अन्तरजातीय जोडीले 'प्रोत्साहन’ पाएनन्

काँकडभिट्टा, फाल्गुन १४ - अन्तरजातीय विवाह गर्ने झापाका जोडीले प्रोत्साहन रकम पाएका छ्रैनन् । तीमध्ये मेचीनगर १० का दीपेन्द्र दर्जी र विनिता खड्का पनि हुन् । उनीहरूले दर्जनौंपटक जिल्ला प्रशासन धाइसक्दा पनि रकम नपाएको गुनासो गरे ।

'पैसा आएपछि केही व्यवसाय गर्ने सोच थियो,' मेचीनगरका विकास घिमिरेले भने्, 'रकम पाउन सकिएन ।' प्रोत्साहन रकम माग गर्दै प्रशासन कार्यालयमा निवेदनको चाङ लागेको छ ।

तर अर्थ मन्त्रालयबाट रकम निकासा नहुँदा कसैले पनि पाउन सकेका छैनन् । यस्ता जोडीलाई सरकारले २०६६ देखि १ लाख अनुदान रकम दिँदै आएको थियो । घोषणा भएको वर्षबाहेक एक जनाले पनि अहिलेसम्म अनुदान पाएका छैनन् । 'जतिले पाए त्यही लटमा पाए,' जिल्ला प्रशासनका लेखा प्रमुख भवीन्द्र नेम्वाङले भने, 'त्यसपछि उपलब्ध गराइएको छैन ।'

दीपेन्द्र्रले प्रशासनमा धाउँदा धाउँदै हैरान भइसकेको बताए । उनले भने, 'बजेटमै घोषणा गरिएको कार्यक्रमका लागि रकम दिन पनि किन यस्तो कठिन ?'

कार्यक्रम लागू गरिएको वर्ष झापाबाट ३७ जोडीले उक्त रकम पाएका थिए । अघिल्लोसँगै यो वर्ष यहाँ ३५ जोडी एक लाख अनुदानको पर्खाइमा छन् । 'निवेदनको ओइरो लागेको छ,' नेम्वाङ भन्छन्, 'तर रकम निकासा नहुँदा सबै निराश देखिन्छन् ।'

अघिल्लो तीन वटा सरकारले एमाओवादीले लागू गरेको यो कार्यक्रमलाई निरन्तरता दिएनन् । त्यसबेला पनि ५० जोडी अनुदान पाउनबाट वञ्चित रहे । तर खिलराज रेग्मी नेतृत्वको हालै विगठित सरकारले अनुदान रकम बजेटमै घोषणा त गर्‍यो तर कार्यान्वयनचाहिँ गरेको छैन ।

झापा प्रशासनले अघिल्लो वर्ष १८ र यो वर्ष १७ जोडीको अनुदान निकासाका लागि गत भदौमै कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत अर्थ मन्त्रालयलाई परिपत्र गरिएको जनायो । 'रकम निकासाका लागि पत्राचार पनि भएको हो,' सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद वाग्लेले भने, 'अझैसम्म रकम प्राप्त भएको छैन ।' उनले बजेटमै उल्लेखित अनुदान रकम तत्काल निकासाका लागि मन्त्रालयलाई तागेता गरिरहेको बताए ।
- स्रोत :- कान्तिपुर

No comments:

Post a Comment