दलित अपांगलाई गर्भवती बनाएर हत्या

चौतारा, माघ  - सिन्धुपाल्चोक लिसंखुकी अपांगलाई गर्भवती बनाएर हत्या गरेको अभियोगमा प्रहरीले तीन दाजुभाइलाई पक्राउ गरेको छ । उनीमाथि ०६९ वैशाखमा ५ महिनाको गर्भ तुहाउन नसकेपछि विष खुवाएर राजधानीमा हत्या गरेको अभियोग लगाइएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४१ वषर्ीय केशव सुन्दास, उनका सहोदर दाजुद्वय ठालु र सुब्बा छन् ।

प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराका अनुसार २८ वषर्ीया दलित अपांगलाई केशवले गर्भवती बनाएका थिए । प्रारम्भिक बयानका अनुसार गर्भ तुहाउन नसकेपछि घटना ढाकछोप गर्न उनीहरूले विष खुवाएर ट्याक्सीमा राखेर नख्खुको झाडीमा फ्याँकेका थिए । प्रहरीका अनुसार गर्भवती भएको थाहा भएपछि ०६९ वैशाख पहिलो साता ती अपांगलाई गाउँलेले केशवको जिम्मा लगाएका थिए । केशवको परिवारले गर्भ तुहाउन त्यही महिना राजधानीको थापाथली अस्पताल भर्ना गरेका थिए । चिकित्सकले ५ महिनाको गर्भ तुहाउन नमिल्ने भनेपछि केशवको छोरा, श्रीमतीसहितले पाटनको एउटा मन्दिरमा छाडेका थिए । त्यहाँ रोहिरहेकी महिलालाई एक्लै देखेपछि ललितपुरको स्थानीय प्रहरीले उनको उद्धार गरेको थियो । भोलिपल्ट केशवको परिवारले फेरि प्रहरीबाट बुझेर गर्भवतीलाई पाटन अस्पताल पुर्‍याएका थिए ।

अभियुक्तहरूले दिएको बयानअनुसार उनीहरूले पाटन अस्पतालबाट गर्भवतीलाई राति घर लैजान भन्दै ट्याक्सी चढाएका थिए । ट्याक्सी चढाउन बाहिर निकालेको अवस्थामा उनीहरूले पेय पदार्थमा धूलो विषादी राखेर खुवाएका थिए । 'ट्याक्सी चढेपछि अपांग महिलाले फिँज काढ्न थालेकी थिइन्,' केशवको भनाइ उद्धृत गर्दै प्रनाउ बोहराले भने, 'नख्खुमा लगेर हाम्रो घर यहीँ पर्छ भन्दै ओरालेका थिए । बिरामी भनेकाले ट्याक्सीवालाले पनि त्यति वास्ता नगरेको बयान उनीहरूले दिएका छन् ।' अभियुक्तहरूमध्ये केशव तीन दिनअघि राजधानीबाट पक्राउ परेका थिए । उनकै बयानका आधारमा दाजुहरू सुब्बा र ठालु पक्राउ परेका हुन् ।

घटनाको १ वर्ष १० महिना बित्न लाग्दा गर्भवती अपांगको यकिन अवस्था थाहा भएको छैन । उनकी आमाले छोरीको खोजी गरेपछि केशव पक्राउ परेका थिए । तीनै जना अभियुक्तलाई ललितपुर प्रहरीमा राखिएको छ ।
- साभार :- कान्तिपुर

No comments:

Post a Comment