दलित महिलाका साझा मुद्दामा एकजुट हुन आग्रह - राजेन्द्र ताम्राकार

काठमाडौं÷माघ, २८ 
दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले नयाँ बन्ने संविधानमा दलित महिलाका मुद्दा सम्बोधन गराउनका लागि दलित महिला सभासद्, राजनीतिक पार्टीमा आवद्ध महिला र नागरिक समाजमा क्रियाशिल महिलाको साझा मञ्च बनाएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । 
नयाँ संविधानमा दलित महिलाको हकहित र अधिकार सुनिश्चित गराउन राजनीतिक पार्टीमा आवद्ध दलित महिला, नागरिक समाज, विषयविज्ञ लगायत क–कसले के–कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? भन्ने विषयमा राजनीतिक दलनिकट दलित महिला नेतृहरुसंगको अन्तरक्रियामा दलित महिला साझा मुद्दामा एकजुट भएर लड्नुपर्ने खाँचो औंल्याउनुभएको हो ।
सोबले दलित महिलाका मुद्दामा दलित महिलाले मात्रै आवाज उठाएर नहुने भन्दै दलित महिलाले समग्र महिलाको अधिकारका बारेमा पनि संयुक्तरुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले महिलाभित्र पनि दलित महिलाको सवाललाई स्थापित गराउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँङ्ग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलमा आवद्ध दलित महिलाको संलग्नतामा आयोजित अन्तरक्रियामा राष्ट्रिय जनमोर्चाकी नेतृ गौरा नेपालीले पहिलो संविधानसभामा दलित तथा दलित महिलासंग सम्बन्धित पारित भएका प्रावधानलाई यथावत कायम राखी नयाँ मुद्दा सम्बोधन गराउनका लागि सबैले आ–आफ्नो पार्टीमा दबाब दिनुपर्ने बताउनुभयो । नेकपा एमालेकी नेतृ रमा विश्वकर्माले नयाँ संविधानमा दलित महिलाका हक अधिकार सुनिश्चित गराउनका लागि महिला सभासद्हरुसंग छलफल, अन्तरक्रिया गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संविधानसभा अन्तर्गत बन्ने विभिन्न समितिहरुमा दलित महिलाको अर्थपूर्ण सहभागिताका लागि दबाब दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीकी नेतृ पञ्चकुमारी परियारले विघटित संविधानसभाले दलित तथा दलित महिलाका सम्बन्धमा केहि महत्वपूर्ण व्यवस्था गरेको भन्दै त्यस्ता उपलब्धिलाई संस्थागत गर्न नवनिर्वाचित सभासद्हरुले विघटित संविधानसभाले पारित गरेका विषयको स्वामित्व ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा दलित महिला संघकी बरिष्ट सदस्य रेणु सिजापतिले नयाँ संविधानमा दलित महिलाका हक अधिकार सुनिश्चित गराउनका लागि दलित महिला सभासद्संग आवासीय बैठक गरी छलफल अन्तरक्रिया गर्ने र त्यसका आधारमा संघले आगामी नीति, कार्यक्रम र सोही अनुसारको रणनीति बनाएर अगाडि बढ्ने योजना बनाएको बताउनुभयो । कार्यक्रममा एमाओवादीकी शर्मिला बागचन्द, रीता रिजाल लगायतले दलित महिलाका मुद्दालाई एकीकृत ढङ्गले उठाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले दलित महिलाका सवाल साझा सवाल भएकाले यसको सम्बोधन पनि साझामञ्चबाटै खोजिनुपर्नेमा जोड दिनुभएको छ ।नेपाली काङ्ग्रेसकी नेतृ तथा संविधानसभा निर्वाचनकी समानुपातिक उम्मेदवार सीता मिजारले दलित महिलाका मुद्दालाई नयाँ संविधानमा सम्बोधन गराउनका लागि नयाँ सभासद्मात्रै नभएर विघटित संविधानसभामा सभासद्को भूमिका निर्वाह गरिसकेका पूर्व सभासद्को रायसल्लाहलाई पनि समेट्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment