सभासदहरु कमला विश्वकर्मा र दुलारी हरिजनलाई सम्मान

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौं, २४ माघ ।
जागरण मिडिया सेन्टरले संविधान सभाका सभासद रहनुभएका आफ्ना कार्यसमितिका उपाध्यक्ष र सदस्यलाई सम्मान गरेको छ । सेन्टरले आज काठमाण्डौंको वुद्धनगरस्थित आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सभासदहरु कमला विश्वकर्मा र दुलारी हरिजनलाई सम्मान गरेको हो । विश्वकर्मा जागरण मिडिया सेन्टरको उपाध्यक्ष र हरिजन सदस्य हुनुहुन्छ । उहाँहरु दुवै जना समानुपातिक तर्फबाट सभासद चयन हुनुभएको हो । विश्वकर्मालाई नेकपा माले र हरिजनलाई एनेकपा माओवादीले सभासद चयन गरेको हो ।
सम्मान ग्रहण गर्दै सभासद कमला विश्वकर्माले आफु जागरण मिडिया सेन्टरको शुरुमा सदस्य, त्यसपछि सचिव र पछि उपाध्यक्ष भएको भन्दै अहिले सभासदसम्म हुनसक्नुको श्रेय पनि जागरणलाई नै दिनुभयो । साथै दलितको मुद्दा उठाउनका लागि संविधान सभामा आफ्नो भौतिक उपस्थितिलाई समग्र जागरण मिडिया सेन्टरकै उपस्थितिको रुपमा आफुले लिएको पनि उहाँले थप्नुभयो ।
त्यस्तै सभासद दुलारी हरिजनले संविधान निर्माण प्रक्रियाबाट दलितका अधिकार सुनिश्चत गर्नका लागि आफु सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
जागरण मिडिया सेन्टरका सल्लाहकार एवम् समता फाउण्डेशनका अध्यक्ष पदम सुन्दासले अघिल्लो संविधान सभाले सुनिश्चित गरेका दलितका अधिकारहरुमा त्यमाथी पनि थप अधिकार सुनिश्चत गर्न उहाँहरुलाई शुभकामना दिनुभयो । अहिले दलित शब्द खारेज अभियान भनेर अत्यन्तै षडयन्त्रपूर्ण तवरले केही व्यक्तिहरुले अभियान चलाएको कुरा उठाउँदै उहाँले भन्नुभयो, “जब जब दलित अधिकार सुनिश्चत हुने स्थिति आउँछ तब हामी भित्रैबाट यस्ता क्रियाकलाप हुने गर्दछ, संविधान भित्र पनि यस्ता कुरा उठ्न सक्छ । तर दलित हाम्रो पहिचान हो, पहिचान किटान नभएसम्म हामीले अधिकार प्राप्त गर्न सक्दैनौँ । त्यसका लागि तपाईँहरु सचेत भइदिनुहोला ।”
जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले उहाँहरुलाई वधाई दिँदै उहाँले पार्टीभन्दा माथी उठेर समग्र दलित समुदायलाई न्याय दिलाउन अग्रसर रहन उहाँहरुलाई आग्रह गर्नुभयो । साथै उहाँले जागरण मिडिया सेन्टरको सहयोग सदैव उहाँहरुलाई भइरहने प्रतिबद्धता जनाउनुभयो ।
जागरण मिडिया सेन्टरका निर्देशक समिर घिमिरेले उहाँहरुको सफल कार्यकालको कामना गर्दै आफ्ना कार्यसमितिका २ जना सभासद हुँदा आफुहरु निकै नै उत्साह मिलेको विचार राख्नुभयो ।
साभार :- जागरण मिडिया

No comments:

Post a Comment