पानी छोएको निहुँमा कुटपिट गर्ने विरुद्ध जाहेरी

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख नरेशराज सुवेदीलाई जाहेरी पत्र बुझाउँदै पीडीतमध्येकी सुमारीदेवी सदाय।
(तस्बीर: रामबाबु यादब)
सिराहा : इनार छोएको आरोपमा सिराहा चन्द्र उदयपुर ७ धोवियाधारका सदाय समुदायमाथि कुटपिट गर्नेविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दर्ता भएको छ।इनारमा सँगै पानी भरेको निहुँमा कुटपिट गर्ने सोही गाविस वडा नम्बर ६ का सात जनाविरुद्ध भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार शुक्रबार जाहेरी दर्ता भएको हो।छोइछिट्टोको निहुँमा कुटपिट गर्ने भूषण लामा, शारदा लामा, अशोक थापा, पूर्णि लामा, शिवा लामा, इनजुदेवी लामा र शान्ति लामा विरुद्ध उजुरी परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख  नरेशराज सुवेदीले जानकारी दिए।

'छुवाछुत गर्नेविरुद्ध जाहेरी आएको छ। कानुन अनुसार कारवाही हुन्छ', सुवेदीले भने।फागुन १२ गते सोमबार बिहान इनारमा पानी भरेको आरोपमा सदाय महिलाहरुमाथि कुटपिट भएको थियो।कुटाइबाट सुमारीदेवी सदाय, जहरी सदाय, सोमनी सदाय, शान्ति सदाय, सोना सदाय, पञ्चिदेवी सदाय लगायत घाइते छन्। उनीहरु स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्केका छन्।स्थानीय श्याम सदायले एउटै इनारमा पार्नी भरेको बाहानामा आफूहरुमाथि पटकपटक कुटपिट हुने गरेको बताए। ‘हामी पुरुष काममा गएको मौका छोपेर महिलामाथि कुटपिट भयो। यो कहाँको न्याय हो?’, उनले प्रश्न गरे, 'पानी भरिरहेको बेला जहिले पनि उनीहरु छिटो पानी भर, हामीले पनि भर्नुछ भन्दै निहुँ खोज्छन्।'

वरपरका इनारमा पानी सुकेपछि धोवियाधार मुसहरी टोलमा रहेको इनारमा चन्द्रउदयपुर ६ तामाङ टोलवासी उक्त इनारमा पानी भर्न गएका थिए। सो क्रममा आफूहरुमाथि कुटपिट सहित दुर्व्यवहार हुनेगरेको सदाय समुदायको आरोप छ।  घुर्मिखोला डिलमा रहेको सदाय बस्तीमा ३५ घर छन्। पुरुषहरु ज्यालामजदुरी गर्न बाहिर गएको बेला तामाङ टोलबासीले सदाय बस्तीमा जथाभावी कुटपिट गरी घाइते बनाएको पीडितहरुको गुनासो छ।

राज्यले छुवाछूतलाई कानुनी रुपमा अपराध माने पनि गाउँघरमा यस्तो कुप्रथा कायम छ। दलित अधिकारकर्मी विनोद कुमार विसुन्केले कानुनी रुपमा अपराध भनिएपनि घटनामा संलग्नमाथि कारवाही नहुँदा यस्ता घटना दोहोरिएको बताए।‘यस्ता घटना पहिला पनि घटिरहेका छन्। दोषीमाथि कारबाही कहिल्यै हुँदैन' उनले भने, 'कानुनले आँखा चिम्लिएपछि न्याय पाउने कुरै भएन।'स्रोत: अन्नपुर्ण

No comments:

Post a Comment