लेखक :- दिनेशप्रसाद हरिजन (गौतम) |
चमार समुदायलाई सामाजिक र आर्थिक अबसरमा पहुँच र जीवनयापनको अबस्था सुधार्ने अबसरका लागि कुनै निर्दिष्ट स्थान दिइएको छैन । नेपालका समग्र दलित समुदायका लागि केही कानुनी प्रयासबाहेक चमारहरुमाथि जातमा आधारित हुने गरेको दुराग्रह र विभेद नेपाली समाजमा अहिले तितो सत्य नै रहेको पाइृन्छ । यस अबस्थामा नेपालको तराई तथा मधेशको दुर्गम क्षेत्रमा अझ बढी चमार जातिलाई अबहेलना गरिएको घटनाहरु बहिरा आईरहेका छन ।
यसका साथै नेपालमा यो समुदायको मानवअधिकार ,समाजिक ,राजनैतिक ,शैक्षिक भौतिक तथा शारीरिक अबस्था सबैभन्दा नाजुक रहेको छ । देशमा रहेको राजनैतिक उतार चढावका साथै पुरातनबादी सोचका कारण पनि धेरै नै यि चमार समुदायका महिला तथा पुरुषहरु सर्बजनिक स्कुल ,मठमन्दिर ,तथा सरकारको मतहातमा रहेका सरकारी कार्यलयहरुसम्म दलित भएकै कारण जातिय विभेद सहन बाध्य भएका हुन्छन । चमार जातिहरुको बसोबास तराई तथा पहाडको केही जिल्लाहरुमा रहेको पाईन्छ । पहाडी समुदायका दलित समुदाय जस्तै दमाई ,कामी ,सार्की तथा गाईने गन्दर्भ जातिहरु जनसंख्या बढी पाईन्छ । त्यसरी नै तराईमा अरु दलित समुदायको जनसंख्याको तुलनामा यो समुदायको जनसंख्या बढी छ । यो समुदायको पेशा भनेको पहाडका सार्की जातिहरुसगं केही मात्रामा मिल्दो जुल्दो हुन्छन । जस्तोकी पहाडमा सार्कीहरु जुत्ता चप्पल तथा छालाको कामहरु गर्ने गर्छन भने तराईका चमार समुदाय पनि त्यही काम गर्नुका साथै बंगुर पालन ,ढोल बजाएर बर्ष भरि माग्ने खाने गर्नुका साथै सिनो खाने र सिनो फाल्ने काम समेत गरिरहेको हुन्छन । त्यस्तै दमाई जातिहरु सिलाई कटाईको पेशा पनि चमारहरुले धेरै मात्रामा गर्ने गर्दछन ।
पहाडमा कामीहरुले सुन बनाउने काम गर्छन भने तराईमा यो जातिका मान्छेहरुले फलामका बिभिन्न औजारहरु बनाउनुका साथै जमिन्दारहरुको घरमा आफनो छोराहरुलाई हलियाको रुपमा राख्ने गरेको पाईन्छ । त्यस्तै गाईने जाति गन्र्धबहरुले जसरी सारागीं रेटेर आफनो जिविका पार्जन गर्ने काम गर्छन त्यसरी नै चमार जातिका मानिसहरुले बर्ष भरी ढोल ,मादल तथा खन्झडी बजाएर माग्ने खाने गर्दछन । त्यसका साथै कतिपय चमारहरुले राउटे जस्तै जहा जान्छन त्यही नै आफनो डेरा राख्ने गर्दछन जस्तो कि जुन गाउमा माग्नका लागि गएका छन त्यस क्षेत्रको पायक पर्ने सर्बजनिक ठाउ तथा जंगलहरुमा आफनो डेरा राखि बासोबास गर्ने परम्परा रहेको छ ।
यो जातिहरुको बसोबास तराईका २२ ओटै जिल्लाका साथै पहाडको गुल्मी , पाल्पा , बाग्लुगं , पर्बत , कास्की , रोल्पा , अछाम ,सुर्खेत , धादिगं , काठमाडौ , भक्तपुर ,ललितपुर ,मकवानपुर , सिन्धुली, उदयपुर लगाएतका जिल्लाहरुमा प्रयाप्त मात्रामा पाईन्छ । नेपालमा यो जातिहरुको जनसंख्या हेर्ने हो भने वि.स. २०५८ सालको जनगणना अनुसार कुल जनसख्यांको लगभग १५ प्रतिशत मध्ये १ दसमलव २५ प्रतिशत चमार जातिको बसोबास रहेको पाईन्छ तर यो प्रतिशत कुल जनसंख्याको पाच प्रतिशत नेपालमा रहेको चमार समुदायका अगुवाहरु बताउछन । चमार जातिहरु धेरैले आफनो रोजी रोटी चलाउनका लागि तराईका ठुला बडा जमिन्दार तथा साहु महाजनको घरमा बाली घरे प्रथा बस्ने प्रचलन अहिले पनि कायम छ । गाउमा गाई बस्तु मर्दा त्यसलाइृ उचित ठाउमा लगेर गाडने तथा उनिहरुको छाला छोडाउनुका साथै मरेकै गोरुहरुको मासु चमार समुदायले खाने गरेको अझै पनि पाईन्छ । गाउमा मान्छे मर्दा लासलाई जलाउनका लागि लैजादै गरेको अबस्थामा चमार समुदाका कुनै पनि मान्छेले बाटो काट्यो भने सुन पानीले छर्कने काम गर्दछन । त्यति मात्रै होईन विहान विहान उनिहरुको मुख अरु उच्च जातिहरुले हेर्ने वित्तिकै अशुभको सकेंतको सज्ञां दिन्छन ।
उनिहरुले सर्बजनिक स्थलमा राम्रोसगं बस्न समेत पाउदैृष्ेनन् । त्यसका साथै गाउमा ठुला बडा मान्छे जमिन्दारहरु बाटोमा जादा शिर निहुराउनु पर्ने हुन्छ । यदि निहुराएन भने उसले सजाय भोग्नु पर्ने स्थिति हुन्छ । गाउ घरका जमिन्दारहरुको घरमा सर सफाई देखि लिएर उसको शौचालय , जुत्ता चप्पल ,गाई भैसीको स्याहार सुसार गर्नुका साथै खेतीपाती समेत चमार समुदायले नै गर्ने गर्छन । तर जमिन्दारको अगाडी शिर ठाढो पारेर उभिन सक्दैनन् चमार समुदाय । चमार जातिहरुको बसोबास लगभग देश भरी भएपनि उनिहरुलाई सबै भन्दा धेरै तराईका उच्च बर्गका जातिहरुले जातिय रुपमा छुवाछुत गर्ने गरेको पाईन्छ ।यो समुदाय पहाडमा गयो भने कालो अनुहार हेर्ने वित्तिकै पहाडका मान्छेहरु तराईको मान्छे हो भन्दै अपहेलित गर्ने गर्दछन भने तराईका यादव , मुस्लिम , थारु ,ठाकुर, तेली शाह त्रिपाठी,लोनिया ,तथा उच्च ब्रम्हण जाति र तराईकै दलित समुदायहरु जस्तै दुषाद पासवान, डोम ,पासी ,धोबी,मुसहर लगाएतबाट आपहेलित हुनु पर्ने स्थिति रहेको छ । चमार जातिहरुले हरिजन , मोची ,चमकटीया, राम , लोना चमार ,रबीदास ,कोरी चमार, उतरहा चमार ,दखिनहा चमार , राव तथा अहिलेको अबस्थामा केही मात्रामा गौतम थर लेख्ने गरेका छन । चमार जातिका मानिसहरु जस्तो नाम थर लेख्ने भएपनि उनिहरु चमार दलित भएकै कारणले धेरै ठाउमा अपहेलित हुनुपर्ने बाध्यता छ ।
सच्चिकै रुपमा भन्नु पर्दा उनिहरुका छोराछोरीहरु आफनो थर लुकाएर अहिले सम्म पनि विभिन्न सरकारी तथा गैर सरकारी निकायका कार्यलयहरुमा काम गर्न‘ पर्ने बाध्यता छ । यो जातिहरुको बासोबास प्राय छुटटै टोल बनाएर बसेका हुन्छन किनकी उनिहरु उच्च बर्गका मानिसहरुको मुख देखे भने विभिन्न किसिमका पिडा सहनु पर्ने भएकाले उनिहरु छुटटै बस्ती बनाएर बसोबास गरिरहेका छन ।
हामी उदाहरणको रुपमा रुपन्देहीको सिक्टहान गाविस बडा नम्बर ८ सरदारनगरमा गाउमा बसोबास गर्ने १८० चमार घरहरु मध्ये अहिले पनि लगभग ६० घर परिवारले अझै सिनो खाने तथा सिनो फाल्ने काम अझै पनि गर्ने गरेका छन । उक्त गाउका उच्च जातिहरुको घरमा गाई भैसी मरेपछि उनिहरुलाई फाल्नका लागि चमार जातिहरु नै जाने गर्छन । गाउमा कुनै किसिमको सर्बजनिक कार्यक्रमको आयोजना तथा बैठक गर्दा यो जातिहरुलाई बोलाईदैन । यहा सम्म कि गाउमा मान्छे मरेपछि उसको लासलाई जलाउनका लागि रहेको अबस्थामा चमार समुदायले बाटो काटयो भने उच्च बर्गका मान्छेले सुन पानी छर्कने गर्छन । उच्च बर्गका मानिसहरुको बाख्रा मरेको छ भने उसको मासु खाना दिईन्छ यो चमार समुदायलाई । यसका साथै चमार समुदायका छोरा वा छोरीले गैर जातिका छोरा वा छोरीसग विवाह गरेको छ भने त्यहीको समुदायले उल्टै चमार जातिलाई दण्ड सजाय दिलाएर उनिहरुलाई छोडाई दिन्छन । यस्ता धेरै नै नेपालभरी चमार भएकै कारणले गर्दा जातिय विभेद सहन बाध्य पारिएका छन यि दलित समुदाय ।
त्यस्तै केही मात्रामा यस्ता पनि चमार समुदायलाई समाजिक आर्थिक तथा राजनैतिक तवरले विभेद गरिएको पाईन्छ जस्तै कि पानी छोएको आरोपमा गाउ निकाला , बोक्सीको आरोपमा गाउ निकाला , अन्तरजाति विवाह गरेकै कारणले गर्दा गाउ निकाला ,चमारको गाई बस्तुले उच्च बर्गका भाडाकुडा छोएको आरोपमा जरिबाना तथा गाउ निकाला , उनिहरुको छोरी बुहारीलाई गाउकै उच्च बर्गका मान्छेहरुले बलत्कार गर्दा उल्टै चमार जाति नै दोषी ठहर गराउनुका साथै जरिबाना तिर्नुपर्ने बाध्यता लगाएत धेरै नै जाति विभेदका घटनाहरु सहन बाध्य छन । कतिपय ठाउमा चमार जातिमा छोरा हुने वितिकै गाउका मालिक वा भनौ कि जमिन्दारको हलि बस्न बाध्य हुनु पर्ने अबस्था छ भने छोरी भएमा जमिन्दारका छोराहरुलाई मौज मस्ती दिलाउनका निम्ती नाच्ने तथा उनिहरुको शारिरीक शोषणमा पर्नु पर्ने बाध्यता हुन्छ । कतिपय अवस्थामा चमार समुदायका छोराछोरीहरु विभिन्न सर्बजनिक विद्यालय तथा स्थानहरुमा समेत तल्लो जातिकै कारणले गर्दा स्कुल निकाला समेत भएका छन ।
नेपालको धेरै राजनितिक तथा समाजिक उतार चढावका विच केही मात्रामा चमार समुदायका मानिसहरु शिक्षीत भएका छन । शिक्षाको दृष्टीकोणले हेर्दा नेपालमा अहिले सम्म चमार समुदायबाट एक जना मात्रै त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयको जिवविज्ञानबाट एम.एस.सी.,मास्टर डिग्री हासिल गरेका छन भने , पुर्बान्चल विश्वविद्यालयबाट एक जना मात्र वि.ई. हासिल गरेका छन । यसका साथै नेपाल सरकारको निजामति कार्मचारीमा जम्मा ३ जनाले सरकारी नोकरी पाएका छन । त्यो पनि सफाईकर्मी कोही छन त कोही पियनकोरुपमा काम गरिरहेका छन । यो नोकरी माध्ये कम्तीमा ४० जना शिक्षक पेशामा लागेका छन भने देश भरिमा अहिले सम्म एक जना मात्रै डाक्टर भएका छन । यसरी हेर्दा नेपालको राजनितिक हिसावमा अहिले सम्म नेपालमा चमार जातिबाट देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना पछि मात्रै राजनैतिक दलहरुले चमार समुदायलाई आफनो पार्टीमा राख्ने गरेको पाईन्छ । जसमा २०६२।६३ सालको जनआन्दोलन पछी भएको सविधान सभाको चुनावमा समानुपातिक सभासद तिन जना संसद भएका थिए । तर उनिहरुलाई राजनितिक दलहरुले आफनो स्वार्थका लागि मात्रै उपयोग गरे ।
नेपालमा दलित समुदायको अधिकार स्थापना, उनिहरुको शिक्षा , स्वास्थ तथा संचार लगाएतका विभिन्न नामबाट बर्षेनी करोडौ रुपैया राज्य तथा विदेशी दातृ निकायहरुले दिने गर्छन । त्यो दलित समुदायका लागि आएको बजेट चमार समुदायका लागि कहिल्यै पनि गएन । समग्र दलितहरुको अधिकार स्थापनाका लागि नेपालमा हजारौको संख्यामा रहेका छन । हजारौ दलित अधिकारबादी सस्थाहरुले पनि करोडौ बजेट सरकार तथा गैरसरकारी सस्थाहरुबाट निकासा गरि आफनो नातेदारतथा आफनो पेट मात्रै भर्ने गरेका छन तर चमार जातिको लागि कहिल्यै पनि अवाज उठाएका छैनन् । चमार समुदाय नेपालका दलित अधिकार बादी सस्थाहरु बाटै सबै भन्दा पहिला विभेद खेप्नु परिरहेको छ । दलित सस्थाहरुमा चमार समुदायको प्रतिनिधित्व एकदमै न्युन रहेको पाईन्छ । यि दलित सस्थाहरुले चमार समुदायबाट एकाध जना राखेपनि पढेलेखेका भनेअहिले सम्म नराखेको पाईन्छ ।
चमार जातिहरुको जनसंख्या पहाडी दलित समुदायको तुलनामा चौथो स्थानमा छ तर उनिहरुको पकड भने न त कुनै राजनैतिक दल ,नत कुनै समाजिक सस्था , नत कुनै मिडिया ,नत कुनै शैक्षिक सघसस्थाहरुमा ज्यादै न्युन रहेको छ । नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायमा चमार जातिलाई दवाएर पहाडका विश्वकर्मा, परियार तथा सार्कीहरुलाई पहिलो प्राथमिकता दिईन्छ तर तराईका दलितहरु मध्ये सबै भन्दा बढी जनसंख्या भएका यो चमार जातिहरुलाई किन पहिलो प्रथमिकता दिईदैन ? नेपालमा तराईकै अन्य दलित जातिहरु जस्तै पासवान दुषाद ,धोबी , पासी, डोम लगाएतहरुलाई राजनितिक दलहरुले उचित ठाउ दिएका हुन्छन तर चमार समुदायका दलित समुदायलाई किन नदिएको ? यो कस्तो जातिय विभेद दलित समुदाय भित्रकै एक यत्रो संख्यामा रहेका चमारलाई किन समाबेश नगराईएको ? राज्यको हरेका अगंमा मधेशीहरुको प्रतिनिधित्व हुन्छ । मधेशीको माग राज्यले छिटटै पुरा गर्छ तर चमार जाति माथि यहि मधेशी ,जनजाति लगाएतका मानिसहरुले जातिय विधेद गर्ने गर्छन तर कहिल्यै पनि चमार जातिको पक्षमा न्याय भएको पाईदैन ।
चमार जातिहरुलाई सबै भन्दा धेरै मधेशी समुदायले नै हेप्नेगरेका हुन्छन ।उनिहरुको जमिन्दारी शासन हुन्छ उनिहरुको विरुद्धमा चमार बोल्यो भने उनिहरुका छोरा छोरीको ज्यान ,अपहराण तथा चमारका छोरी बुहारीहरु मधेशी समुदायकै उच्चबर्ग तथा नेता कार्यकर्ताहरुबाट बलतकृत समेत हुने गर्छन । केही समय यता मधेशका नाममा चोरी डकैति तथा चमार जातिहरु माथि अत्याचार शोषण गर्ने मधेशबादी दलहले तराईका यि चमार जातिहरुलाई मधेशी समुदायका दालित सुचिमा राखेपनि चमार जाति मधेशी नै नभएको प्रस्ट छ तर उनिहरुलाई जबरजस्ती मधेशी घोषणा गरिन्छन तर चमार जातिका अगुवाहरुले स्वीकार कहिल्यै पनि गर्ने छैनन् । नेपालमा हामी चमारहरु तराई मुलका सबै भन्दा पछाडि पारिएको दलित समुदायका हौ , हामीहरु मधेशी हाईनौ यसमा कसैले फेरी पनि मधेशी भन्ने गरेमा त्यसको घोर विरोध समेत गरिने चमार समुदायका अगुवा रामलखन हरिजनको धारणा छ । नेपाललाई सच्चिकै नया नेपाल बनाउने हो भने तराईका यो चमार समुदायलाई पनि राज्यले उचित स्थान दिई प्रत्येक निकायमा समाबेशीको अधारमा समाबेश गर्नु पर्ने हुन्छ । अन्यथा हामी सम्पुर्ण नेपालीहरुले सोचेको नया नेपालको परिकल्पना समेत गर्न गाह्रौ हुने छ ।
नेपालमा चमार जातिहरुलाई जनसंख्याको आधारमा कोटा छुट्याएर जातिय विभेदका विरुद्धमा अवाज उठाई स सम्मानका साथ बाच्न पाउने अधिकारको गयरेनटी गर्न तपाई हामी आजै देखि लाग्नु पर्ने हुन्छ । यसका साथै अब बन्ने नया सविधानमा चमार जातिका लागि आर्थिक ,राजनितिक , शिक्षा र सास्कृतिक, शिक्षा र समाजिक क्षेत्रमा विशेष अधिकारको ब्यवस्थाका साथै समाबेशी रुपमा सहभागिता गर्नुपर्छ । यी विशेष अधिकार तथा समानुपातिक प्रतिनिधित्वले ऐतिहासिक कालदेखि त्रुटिपुर्ण राज्य संरचनाका कारण अत्याचार र विभेदका ब्यवहारमा पिल्सिएका चमार दलित समुदायलाई पुनः स्थापना गराउनमा मद्दत गर्नेछ ।
साभार :- enepalikhabar
No comments:
Post a Comment