मन्त्री मण्डलमा दलित समावेश नगरिएकोप्रति नागरिक समाजको भत्र्सना

महावीर विश्वकर्मा, काठमाण्डौ, १४ फागुन ।वर्तमान मन्त्री मण्डलमा दलितलाई समावेश नगराइएको प्रति दलित नागरिक समाजले सर्वोच्चमा रिट दायर गर्ने संकेत गरेको छ ।
मन्त्री मण्डलमा विस्तार गर्दा दलित समावेश नगरिएकोप्रति भत्र्सना गर्दै सो को विरोधमा सर्वोच्चमा रिट दायर गर्ने विषयमा छलफल गर्ने दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले बताउनुभएको हो । दलित नागरिक समाजले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारको यो कदमले करीब ५० लाख दलित समुदायलाई मर्माहत बनाएको भन्दै सर्वोच्चमा रिट दायर गर्ने विषयमा अधिवक्ताहरुसँग छलफल गरेर अगाडी बढ्ने उहाँले जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा दलित महिला संघका अध्यक्ष दुर्गा सोबले सरकारले मन्त्री मण्डलमा दलितलाई समावेश नगर्नु भनेको जातीय विभेद कै नमुना भएकोमा जोड दिनुभयो । उहाँले व्यंग्य गर्दै भन्नुभयो, “दलितले छुन्छन् भनेर मन्त्री मण्डलमा नपारिएको होला ।”
समावेशी राज्यको सिद्दान्त विपरीत देशका प्रमुख राजनीतिक दलहरुको दलित समुदायलाई हेर्ने दृष्टिकोण ब्राह्मणवादी सोँच र चिन्तनबाट ग्रसित भएको प्रष्ट भएको भन्दै दलित नागरिक समाजले भत्र्सना गरेको हो ।
पछिल्ला राजनीतिक घटनाहरुको प्रवृत्तिलाई मुल्यांकन गर्दा अन्तरिम संविधानको मर्मलाई नै लत्याउँदै राजनीतिक दलहरुले दलित समुदायको प्रतिनिधित्वलाई कम प्राथमिकता दिई हरेक मन्त्रीमण्डलमा उपेक्षा गर्दै आइरहेको समाजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
स्रोत :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment