दलित कलाकार संघलाई प्रमुख अतिथि खोजीदेखि कार्यक्रम सम्पन्न गर्दासम्म हण्डर

२५ माघ,काठमाडौं । दोस्रो संविधानसभाका दलित सभासदहरुलाई शनिबार गरिएको सम्मान कार्यक्रमका लागि दलित कलाकार संघले १५ दिनअघिदेखि प्रमुख अतिथिको खोजी थालेको थियो । संविधानसभामा प्रतिनिधित्व गर्ने ३७ जना सभासदलाई सम्मान गर्न कलाकार संघका पदाधिकारीले सरकारका प्रमुखलाई प्रमुख अतिथि बनाउन चाहेका थिए ।सम्मान गर्ने कार्यक्रम तय गरेर प्रमुख अतिथिको खोजीमा निस्केकका दलित कलाकार संघका पदाधिकारीले सबैभन्दा पहिले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यालयको ढोका ढक्ढक्याए ।

कार्यक्रमको प्रमुख अतिथि बनिदिन अनुरोधपत्र लिएर अध्यक्ष रेग्मीको सिंहदरबारस्थित कार्यालयमा पुगेका संघका पदाधिकारीले उनको अनुहार पनि देख्न पाएनन् । कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको रस्साकस्सी चलिरहँदा विदाइको तरखरमा रहेका अध्यक्ष रेग्मीको कार्यालयका कर्मचारीले संघका पदाधिकारीको कुरा त सुने तर ब्यस्त भएको भन्दै भेट भने दिएनन् ।

मन्त्रिपरिषद्का अध्यक्षलाई प्रमुख अतिथि बनाउन मनको लड्डु खाँदै पुगेका संघका पदाधिकारी निराश हुँदै  फर्कनुपर्‍यो । ‘राज्यले समेत अपहेलित गरेर पछाडि पारिएका दलित समुदायका सभासदहरुलाई मन्त्रिपरिषद्कै अध्यक्षबाट सम्मानित गर्ने योजनामा थियौं’, दलित संगीत संघका सचिव सन्तोष गन्धर्भले भने, ‘मन्त्रिपरिषद्का अध्यक्षको कार्यालयबाट हाम्रो कुरा अस्वीकृत भएपछि प्रमुख अतिथिको खोजी गर्न झनै गाह्रो भयो ।’

अर्थमन्त्री शंकर कोइरालाको दैलोमा

‘पहिलो गाँसमै ढुंगो’ लागेपछि रन्थनिएका कलाकार संघका पदाधिकारीहरु त्यसपछि प्रमुख अतिथिका लागि विन्तिपत्र हाल्न अर्थमन्त्री शंकर कोइरालाकहाँ पुगे । अध्यक्षले नमाने पनि मन्त्रीले पक्कै मान्ने विश्वासमा पुगेका कलाकार संघका पदाधिकारीको कुरा अर्थ मन्त्रालयको दैलो पनि पार गर्न पाएन ।

अर्थ मन्त्रालयका कर्मचारीले ‘मन्त्रीज्यूलाई भ्याईनभ्याई छ, तपाईंहरुको कार्यक्रममा आउन सक्नुहुन्न’ भनेपछि संगीत संघका पदाधिकारीले प्रमुख अतिथि खोजीका लागि तेस्रो व्यक्तिको ढोका ढक्ढक्याउनुपर्ने बाध्यता आइलाग्यो ।‘सम्मान कार्यक्रममा गैह्रराजनीतिक व्यक्तिलाई प्रमुख अतिथि बनाउने हाम्रो योजना दुई ठाउँबाटै अस्वीकृत भएपछि राजनीतिक नेताको खोजीमा लाग्यौं’, सचिव गन्धर्वले भने, ‘राजनीतिक दलका नेताले पनि हामीलाई ‘छुवाछुत’ कै व्यवहार गरे ।

मन्त्रीले नटेरेपछि नेताका घरमा

मन्त्रिपरिषद्का पदाधिकारीले नपत्याएपछि कलाकार संघका पदाधिकारी ठूलो अपेक्षासहित कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काको घरमा पुगे । सह-महामन्त्री खड्का पक्कै प्रमुख अतिथि बन्नेछन् भन्ने आशमा पुगेका दलित अगुवालाई खड्काले पनि नभ्याउने जवाफ दिएर खाली हात पर्काए ।

मन्त्रिपरिषद्का प्रमुखदेखि नेताले सम्म निराश पारेपछि प्रमुख अतिथि खोज्न दलित कलाकार संघका सदस्यलाई संकटमा पार्‍यो । तीन ठाउँबाट निराश बनेर फर्कनुपरेपछि उनीहरु प्रमुख अतिथि बनिदिन आग्रह गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमकहाँ पुगे ।कार्यक्रमबारे बुझाएपछि केपी ओलीसँगको समीकरणमा मन्त्री बन्ने तयारीमा रहेका गौतमले प्रमुख अतिथि बन्ने प्रस्ताव स्वीकारे । उपाध्यक्ष गौतमले प्रमुख अतिथिको प्रस्ताव स्वीकारे पनि कलाकार संघका पदाधिकारीको तनाव भने हटेको थिएन ।

प्रमाणपत्रमा सही गरेर आएनन् रायमाझी

वामदेव गौतमलाई प्रमुख अतिथिको टुंगो गरेपछि विशिष्ठ अतिथिको खोजीमा निस्केका दलित अगुवाहरु एकीकृत माओवादीका नेता टोपबहादुर रायमाझीकहाँ पुगे । कार्यक्रमको महत्व बताएपछि रायमाझीले कार्यक्रमको विशिष्ठ अतिथि बन्न सहमति जनाए ।विशिष्ठ अतिथि बन्ने सहमति जनाएका रायमाझीले कलाकार संघले तयार गरेको सभासद सम्मान प्रमाणपत्रमा विशिष्ठ अतिथिको तर्फबाट हस्ताक्षर पनि गर्न भ्याए । प्रमाणपत्रमा हस्ताक्षर गरिसकेपछि रायमाझीले वामदेव गौतम प्रमुख अतिथि बन्ने थाहा पाएर अन्तिम समयमा कार्यक्रममा आउन माननेन् ।‘आफूभन्दा तल्लो तहका भन्दै एमाले उपाध्यक्ष गौतमलाई प्रमुख अतिथि बनाउने थाहा पाएपछि रायमाझीले कार्यक्रममा आउँदिन भन्नुभयो’, दलित कलाकार संघका एक सदस्यले भने, ‘तय भइसकेको कार्यक्रममा आइदिनुपर्‍यो भन्दा पनि उहाँले मान्दैमान्नु भएन ।’

सम्मान थाप्न आधा पनि आएनन् सभासद

मैतिदेबीस्थित बोटल्स पार्टी प्यालेसमा शनिबार बिहान ९ बजेका लागि तय गरिएको कार्यक्रम मध्यान्ह साढे १२ बजे कार्यक्रमका प्रमुख अतिथि वामदेव गौतम आएपछिमात्रै शुरु भयो ।सबै दलका सभासदलाई सम्मान गर्न प्रमाणपत्र समेत तयार गरेर राखिएको कार्यक्रममा कांग्रेसका  सभासद उपस्थित भएनन् भने एमालेका केही र एमाओवादीका एकजना उपस्थित भए, त्यसैगरी मालेका एकजना उपस्थित थिए । कार्यक्रममा मधेसी दलका सभासद उपस्थित थिएनन् । ३७ जनामध्ये १३ जनामात्रै सभासद उपस्थित भए ।

‘एमाओवादी र मधेसी दलका सभासद नआएपछि उहाँहरुको प्रमाणपत्र पढेर राख्यौं’, दलित संगीत संघका सचिव गन्धर्वले भने, ‘प्रमुख अतिथि खोजीदेखि कार्यक्रम सम्पन्न गर्दासम्म हण्डर खाँदा-खाँदा हेपिएको महसुस गर्नुपर्‍यो ।’
साभार :- अँन लाइन खबर

No comments:

Post a Comment