खानेपानी टाढा हुँदा धनगढीमा बिहे रद्द

धनगढी , २४ माघ : बिहेको तयारी पूरा भइरहेका बेला एक्कासि केटी पक्षबाट बिहे हुन नसक्ने सन्देश आएपछि गोदावरी गाविसका रहने बिकको घरमा सन्नाटा छायो ।
माघ २१ गते श्रीपञ्चमीको दिन दुलही लिन जन्ती जाने तयारी अन्तिम चरणमा पुगेको थियो केटी पक्षबाट आएको फोनले छरछिमेकसमेत स्तब्ध भए । बिहे रोकिनुको कारण सुनेपछि भने गाउँका सबैले बेइजयती महसुस गरे तर बदाला लिने वा उजुरी गर्ने अवस्थै रहेन । केटी पक्षबाट भनियो,’पानी लिन ५ किलोमिटर टाढा जानुपर्ने रहेछ, यस्तो दुःख हुने ठाउँमा छोरी दिन सक्तिनँ, दुःख नमान्नु होला ।’
कुरा छिनेर जन्ती पठाउन लागेकै बेला बिहे रोकिएको यो पहिलो घटना भए पनि गाउँका युवालाई कन्या खोज्न गाह्रो भइरहेको घटना भने गाउँलेका लागि अनौठो होइन । ‘खानेपानीका लागि ५ किलोमिटरको दूरी तय गर्नुपर्ने बाध्यताले यहाँ कसैले पनि छोरी चेली दिन मान्दैनन्,’ गाविसका पूर्व अध्यक्ष भानसिंह बिकले भने, ‘खानेपानीका लागि दैनिक ५ किलोमिटर टाढा पुगे पनि स्वच्छ पानी पाइदैन् ।’
खानेपानी टाढा हुँदा बिहेबारीलाई मात्र समस्या परेको होइन्, खानेपानी बोक्नुपर्ने बाध्यताले विद्यालय जाने उमेरका केटाकेटी पढ्नबाट वञ्जित भएका पनि छन् ।

No comments:

Post a Comment