सल्यानकोट गाविसका दलित महिलाहरु शव बोकेर मलामी गए

२०७० फागुन ५, गजुरी (धादिङ) : महिला पनि पुरुषभन्दा केही कम छैनन् भन्ने उदाहरण सल्यानकोट गाउँ विकास समिति वडा नं ५ र ३ वडाका दलित महिलाले प्रष्ट पारेका छन्।पुरुषले सधैँ महिलाले केही पनि गर्न सक्दैनन् भन्ने कुराको ती महिलाले झुट्टो सावित गरिदिएका छन्। मानिस मरेपछि शवलाई छुन हुँदैन भन्ने मान्यतालाई तोड्दै आइतबार सल्यानकोट गाउँ विकास समितिका दलित महिलाहरु शव बोकेर मलामी गएका छन्।

विभिन्न सञ्चारमाध्यममा महिलाहरु मलामी गएका कुरा सुन्दै आएपनि धादिङका लागि भने यो पहिलो घटना हो। सल्यानकोट गाउँ विकास समिति वडा नं ५ निवासी कृष्णबहादुर नेपालीको मृत्युमा ती महिलाहरु पुरुषसरह दाहसंस्कार कार्यमा सहभागी भएका हुन्।

महिलाले बोकेको शव हेर्न स्थानीय बासिन्दाको भिड नै लागेको थियो। राज्यमा महिला हक अधिकारका कुरा उठिरहँदा सल्यानकोटका दलित महिलाहरुले अधिकारसँगै कर्तव्यप्रति पनि सजग भएको देखाएका छन्।आँखुखोलामा गरिएको दाह संस्कार कार्यमा पुरुषसरह सहभागी भई महिलाले पुरुषभन्दा महिला पनि कुनै काममा कमी नभएको पुष्टि गरेका हुन्।

No comments:

Post a Comment