कठिन संघर्षले मानिस कसरी अति सफल हुन सक्छ भन्ने उदाहरण हुन् डा. विष्णुमाया परियार । दलित सधैं पछाडि नै हुन्छ भन्ने मान्यतालाई चुनौतीसमेत हुन् उनी । अनि, विदेशमा दुःख मात्र हुन्छ भन्नेलाई जवाफ पनि उनै हुन् । गोरखाकी विकट गाँउ ताक्लुङमा जन्मेर अमेरिकामा बस्दै आएकी विष्णुमाया इम्पावर दलित वुमन अफ नेपाल -एडवन) की संस्थापक हुन् । समाज सेवामा उल्लेख्य योगदान पुर्याएबापत सन् २०१३ मे १२ तारिखका दिन अमेरिकाको पाइन मानोर कलेज युनिभर्सिटीले उनलाई मानार्थ विद्यावारिधि -डाक्टर अफ लेटर्स डिग्री) प्रदान गर्यो । डा. परियारले एडवनमार्फत् महिला सशक्तिकरण, दलित, गरिब महिला तथा बालबालिका हितमा धेरै काम गर्दै आएकी छन् । उनले पाइन मानोरबाटै सामाजिक र राजनीतिक प्रणालीमा स्नातक गरेकी हुन् भने क्लार्क युनिभर्सिटीबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकास विषयमा स्नातकोत्तर । त्यहाँबाट मानार्थ डक्टरेट पदवी पाउने उनी पहिलो नेपाली हुन् । प्रस्तुत छ- हालै नेपाल आएका बेला उनीसँग लक्ष्मी श्रेष्ठले गरेको कुराकानी—
तपाईलाई मानार्थ विद्यावारिधि 'डाक्टर अफ लेटर्स डिग्री’ पाउँदा कस्तो अनुभव भयो ?
सायद यो मेरो जीवनको सबैभन्दा ठूलो खुसी हो । मेरो जन्म दलित परिवारमा भए पनि मेरो बुबालाई पढ्न लेख्न आउँथ्यो । त्यो बेला उहाँले सबैको चिठी पत्र पढ्ने लेख्ने काम गरिदिनुहुन्थ्यो । बुबाले सधैं छोरी तैले पढाइ पूरा गर् है भन्नुहुन्थ्यो । त्यसको मतलब थियो 'पीएचडी' । यस्तो कुरा सुन्दा धेरै खुसी लाग्थ्यो । एक किसिमको जाँगर पनि आउँथ्यो । धेरै छोराछोरी हुँदा पनि बुबा आमाले हामीलाई पढाइप्रति सधैं सचेत गराउनुभयो । आज यो स्थानमा आइपुग्दा ती सबै पुराना कुरा पनि याद आउँछ सम्झँदा धेरै खुसी लाग्छ ।
स्कुल जीवन कस्तो थियो ?
मेरो स्कुले जिवनमा फर्केने हो भने धेरै दुःख लाग्छ । अहिलेको अवस्थामा आउन मैले कति दुःख गरे भनेर साध्यै छैन । तर दुःखपछि सुख भनेझैं त्यस्तो नभएको भए सायद अहिलेको डा. विष्णुमाया परियार हुने थिइनँ ।
भन्नाले कस्तो दुःख ?
गाउँमा त्यही त हो नि दलित भनेपछि हेप्र्ने, पशुजस्तो व्यवहार गर्ने । स्कुलमा जाँदा कति दिन खाजा खाइएन, पानी खाइएन । कारण थियो खाएपछि भाँडा माझ्नुपर्ने, पानी छुन नहुने । बाटामा हिंड्दा ठूलो जात आयो भने बाटो नै फेर्नुपर्ने । पसलमा खाजा खाँदा भाँडा माझ्नुपर्ने । हुन त ५० वर्षअगाडिको संविधानले नै जातीय भेदभाव र छुवाछूतलाई निषेध गरेको थियो । तर, कसलाई के थाहा यी सबै कुराबारे ? धेरै कुराहरू छन् जुन कुराले मलाई साहै्र दुःखी बनाए । ती सबै कुरा बेकार हुन् भनेर थाहा थियो । वर्षौंदेखि चलिआएको चलनलाई दलितले त सहनैपर्यो । तर यो सबै हुनुको मुख्य कारण थियो अशिक्षा, ज्ञानको कमी आदि । जब म गाउँबाट पढ्न मनकामना स्कुलमा गएँ, तब सबैले अब दमाइको छोरी हाइस्कुल पढ्ने भई भनेर खिल्ली उडाए । कतिले त किन पढ्नुपर्यो भनेर पनि भन्थे । म त्यस्ता कुरालाई ध्यान दिन्न थेँ । जसले जे भने पनि आफ्नो सुरमा पढिरहन्थें । मलाई थाहा थियो मैले पढ्नुपर्छ भनेर । कति दिन त म जंगल गएर पनि पढें ।
गाउँदेखि अमेरिकासम्मको यात्रा कसरी तय गर्नुभयो ?
जव म मनकामना स्कुल पढ्न भनी गएँ, त्यहाँ अमेरिकन जोन सरसँग भेट भयो । उहाँले मलाई विष्णु तिमीले राम्रोसँग पढ्न सक्छ्यौ । तिमी राम्रो विद्यार्थी हो भनेर सधै हौसला दिनुहुन्थ्यो । मैले ४८ सालमा एसएलसी दिएँ र उहाँले मलाई कलेज पढ्न सहयोग गर्छु भनी अमेरिका जानुभयो । म त्यही भरोसाले काठमाडौं आएँ । पद्मकन्या क्याम्पसमा भर्ना भएर पढ्न थालें । सुरुमा लाग्ने खर्चजति मामाले गरिदिनुभयो । केही समय मेरो मामाकोमा बसें । जोन सरले पैसा पठाउनुभएन । मलाई धेरै समस्या पर्यो । बस्न/खानसमेत गाह्रो हुन थाल्यो । त्यो बेला गार्मेन्टमा काम गर्ने मान्छेहरूको भाँडा माझ्ने, लुगा धुने काम गरेर जसोतसो गुजारा चलाएँ । तर, साह्रै गाह्रो भएपछि अब भएन भनेर मेरो साथीको ट्राभल एजेन्सीबाट जोन सरलाई कल गरें । उहाँले अचम्म मान्नुभयो । उहाँले त मलाई वर्षको ३ सय डलर पठाइरहनुभएको रहेछ । जसको हातमा पठाउनुहुन्थ्यो, उसले नदिएको रहेछ । त्यसपछि उहाँले आफ्नै साथी क्यामरथको हातमा पैसा पठाउन थाल्नुभयो ।
जव मेरो क्यामरथसँग भेट भयो, तब मेरो जीवनको मोड नै बदलियो । उहाँ नेपालमा अमेरिकाबाट विद्यार्थीहरू ल्याउने र यहाँको लोक सस्कृति, वातावरण, समाजजस्ता विविध कुरामा रिसर्च गर्ने गर्नुहुन्थ्यो । मलाई उहाँले नै रिसर्च असिस्टेन्टका रूपमा राख्नुभयो । म अमेरिकन विद्यार्थीलाई लिएर फिल्डमा जान्थें । त्यसै सिलसिलामा मेरो एकजना अमेरिकनसँग दाजु-बहिनीको सम्बन्ध भयो । उहाँको आमाबुबाले पनि मलाई छोरी बनाएर अमेरिका लिएर जानुभयो । अमेरिका गएपछि एक वर्ष अंग्रेजी सिकेर बल्ल मैले युनिभर्सिटीमा भर्ना गरें । अमेरीकामा दिनरात पढ्थें । काम पनि गर्थें । खुसीको कुरा युनिभर्सिटी नै टप गरें । त्यसपछि पढ्ने, बस्ने र खाने सबै फ्री भयो । त्यसैबीच मैले एक वर्ष डोमेस्टिक भायोलेन्स एडभोकेटरका रूपमा काम गरें ।
२००३ मा एडवन संस्था खोलें । त्यसका लागि पनि मेरो धर्म आमाले धेरै सहयोग गर्नुभयो । हामीले नेपालबाट पस्मिनाको सल लगेर बेच्यौं । आमाले हाम्रो संस्थालाई सहयोग हुने गरी पस्मिना सल बिक्रीमा सहयोग गर्नुभयो । पहिलो वर्षै ३ हजार वटा सल बिक्री भयो । दोस्रो, तेस्रो वर्ष बिक्री बढ्दै गयो । त्यो पैसा नेपालका बालबालिका तथा महिलाका लागि खर्च गर्न थाल्यौं एडवन संस्थामार्फत । यसरी समाज सेवा गरेबापत मलाई हार्डवर्ड युनिभर्सिटीले सम्मान गर्यो । बिस्तारै अमेरीकामा चिनिँदै गएँ ।
अहिले कस्तो महसुस गर्नुहुन्छ ?
साँच्चै भन्ने हो भने अहिले म एकदम खुसी छु । म त्यही केटी हुँ कुनै बेला दलित भनेर हेलाँ गरिन्थ्यो । दमाईकी छोरी, तैले किन पढ्नुपर्यो भन्ने यही समाज हो । अहिले आएर त्यही समाजले मलाई मान सम्मान दिदा गर्व महसुस गर्छु । म राम्रोसँग पढ्छु मेहनत गर्छु भनेर थाहा थियो तर पूरै गाउँलेले मलाई सम्मान गर्नेछन् भन्ने सोचेको पनि थिइनँ ।
माइक्रो फाइनान्स अभियान पनि चलाउनुभयो । त्यसको कस्तो प्रभाव परेको छ ?
खासमा म एउटा एनजीओ सञ्चालक हुँ । हाम्रो लक्ष्य नै गरिब, दुःखी र दलितहरूको सेवा गर्ने हो । तर, वास्तवमा गाउँमा धेरै समस्या रहेछन् । सानोतिनो पुँजी नहुँदा काम गर्न समस्या पर्दो रहेछ । गाउँमा सहकारी र बैंकहरू त पुगेका छन् तर जससँग धितो छ, उसैले मात्र ऋण पाउँछ । विचरा गरिबसँग कहाँ हुनु धितो ? अब के गर्ने भनेर सोच्दासोच्दै यो माइक्रो फाइनान्सको आइडिया आयो । मैले एक-दुई जनासँग सेयर गरें । सबैले मलाई विश्वास गरे । तर हामीले दुई-दुई हजार गरेर १० हजार जम्मा गर्यौं । त्यो आवश्यक पर्नेलाई धितोबिनै र ब्याजसमेत नलाग्ने गरी दिने तय गरियो । यसमा दलितमात्र होइन गैरदलित महिलाको पनि सहभागिता रह्यो । यसले दलित तथा गैरदलित महिलालाई एकजुट हुन सिकायो । अहिले यो फाइनान्सबाट १० लाखसम्मको कारोबार हुन्छ । मलाई बुबाले भन्नुहुन्थ्यो- उहाँले दुई सय ऋण लिएबापत ब्याजस्वरूप वर्षदिनसम्म अर्काको घरमा काम गर्नुपर्यो । अहिले त्यस्तो छैन ।
गाउँमा पहिला र अहिले के फरक पाउनुभयो ?
धेरै फरक छ । पहिला जातीय भेदभाव हुन्थ्यो, अहिले हुँदैन । कसैलाई जातभातको मतलब छैन । एकअर्कासँगै बसेका छन्, खाएका छन् । घरेलु हिंसा हटेको छ । अहिले जाँड रक्सी, तास खेल्नेजस्ता कुलती कुराहरू बन्द गरिएको छ। केही समस्या पर्यो भने गाँउकै महिला दिदीबहिनी मिलेर समाधान गर्छन् । त्यहीँ गाउँमा ।
नेपाली दिदीबहिनीहरूलाई के भन्न चाहनुहुन्छ ?
सबैभन्दा ठूलो कुरा विश्वास हो । हामी महिलाले आफूले आफूलाई विश्वास गर्नुपर्छ । त्यही विश्वाससाथ अगाडि बढ्नुपर्छ । सफल त एक दिन हुनु नै छ । जब हामीले पनि केही गर्न सक्छौं भन्ने आत्मविश्वास बढ्छ, त्यो बेला सहयोग गर्ने हातहरू आफैं कुनै न कुनै रूपमा आउनेछन् । सक्षमले असक्षम महिलालाई उठाउने काम गर्नुपर्छ । जबसम्म महिला सक्षम हुँदैनन्, तबसम्म यो समाजमा महिलाको कुनै मूल्य हुँदैन । घरेलु हिंसाले सधैं सताइरहन्छ । यही भन्न चाहन्छु ।
No comments:
Post a Comment