वैदेशिक रोजगारीमा गएका २ छोरा बितेपछि दलित परिवार शोकमा

नुवाकोट । नुवाकोट थानसिङ–२, गाईचौरका गणेशबहादुर नेपालीका दुई छोराले वैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएका छन् ।धन कमाएर परिवार पाल्ने आश्वासन दिएर वैदेशिक रोजगारीमा कतार पुगेका ३५ वर्षीय राजु नेपाली धन र खुसी लिएर घर फर्कनुको साटो उनको शव बाकसमा आएपछि परिवारमा वैदेशिक रोजगारीप्रति नै वितृष्णा पैदा भएको छ ।
गणेशका पाँच छोराहरमध्ये २३ वर्षीय माइलो छोरा रामकुमार नेपालीले चार वर्षअघि मलेसियामा ज्यान गुमाएका थिए भने जेठो छोरा ३५ वर्षीय राजुको पनि कतारमा मजदुरी गर्दागर्दै गत २१ माघमा मृत्यु भयो ।माइला छोरा गुमाएको पीडाको आलो घाउमा खाटो नबस्दै दलित परिवार अहिले पूरै शोकमा डुबेको छ । राजुकी श्रीमतीले दसां दिनको काजकिरिया गरिरहेकी छन् । उनका एकजना पनि सन्तान छैनन् ।
ऋणको भारीले थिलथिलो हुने गरी थिचिएका उनीहरुमाथि थप बज्रपात भएपछि विदेश जान तयार भएका कान्छो छोरा विष्णुकुमार यतिखेर अन्योलमा छन् ।‘धन कमाउन गएका दुई दाजुहर विदेशकै मरुभूमिमा बितिसके,’ विष्णुले भने, ‘वैदेशिक रोजगारी युद्धभूमि जस्तै लागिरहेछ ।’ आङ्खनो परिवारका लागि विदेश युद्धभूमि जस्तै भएको बताउँदै राजुले साहुको ऋण कसरी तिर्ने चिन्तामा रहेको बताए ।
राजु २७ मंसिर २०७० मा प्यासिफिक हुमेन रिसोर्स प्रालिमार्फत श्रीमती आमाबाबु र दाजुभाइसँग हाँसीखुसी बिदाइका हात हल्लाउँदै त्रिभुवन विमानस्थलबाट जहाजमा उडेका थिए । वैदिशक रोजगारीमा गएको दुई महिना पनि नबित्दै उनी सदाका लागि आँसु बनेर बाकसमा प्याक भएर नेपाल फकिर्ए ।राजुको मृत्यु निमोनियापछि हृदयघातका कारण भएको भनी त्यहाँको अस्पतालको रिपोर्टमा उल्लेख छ । मृत्यु भएको १२ दिनपछि २ फागुनमा राजुको शव नेपाल आइपुगेको थियो ।

No comments:

Post a Comment