संविधानसभाको २६ सिटमा गन्धर्व समुदायको प्रतिनिधित्वको माग

काठमाडौँ, ५ फागुन । संविधानसभामा छुट्याइएको २६ सिटमा गन्धर्व सङ्घर्ष समितिले गन्धर्व समुदायको प्रतिनिधित्वको माग गरेको  छ ।आज यहाँ आयोजित साक्षात्कारमा विभिन्न २२ जिल्लामा ५० हजारभन्दा बढीको सङ्ख्यामा रहेका गन्धर्व जातिले नयाँ संविधानमा गन्धर्व समुदायको पहिचानको ग्यारेन्टी गर्नुपर्ने, राष्ट्रिय बाजाको रुपमा परिचित गन्धर्व समुदायको सारङ्गी बाजाको संरक्षण तथा उनीहरुको पेसाको आधुनिकीकरण गर्नुपर्ने अल्पसङ्ख्यक भूमिहीन गन्धर्व जातिलाई घरखेतको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
समितिले सारङ्गी बाजा सङ्कटमा परेकाले सारङ्गी सङ्ग्रहालय स्थापना गर्नुपर्ने, राज्यले गन्धर्वका समस्या पहिचान गरी छुट्टै बजेटको व्यवस्था गरी राहत दिनुपर्ने तथा गन्धर्व विकास वोर्ड स्थापना गर्नुपर्ने माग गरेको छ ।महाभारतमा गन्धर्व जातिले गन्धर्व राज्य चलाएको उल्लेख भएको तथा श्री स्वस्थानीमा पनि गन्धर्वको विशेष उल्लेख भएकाले गन्धर्व जातिको ऐतिहासिकरुपमा ठूलो महत्व रहेको समितिले जनाएको छ ।
त्यस अवसरमा समितिका संयोजक पूर्णबहादुर गन्धर्वले हिन्दू ब्राह्मणवादी संरचना भएको नेपालमा गन्धर्व जातिलाई समान अधिकार नदिइ शोषण गरिएको बताउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियानमा सारङ्गीको माध्यमबाट त्यतिबेला सञ्चारकर्मीको जस्तो महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि इतिहासमा आफूहरुलाई कदर नगरिएको गुनासो गर्नुभयो ।
गन्धर्व सुधार समाजका उपाध्यक्ष चित्रसिंह गन्धर्वले जयस्थिति मल्लको समाज सुधार कार्यक्रमपछि प्राचीन इतिहास बोकेको गन्धर्व जातिलाई अपहेलित अवस्थामा पु¥याएको बताउनुभयो ।राष्ट्रिय गन्धर्व जागरण समाजका केन्द्रीय अध्यक्ष मानबहादुर वैदारले गन्धर्व जातिको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थालाई पहिलो प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।

No comments:

Post a Comment