पुख्यौली पेशा धान्दै वादी युवा

गोरखा नगरपालिका १० का हरिराम कुलु (वादी) ले काठको मादल बनाएर बिक्री गर्न थालेको १८ वर्ष बित्यो । सानैमा मादल बनाउने सीप जानेका उनले आँबुखैरेनी –गोरखा सडकखण्डमा मादल बेचेरै कमाएको पैसाले केही वर्षअघि घडेरी किने । हजुरबुबा, बुबाले पनि मादल बनाएरै जीवन निर्वाह गर्नुभएको थियो, हरिरामले भने–‘मैले पुख्यौली पेशा धानेको हुँ ।
यसैले खान पुगेको छ । बच्चा पढाउन सकेको छु । घडेरी जोडे, चार लाख रुपियाँमा पक्की घर पनि बनाएँ । अझ यही पेशालाई निरन्तरता दिने उनले बताए । मादल बनाउने उतिसको गोलाइको काठ उनले धादिङदेखि ल्याउने बताए । उनले भने–‘एउटा गोलाइ काठको दुई सय ५० पर्छ ।’ एक दिनमा एउटा मादल तयार गर्न सकिने उनले बताए । उक्त मादल राजधानी कमठमाडौं लगायत चितवन, पोखरा,धरान, बाग्लुङलगायत जिल्लामा बढी निर्यात हुन्छ । ‘अडरअनुसार मादल बनाउने गरेको छु’, उनले थपे–‘८० हजारसम्मको अडर लिएको छु ।’
तयारी मादललाई रु. १हजार ८ सयदेखि तीन हजारसम्म पर्ने उनले बताए । मादलका साथै उनले झिगुङ्गा, ढिमे, जिम्मे, एकतारे पनि बनाउने गरेका छन् । ‘गोरुको,भैंसीको छाला गाउँबाट ल्याइन्छ’, उनका सहयोगी राजु बादीले भने–‘एउटै छालालाई एक हजार पर्छ ।’ काठ, छाला र दक्ष जनशक्तीको ज्याला बढेकाले वर्षेनी मादलको मूल्य बढ्ने गरेको उनको भनाइ छ ।
(स्रोतः नेपाल समाचारपत्र दैनिक)

No comments:

Post a Comment