झन्डै लगन बितेन - प्रेम नेपाली, शिव शर्मा

पुष्करेश्वर शिव मन्दिरमा नपाएपछि नदीपुरस्थित नारायणस्थानमा बिहे गरेका दम्पती ।
पोखरा, फाल्गुन १६ - मासवारस्थित पुष्करेश्वर शिव मन्दिर पुगेर बुधबारै सोधेका थिए प्रवीण बोहरा (सार्की) ले, 'व्रतबन्ध र बिहे गर्न के गर्नुपर्छ ?' उनलाई सोधियो, 'कुन जात-थर हो ?'

तत्कालै जवाफ दिए, 'बोहरा' । तर बिहीबार मन्दिरमा पुगेका दुलहा-दुलहीले बिहे गर्न पाएनन् । अर्कै मन्दिर खोज्न उनीहरू बाध्य भए । 'बुधबार सोध्दा म बोहरा हुँ भनेपछि व्रतबन्ध पनि गर्नुपर्ने भएकाले सबै कपाल काटेर यो-यो सामान ल्याउनू भनेका थिए,' प्रवीणले सुनाए, 'बिहान सबै सामग्री लिएर पुग्दा जात ढाँटेको भनेर बिहे गर्न दिएनन् ।'

केही स्थानीयलाई देखेर दलित भनी चिनेपछि मन्दिरका मानिसले पन्छाएको आरोप दुलाहाका मामा राजुले लगाए । 'धेरैबेर कुराएर खासखुस गर्दै जात किन ढाँटेको भनेपछि लगन बित्ने भो भनेर हामी अर्कै मन्दिरमा पुग्यौं,' उनले भने । त्यसपछि नदीपुरस्थित नारायणस्थान मन्दिर पुगेर व्रतबन्ध र बिहे गरिएको उनले बताए । पीडितपक्षले बिहीबार साँझ पत्रकार सम्मेलन गरी जातीय भेदभाव गरिएको भन्दै कारबाहीको माग गरेको छ । 'हामीले बुझ्दा पनि जात ढाँटेका रैछन् भनिएको पायौं,' नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष धनबहादुर नेपालीले भने, 'त्यसबाट दलित भनेर मन्दिरमा निषेध गरिएको देखिन्छ ।'

मन्दिर व्यवस्थापन समितिले आरोपको खण्डन गरेको छ । 'शिवरात्रि भएकाले बिहानैदेखि पण्डितहरू ल्याएर रुद्री लगाइएको थियो,' समितिका अध्यक्ष पीताम्बर बरालले भने, 'व्रतबन्ध गर्न अहिल्यै भ्याइँदैन, दुई बजेपछि आउनुहोस् भनेका मात्र हौं । छुवाछूतको मनसायले होइन ।'
-स्रोत: कान्तिपुर

No comments:

Post a Comment