सानुकान्छा नेपालीले मदिराले मातेर घरमै आगो लगाए

२०७० फागुन ५, काठमाडौं : नवीना नेपाली तीन महिनाकी गर्भवती हुन्। यस्तो बेला पतिबाट सबैभन्दा धेरै माया पाउनुपर्ने हो। तर पति सानुकान्छा नेपाली भने दिनहुँ मदिरा सेवन गरेर अबेर घर आइपुग्छन्। नवीनालाई नानाथरी लाञ्छना लगाउँदै कुटपिट गर्छन्। २५ वर्षीया नवीनाले पतिको पटकपटकको दुर्व्यवहार सहँदै आएकी थिइन्।तर आइतबार सधैं झैँ मदिरा सेवन गरेर आएका सानुकान्छाले घरमै आगो लगाए। मदिराकै विषयमा विवाद भइरहँदा मातेका सानुकान्छाले नवीनालाई 'मार्छु' भन्दै कोठामा आगो लगाए। उनले आफू पनि सोही कोठामा भएको पत्तोसमेत पाएनन्।

'रक्सीले बेहोसजस्तै रहेका उनले आगो लगाएको समेत पत्तो पाएनछन्', महानगरीय प्रहरी वृत्त बालाजुकी प्रमुख डीएसपी गंगा पन्तले भनिन्। धर्मस्थली पैयुँटारमा रहेको नेपालीको घरमा आगलागी भएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी घटनास्थल पुगेर आगो निभाएका थिए। आगोले नवीनाको निधार पोलेको छ भने घटनापछि उनी निकै डराएकी पन्तले बताइन्। आगोले घरका सरसामान जलेर नष्ट भएका छन्।

प्रहरीले घटनापछि सानुकान्छालाई पक्राउ गरेको थियो। वृत्तले सोमबार सानुकान्छाविरुद्ध मुद्दा चलाउने तयारी गर्दा उनै नवीना तयार भइनन्। 'छाडेर अलग्गै बस्छु, तर मुद्दा नचलाइदिनुस्', नवीनालाई उद्धृत गर्दै पन्तले भनिन्। प्रहरीले २ घन्टास म नवीनालाई सम्झाउँदासमेत उनी पतिलाई कारबाही गर्ने पक्षमा तयार भइनन्। 'हामीले निकै सम्झायौं, तर उनले मानिनन्, भोलि कुनै अप्रिय घटना भए को जिम्मेवार हुने', डीएसपी पन्तले भनिन्।

वृत्तका अनुसार त्यस क्षेत्रमा अन्यको तुलनामा महिला हिंसाका घटना बढी हुने गरेका छन्। धर्मस्थली, मनमैजु र काभ्रेस्थलीबाट घरेलु हिंसाका घटनाका उजुरी धेरै आउने गरेका छन्। प्रहरीमा उजुरी परे पनि कारबाही चलाउनुअघि नै मिलापत्रमा टुंगिने गरेको पन्तले बताइन्। 'दिनहुँजसो उजुरी त आउँछन्, तर कारबाहीअघि नै मिलापत्र गर्छन्', उनले भनिन्।

No comments:

Post a Comment