मैना सुनारको गैरन्यायिक हत्या भएको १० बर्ष भयो

भोजराज तिमल्सिना(इन्सेक ) ०७० फागुन ५ गते, काभ्रे । सशस्त्र द्वन्द्वका समयमा सरकारी सेनाद्वारा गैरन्यायिक हत्या गरिएकी काभ्रेकी मैना सुनारको ०७० फागुन ५ गते काभ्रेमा आयोजित दशौँ स्मृति सभामा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त तथा इन्सेकका संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले आरोपितहरूलाई अझै नागरिक अदालतमा नपठाइएकोमा दुखः व्यक्त गरे । प्याकुरेलले सर्वोच्च अदालतले दोषी ठहर गरेका बालकृष्ण ढुङ्गेललाई सभासद् बनाउनु र नेपाली सेनाले आरोपितहरूलाई नागरिक अदालतमा नपठाउनु कानुनी शासनको उपहास भएको बताए ।
मैना सुनारले अध्ययन गरेको भगवती माविको प्राङ्गणमा आयोजित सभामा बोल्दै काभ्रेका निर्वाचित सभासद् रामहरी सुवेदीले यति लामो समयसम्म सत्य निरुपण तथा मेलमिलाप आयोग नबन्नु पीडितहरूलाई अझै पीडा दिनु भएको बताए । सशस्त्र द्वन्द्वबाट सरकारमा पुगेको एमाओवादीले पीडितहरूका सवालमा खासै चासो नदिएको भनी उनले असन्तोष जनाए । कार्यक्रममा पत्रकार कनकमणी दीक्षितले नेपाल कानुनी शासन जवाफदेही बन्न सकोस् भन्दै न्यायका लागि पीडितहरूको संर्घष महत्वपूर्ण रहेको बताए ।खरेलथोक गाविस-६ कटुञ्जे घर भएकी १५ वर्षीया मैना सुनारलाई ०६० फागुन ५ गते सरकारी सेनाको एक टोलीले घरबाटै गिरफ्तार गरी पाँचखाल व्यारेकमा लगि यातना दिएर सोही दिन हत्या गरेको थियो । सेनाले पाँचखाल गाविस-६ स्थित व्यारेकनजिकै खोल्सामा उनको लाश गाडेको अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगले उत्खनन् गरेको थियो ।
 घटनाका विषयमा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा निकै चासो बढे पनि हालसम्म दोषीहरूलाई नेपाली सेनाले नागरिक अदालतमा बुझाएको छैन ।मैनाकी आमा देवी सुनारको अध्यक्षतामा भएको कार्यक्रममा एशियन मानवअधिकार आयोगका बासिल फनाल्डो, मानवअधिकारकर्मी मन्दिरा शर्मा, शोभाकर बुढाथोकी, इन्सेकका मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतम, सिविनका सागर भण्डारी, जवाफदेही निगरानी समितिका यज्ञ थापा, एड्भोकेसी फोरमकी कोपिला अधिकारी, द्वन्द्वपीडित समाजका जनक राउत, ज्ञानेन्द्रराज आरण, सावित्री श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनका बाबुराम थापाले हत्याका आरोपितहरूलाई नागरिक अदालतमा ल्याउनका लागि जोड दिए । जवाफदेही निगरानी समिति र मैना बालविकास समितिको आयोजनामा कार्यक्रम भएको थियो ।

No comments:

Post a Comment