विख्यात,
अमेरिकी गायक बब मार्ली काला जातिका थिए र उनी सदियौँसम्म गोरा जातिका
अनेक उत्पीडन र अन्यायमा परेकालाई लड्न हौस्याउँथे आफ्नो जादुमय कलाको
माध्यमले।उनको ‘गेट अप, स्ट्यान्ड अप, स्ट्यान्ड अप
फर योर राइट’ (उठ, उठ, तिम्रो अधिकारका लागि उठ) बोलको गीत अझै लोकप्रिय छ।
यसले हाम्रै कर्णप्रिय ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ भन्नेे
क्रान्तिकारी गीतको झ–झल्को दिन्छ। हुन त माओवादी क्रान्तिको असफल
प्रयोगपछि क्रान्तिका गीतको मौसम सकिएको जस्तो देखिन्छ तर कुरो त्यसो होइन।
आफ्नो अधिकारका निम्ति आजै, अहिल्यै जुर्मुराएर उठ्नुपर्ने दलित, जनजाति,
महिला, मुस्लिमलगायत्का हामी कति छौं कति। शाहवंशीय तानाशाही हिन्दु
राजतन्त्र अन्त्य भएको आजको नेपालमा सामाजिक, आर्थिक क्रान्ति डल्लै बाँकी
छन्। जति छिटो हामी उठ्यौँ त्यति छिटो परम्परागत अन्याय अन्त्य हुनेछ।
सबैभन्दा अन्याय, अत्याचार र अपमानमा परेका दलित हुन्। यो नेपाल, भारत र
लगभग सम्पूर्ण दक्षिण एसियाको पीडा हो, जसको कारण दलितहरू
प्रत्यक्ष/परोक्ष हेपाइ र अपमान सहन बाध्य छन्। यो कुरा अन्यले जस्तै दलित
बुद्धिजीवी तथा जवहारलाल नेहरु विश्वविद्यालयका प्रोफेसर गोपाल गुरुले
आफ्नो पछिल्लो पुस्तक ‘ह्युमिलिएसन’ मा गतिलो तरिकाले प्रस्तुत गरेका छन्।
हाम्रो देशमा पनि शायद गैरसरकारी संस्थाहरूले आफ्ना प्रोजेक्ट रिपोर्टमा त
दलितका अवस्थाबारे धेरै लेखेका होलान् तर गतिला मानवशास्त्रीय
अध्ययन/अनुसन्धान भने अत्यन्तै न्युन मात्रामा भएका छन्। हाम्रा
बुद्धिजीवीले पनि जति सक्थे त्यति ध्यान दिएका छैनन्।
परन्तु, कमसेकम केही कलाकारले भने बिनाकुनै स्वार्थ सामाजिक परिवर्तनका
पक्षमा, जातीय छुवाछुतविरुद्ध फिल्म बनाएका छन्, गीत गाएका छन्। हुन त दलित
जातिका धेरै प्रतिभाशाली गायक, संगीतकार, कलाकार छन् तर कतिले आफ्नो जात
पनि अलिक लुकाउन खोजेको जस्तो देखिन्छ, क्रान्तिका निम्ति जुझारु हुन त परै
जाओस्। तर यस कुमार जस्ता मानिसले जातीय उत्पीडनको विषयका फिल्म बनाएर
समाजलाई ठूलो गुन लगाएका छन्, जसको हामी सबैले उच्च मूल्यांकन गर्नुपर्छ।
त्यस्तै उच्च मूल्यांकन गर्नैपर्ने लोकप्रिय गायक हुन् राजु परियार जसको
केही अघिसम्म नेपाली लोकगीतको क्षेत्रमा ठूलो प्रभाव थियो। लमजुङको एक
पहाडी कुनामा, एक गरिब परिवारमा जन्मेका यी प्रतिभाले नेपालका लाखौँ
स्रोताको मन जित्न सफल भएका छन्। अरु जस्तो उनले न आफ्नो जात लुकाए, न
घमण्ड गर्न जाने। त्यत्रो चर्चा र प्रसिद्धि भए पनि उनले आफ्नो वा आफ्ना
दाजुभाइ/दिदीबहिनीको धरातल बिर्सेनन्। उनीहरूले दैनिक भोग्दै आएको उत्पीडन
बिर्सेनन् र केही अत्यन्तै क्रान्तिकारी गीत गाए छुवाछुतको विरोधमा। उनले
कृष्ण परियारको साथ गाएको सुपर हिट ‘रुमाल धोको छु’ बोलको गीत जति
क्रान्तिकारी बब मार्लीको पनि छैन। गीतले भन्छ– यो खोलीको पानी नखाउ किनकि
मैले छोएको छु, मेरो बाउले थुक लगाएर सिएको कपडा होइन, पात लगाउ, सास पनि
नफेर किनकि यसमा मेरो पनि सास मिस्सिएको छ। हेर्नोस् त, जातिभेद कति
अवैज्ञानिक, अविवेकी र अप्राकृतिक छ भन्नेे कुरा कति सटिक तरिकाले प्रस्तुत
गरिएको छ यहाँ!
मानिसले मानिसलाई अछुत व्यवहार गर्न कतिसम्म सम्भव छ? यो सबै शासकले
आफ्नो फाइदाका निम्ति निर्माण गरेको अप्राकृतिक पर्खालमात्र होइन र? यो
बर्लिनको पर्खाल नभत्काउन्जेल आफ्नाले आफ्नालाई हेपिरहने, चेपिरहने चलन
अन्त्य हुन्न भन्नेे सन्देश यो मर्मस्पर्शी गीतले दिन्छ। अहिले भकारी
भरिएका छन्, शुभविवाहको मौसम छ। मानव जातिको निरन्तरताका निम्ति लोग्ने र
स्वास्नी मानिस लगनगाँठोमा बाँधिनुपर्छ। यसको सन्देश गाउँघर, सहरबजार
घन्किएका पञ्चै बाजाले दिएका छन्। त्यत्रो ठूलो अभ्यास नचाहिने, माइक्रोफोन
प्रयोग नगर्दा पनि टाढासम्म प्रष्ट सुनिने र बाल–वृद्ध सबैलाई नाचौंनाचौं
बनाउने कति सुन्दर छ, सुरिलो छ पञ्चै बाजाको धून। शायद यही कुरा मनन गरेर
संस्थागतरूपमा, लोकलाजको कुनै प्रवाह नगरी पुन मगरहरुले आफैं पञ्चै र नौमती
बाजा बडो सानका साथ बजाउन थालेका छन्। यो मैले पोखरा र नेपालका अन्य
ठाउँमा मात्र होइन बेलायतमा पनि देखेको छु। यो धेरै सराहनीय कार्य हो
लोकबाजाको संरक्षणका निम्ति।
पञ्चै बाजा भनेको राष्ट्रिय बाजा हो। कलाकारिताको, गीतसंगीतको कुनै जात
हुन्न, धर्म हुन्न। यसलाई जसले सिके पनि हुन्छ, जसले बजाए पनि हुन्छ तर
हाम्रो जस्तो अर्धसामन्ती समाजमा निश्चित जातिले मात्रै बजाउनुपर्छ भन्नेे
धारणा राखिन्छ। त्यतिमात्र होइन, धून मन पराइन्छ, धून बजाउने कलाकारलाई भने
हेपिन्छ, चेपिन्छ। अझै पनि कति भोजभतेर, बिहेबर्तुनमा झुक्केर बाजा
बजाउनेहरूले भान्छा छोए भने कुटाई र गालीगलौज खान्छन्, बाजा भाँचिन्छन्। यो
कलाकारलाई जनावरभन्दा तल्लो ठान्नेे परम्परा हामी एक्काइसौँ सदीका मानिसले
त्याग्दै जानुपर्ने होइन र? शायद पुन मगरहरुले बाजा बजाउन नपाएर होइन यो
सन्देश दिन पो पञ्चै बाजा बजाउन थालेका हुन् कि?
यस्तै अन्यायअत्याचारका कारण धेरै दमाईँ जातिका कलाकारले बाजा बजाउनै
छाडेका छन्। आफ्नो सिप र कला प्रयोग गरी सारालाई नचाउने, हँसाउने, अत्याधिक
मनोरञ्जन दिने मानिस आफैँ साराको अगाडि अपमानित हुनुपरेपछि कसले त्यो काम
गर्छ? हामीले लोकबाजा नमासियोस्, यसलाई अझ वैज्ञानिक र परिमार्जित गर्दै
लान सकियोस् र हाम्रा मौलिक संस्कृतिको जगेर्ना होस् भन्नेे हो भने आजैदेखि
पञ्चै बाजामात्र होइन ती बाजा बजाउने सिपका धनी कलाकारको पनि इज्जत,
सम्मान गर्न सिकौं। अबदेखि उनीहरूलाई छुट्टै राखेर खुवाउने नगरौं कमसेकम।
यसरी हामी सभ्यताको उन्नत मार्गमा अगाडि बढ्न सक्छौं। होइन भने हाम्रो
समाज, संस्कृति, सभ्यता, राष्ट्र युगौंसम्म पछाडि परिरहने छन्।
अचेल लोकगीत, लोकबाजाको लोकप्रियता शिखरमा छ। यो राम्रो कुरा हो।
प्रत्येक महिना नयाँनयाँ गीत/संगीत बजारमा आउँछन् र देश/विदेशका नेपालीले
भरपुर मनोरञ्जन पाउँछन् तर कलाकरिता केवल नाम र दाम कमाउने माध्यममात्र
पक्कै होइनन्। कलकारहरूले राजु परियारले जस्तै सामाजिक परिवर्तनका निम्ति
सशक्त आवाज बुलन्द गर्न सक्छन्, गर्नुपर्छ। र, हामी संगीत पारखीले केवल
कलाको मात्र होइन, कलाकारको पनि इज्जत गर्न सिक्नुपर्छ, चाहे ती परम्परागत
संगीतकार, गायक किन नहुन्। गाइनेले रेटेको सारंगीको धून प्यारो तर त्यो
रेट्ने हातचाहिँ अछुत कसरी सम्भव हुन्छ? अब त अलिकति मानवीय विवेक प्रयोग
गर्ने हो कि?
साभार: - नागरिक
No comments:
Post a Comment