सबैतिर अन्त्य र मृत्युको कुरा उठिरहँदा सम्झेँ- ठीक बोलेँ या बेठीक! सुन्नेलाई लाग्ला- कति उग्र भनाई! यथास्थितिमा रहेको समाजलाई अमान्य हुन सक्छ। युरोपलाई अन्धकारमा राखी धर्मको हावी भएका बेला दार्शनिक रेने डेकार्तले दर्शनलाई जब धर्मको पन्जाबाट छुटाए, त्यतिखेर विरोधमा आवाज उठेको थियो। चार्ल्स डार्बिनले 'विकासवाद'को घोषणा गर्दा संसारलाई ईश्वरको सृष्टि मान्नेहरू हान्ने गोरुजस्तै रन्थनिएका थिए। ती सबै मिलाएर आफैलाई प्रश्न गरेँ।
नेपालमा पनि धेरै यथास्थितिवादी छन्। 'इन्ड अफ बाहुनिज्म'ले उनीहरूलाई रन्थनाउन सक्छ। के रन्थनाउँछ भनेर डेकार्त, डार्बिन चुप बसेको भए संसार नयाँ अर्थबाट बु‰न सकिन्थ्यो? अवश्य सकिँदैनथ्यो। त्यसो भने किन दुरगामी महŒव राख्ने बाहुनवाद अन्त्यको कुरा नगर्ने! हाम्रा समालोचकलाई पाश्चात्य मृत्यु ल्याएर नेपाली समालोचनामा मिसाउन कति सजिलो! आफ्नै देशमा वर्षौंदेखि जेलिएको जालोबारे बोल्न, लेख्न र समालोचना गर्न किन सास जालाजस्तो भएको! अब त साहित्यिक समालोचनाको एउटा पाटो मृत्यु र अन्त्य भइसक्यो। केन्द्रहीनता भइसक्यो। मलाई मृत्युको यस खेलमा बाहुनवादको अन्त्य बोल्न मन लाग्यो, बोलेँ। मैले यसलाई कुनै जाति, क्षेत्र, विशेष ठानिनँ। कुनै कालखण्डमा उमि्रएको समाजको कुसंस्कार, अन्धविश्वास ठानेँ। यस खेलमा धेरै लिलिपुट र कम्ती गुलिबर छन्। यस्तो भत्काउन आए- संरचनावाद उल्टाउँदै उत्तर संरचनावाद, निर्माण भत्काउँदै विनिर्माण। थोरै शासक धेरै शासितको ठाउँमा अब शासित शासक र शासक शासित हुनुपर्छ भन्ने 'सबाल्टर्न स्टडिज' आयो रणजीत गुहाको नेतृत्वमा।
डिस्को, म्याक्डोनाल्ड केएफसीजस्तै स्वादिष्ट भनाई ल्याएर साहित्य गर्ने नामी साहित्यकारको नेपालमा हालीमुहाली छ। खोई बाहुनवादको अन्त्य लेख्ने साहसी साहित्यकार, समालोचक, पत्रकार! भनिन्छ- उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउन सक्छ। कस्तो साहित्यलाई उत्तम मान्ने, कुन साहित्यिक कृति उत्तम छ भनेर बु‰न केही 'टचस्टोन' अथवा छानिएका, मानिएका 'राम्रा' शेक्सपियर, वर्ड्सवर्थ, किट्सजस्ता लेखकका कृतिलाई मापदण्डको रूपमा लिनुपर्छ। त्यस्ता कृतिले 'टचस्टोन' वा मापदण्डको काम गर्छन्। कुनै नयाँ कृति उत्तम छ वा छैन भनेर बु‰न ती कृतिलाई विश्वप्रसिद्ध 'टचस्टोन' सँग तुलना गरेर हेर्नुपर्छ। यदि नयाँ कृतिले पुराना 'टचस्टोन'झैं अनुभूतिको गहिराई वा शब्द संयोजनको सौन्दर्यशास्त्र प्रतिविम्बित गरेका छन् भने भन्न सकिन्छ- हो, यी नयाँ कृति उत्तम साहित्यिक र सांस्कृतिक कृृति हुन्।'
के म्याथ्यु आर्नोल्डले यस्तै समालोचना गरेर आफूलाई अमर बनाए? नेपाली साहित्य सधैं यही धारले चल्छ? कि बाहुनवाद अमर पक्ष हो? कुनै दिन सबाल्टर्न, दलित, उत्पीडित, मधेसी, आदिवासी, जनजाति, नारीको पक्षधर रेमन्ड विलियमजस्ता समालोचक, रणजीत गुहाजस्ता सबाल्टर्न स्टडिज आउँदैन? अवश्य डेरिडाजस्तो पुरानो संरचना भत्काउने उत्तरसंरचना समयको उड्ने घोडामा चढेर आउँछ। बेलायतमा पनि आयो। बेलायती मार्क्सवादी विचारक रेमन्ड विलियमले आर्नोल्डले औंल्याएको उच्च संस्कृति तथा लोकप्रिय संस्कृतिमध्येको विभाजनलाई प्रश्न गर्दै भने- आर्नोल्डले भनेको सांस्कृतिक विभाजन वर्गीय विभेदमा आधारित छ। के शेक्सपियर, किट्स, वर्ड्सवर्थजस्ता लेखक आफैं पनि उच्च वा मध्यमवर्गीय परिवार थिएनन्? विश्वविद्यालयका पाठ्यक्रममा 'प्रख्यात' लेखकका रचना उच्च वा मध्यमवर्गकै पाठकले पढ्दैनन्? मजदुर तथा किसानजस्ता वर्गकाले पढ्ने, सुन्ने लोकगीत वा कविता 'उच्च साहित्य'का भागमा हुनै सक्दैनन्? शेक्सपिएरकै समयमा अस्ट्रेलियाको कुनै आदिवासीले लेखेको साहित्य 'टचस्टोन' हुँदैन?
No comments:
Post a Comment