दलित भनेर मन्दिरमा बिहे गर्न दिएनन्’

केशव लामिछाने
पोखरा-
दलित भएकै कारण एक जोडी प्रेमीप्रेमिका पोखराको एउटा मन्दिरमा बिहे गर्नबाट वञ्चित भएका छन्। बाग्लुङका प्रवीण बोहोरा, उनकी प्रेमिका र उनीहरूका जन्तीलाई पोखरा–७ मासबारको शिव मन्दिरमा बिहीबार रोक लगाइएको हो।
‘दलित भएकैले प्रवेश नदिएपछि अर्कै मन्दिरमा जान बाध्य भयौं,’ बेहुला प्रवीणका मामा राजु बसेलले भने। दुई दिनअघि पुजारी देवीप्रसाद पौडेलसँग अनुमति लिएअनुसार बिहीबार बिहान ८ बजे बिहे गर्न जाँदा शिव मन्दिरका अर्का पुजारी र मन्दिर सञ्चालक समितिका अध्यक्ष पीताम्बर बरालले रोकेको उनले बताए। त्यसपछि बाजागाजा र जन्तीसहित नदीपुरको नारायणस्थान मन्दिर पुगेर बिहे गराएको उनले जानकारी दिए।
बसेलका अनुसार जन्त गएका दलित समुदायका स्थानीयलाई चिनेपछि मन्दिर छिर्न नदिइएको हो। ‘दुई दिनअघि नै सल्लाह भएअनुसार बिहान आठै बजे पुगेका थियौं,’ उनले भने, ‘तपाईंहरूले त जात ढाँट्नुभएछ भन्दै दिउँसो २ बजेसम्म पर्खनुपर्छ भनेर तर्काउन खोजे।’ बेहुलाको ब्रतबन्धसमेत गर्नुपर्ने भएकाले पहिला आफ्नो काम फत्ते गर्ने उद्देश्यले त्यहाँबाट अर्काे मन्दिरमा गएको उनले बताए।
‘मन्दिरमा प्रहरी पनि थिए, उनीहरूलाई गुनासो सुनायौं। उल्टै विवाद बढ्छ, झगडा हुन्छ, बरु अन्तै जानोस् भन्ने अनुरोध गरे,’ बसेलले भने, ‘त्यसपछि शिव मन्दिरमा बिहे सम्भव देखेनौं, बाध्य भएर अन्त जानुपर्यो।’ बीस वर्षे प्रवीणको पर्वतको कुस्माकी युवतीसँग बिहे तय भएको थियो। प्रवीणका अनुसार मन्दिरका पुजारीसँग ब्रतबन्ध, बिहे प्रक्रिया र आवश्यक सामग्रीबारे छलफल भएको थियो। ‘चाहिनेजति सामान किन्न पहिल्यै पुजारीलाई पैसा दिएका थियौं, तर बिहेको दिन जाँदा त मन्दिर छिर्नै दिएनन्,’ उनले भने, ‘यहाँ रुद्री पूजा चलिरहेको भन्दै बाजा टोलीलाई पनि रोके।’
टुहुरा प्रवीण मामा राजुको अभिभावकत्वमा पोखराको मासबार बस्दै आएका छन्। मामाले नै भान्जाले मन पराएकी केटीसँग बिहे पक्का गरेको उनले बताए। मोटरसाइकलको रिकन्डिसन हाउस चलाइरहेका उनले दलित भएकै कारण मन्दिरमा बिहे गर्न नपाउँदा दुःख लागेको सुनाए। उनका मामाले न्यायका लागि कानुनी बाटो रोज्ने बताएका छन्।
स्थानीय राजनीतिकर्मी धनबहादुर नेपालीले मन्दिरमा रोकावटको घटना जातीय छुवाछूत कसुर र सजाय ऐन २०६८ विपरीत रहेको भन्दै कानुनी उपचार खोज्नैपर्ने बताए। ‘यस्तो प्रकारको जातीय हिंसा हुनुले लोकतन्त्र, सामाजिक न्याय र मानवअधिकार हनन् भएको छ,’ उनले भने।
यसअघि जातीय छुवाछूतका आधारमा गाउँलेबाट मोसो लगाएर कुटपिट गरिएका घान्द्रुक गाउँका शिक्षक कर्णबहादुर नेपालीले क्षतिपूर्ति पाएका थिए। जातीय विभेदविरुद्धको मुद्दामा जिल्ला अदालत कास्कीले माघ २५ गते उनलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो।
जातीय विभेद तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बनेपछि त्यसअनुसार न्याय पाउनेमध्येका पछिल्लो उदाहरण कर्णबहादुर बनेका थिए। प्रवीणमाथि मन्दिरमा भएको छुवाछूतको व्यवहारलाई पनि कर्णबहादुरको झैं न्यायालय पुर्याहएर क्षतिपूर्ति दिलाउने अठोट दलित अधिकारकर्मीले गरेका छन्।
(स्रोतःनागरिक दैनिक)

No comments:

Post a Comment