६२ प्रतिशत हलियाले अझै हलिया परिचयपत्र नलिएको जिल्ला हलिया मुक्ति समाज बाजुराले जनाएको छ। जिल्लाका विभिन्न गाविसमा रहेका हलियालाई हलिया मुक्त गरिएको करिब दुई वर्ष बितिसक्दा पनि परिचयपत्र नलिएको बताइएको छ।
जिल्ला हलिया मुक्ति समाज बाजुराले परिचयपत्र नलिएका हलियालाई परिचपत्र लिइदिन आग्रहसमेत गरेको छ। पछिल्लो समय हलियाले राज्यबाट पाउने सेवा सुविधा पाउनुपर्ने जति नपाएको गुनासो आइरहँदा प्रमाणीकरणमा परेका बाजुराका सम्पूर्ण हलियाले परिचयपत्र लिएर एकजुट हुन आग्रह गरिएको हो।राज्यलाई समेत आफ्ना हक अधिकारको बारेमा घचघच्याउन सजिलो हुने भएकाले उनीहरूलाई परिचयपत्र लिन आग्रह गरेको जिल्ला हलिया मुक्ति समाज बाजुराका सहजकर्ता डबल विकले बताए। प्रमाणीकरणमा परेका बाजुराका १ हजार ३ सय ९३ जना हलियामध्ये अहिलेसम्म ५ सय २९ जना हलियाले मात्र परिचयपत्र लिएको जिल्ला हलिया मुक्ति समाज बाजुराले जनाएको हो।
परिचयपत्र लिन जिल्लामै आउनुपर्ने समस्याले दुर्गमका स्थानीय हलिया जिल्लामा आउन नसकेर पनि परिचयपत्र नलिएको बताइएको छ। तर यता हलियाले भने राज्यले मुक्त घोषणा गरी पुनःस्थापनाका काम नगरेकाले पनि परिचयपत्र नलिएको बताइरहेका छन्। परिचयपत्र लिएर पनि हलो जोतेर जहान पाल्नुपर्ने बाध्यता भएपछि परिचयपत्र लिनु र नलिनुमा कुनै अन्तर नहुने वाईका विकास विकले बताए। परिचयपत्र लिँदा झन् आफूहरू बेरोजगार हुने भन्दै उनीहरूले परिचयपत्र नलिएको बताइरहेका हुन्। बाजुराको उत्तरी क्षेत्रका रुगिन, साप्पाटा, गोत्री गाविसका हलियाले कम मात्रामा परिचयपत्र लिएको बताइएको छ।
साभार:- नेपाल समाचारपत्र

No comments:

Post a Comment