महायज्ञमा दलितलाई प्रवेश रोक

बागलुङ, फागुन १० - गएको बिहीबारदेखि बागलुङ नगरपालिका ८ भान्सामा सञ्चालित श्रीमदभागवत धनधान्याञ्चल बिराट सप्ताह ज्ञानमहायज्ञमा स्थानीय दलित समुदायलाई प्रवेशमा रोक लगाइएको छ ।यज्ञ प्रवेशमा रोक लगाउनुका साथै सामुहिक प्रसाद ग्रहणमा समेत रोक लगाइएको स्थानीय दलित समुदायका प्रतिनिधिले आरोप लगाएका छन् । ज्ञानमहायज्ञको दोस्रो दिन शुक्रबार स्थानीय दलित समुदायका भक्तजनलाई यज्ञस्थालमा प्रसाद ग्रहण गर्न जाँदा छोइन्छ भन्दै सामूहिक प्रसाद ग्रहणबाट बञ्चित गरी जातीय भेदभाव गरेको उनीहरुको भनाइ छ ।

शुक्रबार दिउँसो प्रसाद ग्रहण गर्न लाममा बस्दा महायज्ञमा खटिएका स्वयंसेवक प्रदिप सापकोटा, देवी केसी र दुर्गा सापकोटाले स्थानीय दलित युवा कुमार किसान, गणेश बोहरालगायतको समूहलार्ई लाममा बसिरहेका बस्दा अन्य समुदायका भक्तजनले प्रसाद नलिने भन्दै आफूहरुलाई लामबाट बाहिर निकालेको स्थानीय गणेश बोहोराले बताउनुभयो ।

महायज्ञ स्थल जस्तो सार्वजनिक ठाउँमा आफूहरुमाथि जातीय विभेद भएको भन्दै न्यायको लागि पहल गरिदिन स्थानीय दलित समुदायले उत्पीडित दलित समुदायको संजाल लगायतका मानव अधिकारसँग सरोकार राख्ने सम्पूर्णलाई आग्रह गरेका छन् ।

पीडित स्थानीय युवा कुमार किसानले प्रसाद लिन लाममा बस्दा स्वयंसेवकले दलितहरु लाममा बसेर प्रसाद लिए अन्य समुदायका हजारौँ भत्तजनले प्रसाद नलिने भन्दै आफूहरुलाई निकालिएको बताउनुभयो ।महायज्ञ स्थल तयारी गर्दा दलित तथा गैरदलित समुदायबीच कुनै भेदभाव तथा छुवाछुत नगर्ने निर्णय व्यवस्थापन समितिले गरेपछि स्थानीय दलित समुदाय काममा खटेको बोहराले जानकारी दिनुभयो । आफूहरुमाथि जातीय भेदभाव भएको भन्दै उनीहरु न्यायको लागि कानुनीबाटो अपनाउने बताएका छन् ।

उता महायज्ञ व्यवस्थापन समितिले भने यज्ञस्थलमा कुनै विभेद नभएको दावी गरेको छ । महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सापकोटाले सबै जाती र सामुदायको लागि यज्ञस्थल खुला रहेको बताउनुभयो । कहिकतैबाट विभेदको महसुश भए आफूहरु त्यसलाई समाधान गर्न तयार रहेको अध्यक्ष सापकोटाले भनाइ छ ।यता दलित संजालले यज्ञस्थालमा विभेद भएको बताउँदै स्थानीय दलित समुदाय न्यायको लागि पहल गर्न आग्रह गरेको भन्दै घटनाबारे सत्यतथ्य बुझी कानुनी प्रक्रियामा जाने बताएको छ ।स्रोत:-उज्यालो

No comments:

Post a Comment