दलित आयोगलाई संवैधानिक आयोग बनाउनुपर्ने माग

काठमाडौँ, ५ फागुन । राष्ट्रिय दलित आयोगलाई अधिकारसम्पन्न संवैधानिक आयोग बनाउनुपर्ने माग गरिएको छ । आयोगले आज यहाँ आयोजना गरको बिदाइ तथा पत्रकार सम्मेलनमा वक्ताले छुवाछूतका घटनासम्बन्धी विषय सम्बन्धित निकायले दर्तासमेत गर्न नमानिरहेको अवस्थामा आयोगलाई संवैधानिक आयोग बनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
 दुई वर्षका लागि नियुक्ति गरिएको आयोगका अध्यक्ष, सदस्य सचिवसहित सदस्यको आइतबारदेखि कार्यकाल सकिएको छ ।  आयोगका निवर्तमान अध्यक्ष सुशीला श्रीपाइलीले आफ्नो कार्यकालमा आयोगको नयाँ भवन निर्माण, जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ को प्रचारप्रसार र आयोगको कार्य सञ्चालन निर्देशिका र अनुगमन तयार गर्ने लगायत कार्य सम्पन्न गरिएको जिकिर गर्नुभयो ।  
 
आफूहरुको कार्यकालमै रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिएको र दलित महिला, बालबालिका, अपाङ्ग तथा घाइते सशक्तीकरण कार्यक्रम सञ्चालनका साथै जनचेतनामूलक घुम्ती न्यायिक सेवा कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।
 
आयोगका पूर्व सदस्यसचिव भुवन सुनारले आयोगको आवश्यक रणनीति तथा कार्ययोजना समयसापेक्ष परिमार्जन र दशवर्षे रणनीति योजना तयारी गरिएको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment