डोमहरु होटलमा पस्दा साहुनीलाई काली देउता चढ्छ रे

दिनेश गजमेर , धरान-दलित समुदायका मरिक डोम जातीले होटल भित्र पसेर चिया खाँदा होटल साहुनी काम्न थाल्छिन रे । उनलाई काली चढछ रे । त्यही भएर धरानका मरिकहरुलाई यहाँ स्थित छाता चौकमा रहेको पार्वती स्वीटस एण्ड कर्नरमा होटल भित्र बसेर चिया खान दिईदैन । बाहिर बसेर चिया खाने भए मात्र पाईन्छ ।
आज विहान करिब साढे सात बजे होटलमा चिया खान गएका मरिक डोम जातीलाई होटल भित्र चिया खान दिईएन । जातिय छुवाछुत गर्दै तिमी डोमहरु बाहिरै बसेर चिया खाउँ भन्दै होटल साहुनी रम्भादेवी शाहले भित्र पस्न नदिएको नेपाल मरिक डोम समुदाय विकाश मञ्च धरान नगर सहसचिव बिनोद बास्फोरले बताए ।राजविराज बाट आएका साथीहरुलाई चिया खुवाउन पार्वती होटलमा पुगेका बिनोदले पैसा तिर्छौ हामी किन बाहिर बसेर चिया खाने भनेर प्रतिरोध गर्न खोज्दा होटल साहु नन्द लाल शाहले चिया पकाउदै गरेको दिउरीले हिर्काएको उनी बताउँछन । साथीहरुलाई त चिनेनन् त्यही भएर साथीहरु होटल भित्र छिरे हामीलाई चै चिनेको हुनाले भित्र छिर्न दिईएन उनले भने ।
धरान नगर पालिकामा सरसफाईमा कार्यरत रहेका डोम समुदायहरु त्यस होटलमा वर्षौ देखि बाहिर बसेर चिया खान बाध्य रहेको उनले बताए । पहिले बाबुहरुमा भएको शिक्षाको कमीले गर्दा उनीहरु छुवाछुत सहन बाध्य थिए । अब त हामी बुझने भएका छौ राज्यले बनाएको ऐन कानुनका विषयमा जानकार भएका छौ , अब छुवाछुत सहेर बस्दैनौ उनी भन्छन् ।
२०६८ जेठ १८ गते व्यवस्थापिका संसदको हैसियतमा संविधान सभाले बनाएको जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को दफा ४ को ८ र ९ मा कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय वा पेशाका आधारमा कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्रि वा वितरण गर्न बाट रोक्न वा रोक लगाउन हुदैन , कसैले कुनै वस्तु, सेवा वा सुविधा उत्पादन, बिक्रि वा वितरण गर्दा, त्यस्तो वस्तु, सेवा वा सुविधा कुनै खास जात वा जातिको व्यक्तिलाई मात्र बिक्रि वितरण गर्ने गरि उत्पादन, बिक्रि वा वितरण गर्न वा गराउनु हुदैन सो गरेमा जातिय भेदभाव तथा छुवाछुत गरेको मानिने छ ।
होटल भित्र पसेर चिया खान पाउँनु पर्छ भन्दै विवाद बढ्न थाले पछि मरिक जातीहरुले धरानमा रहेका दलित अगुवाहरुको रोहवरमा ईलाका प्रहरी कार्यलय धरानमा जाहेरी दिएका छन् । जाहेरीमा सार्वजनिक स्थलमा जातीय छुवाछुत गरेकाले जातिय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कारवाही गरि पाउँ भनि माग गरेका छन् । ईप्रका धरानका निरिक्षक मुकुन्द रिजालले दोषिलाई हिरासतमा लिएको जनाएका छन् । आज शनिकार परेकाले मुद्धा दर्ता नगरिए पनि भोलि म्याद थपि कानुनी प्रक्रिया अनुसार कारवाही गरिने रिजालले बताए ।
त्यसै गरि दलित गैह्रसरकारी संस्था महासंघ पुर्वाञ्चल क्षेत्रीय कार्यक्रम संयोजक भविन्द्र विश्वकर्माले घटनालाई कुनै पनि हालतमा समाजमा मिलाउन नसक्ने बताएका छन् । सदियौ देखि छुवाछुतको व्यवहार गर्दै आएका लागि एक पल्टका लागि माफी दिन थालियो भने दलित समुदायमा हुने भेदभाव र छुवाछुतको अन्त्य कहिल्यै हुन नसक्ने उनी बताउछन् ।गत पुष १५ गते महासंघले धरानमा जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ को कार्यन्यवनमा समस्या र समाधानमा हाम्रो भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सोही होटलमा हुने गरेको भेदभावलाई पिडित विनोद बास्फोरले कार्यक्रमका प्रमुख अतिथी रहेका कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी यादव राज खनाल समक्ष राखेका थिए । खनालले यस्तो छुवाछुतको घटना भईरहेको छ भने उजुरी गर्न सुझाव दिएका थिए । सोही अनुसार मरिक जातीले प्रहरी समक्ष जाहेरी दिएका हुन् ।जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार कसुर गर्ने व्यक्तिलाई तीन महिना देखि तीन वर्ष सम्म कैद वा एक हजार रुपैया देखि पच्चीस हजार रुपैया सम्म जरिवान वा दुवै सजायको व्यवस्था गरेको छ । त्यसै गरि कसैले यस ऐन बमोजिमको कसुर गरेको ठहरिएमा त्यसरी ठहर गर्दा अदालतले कसुरदारबाट पीडितलाई पच्चीस हजार रुपैया देखि एक लाख रुपैया सम्म क्षतिपुर्ति भराईदिन सक्ने ऐनमा उल्लेख भएको छ ।
होटल साहु नन्द लाल साह भने आफुले कुनै भेदभाव नगरेको बताउँछन् । आमा होटलमा बस्दा चै बाहिर बसेर चिया खान दिएको छोरी पार्वती साहले बताईन । आमा होटलमा हुदा मरिकहरु होटल भित्र पस्दा देउताले भेट्ने गरेको छ । त्यही भएर बाहिर नै बसेर खान दिएको थियो उनले भनिन् । होटल साहुनी रम्भा देवी शाहलाई डोमहरुले होटल भित्र पसेर चिया खादाँ बिरामी हुन्छीन । दलित समुदायकै अन्य जातीहरु होटल भित्र छिरेर खादा कुनै समस्या हुदैन ।
अघिल्लो वर्ष देखि धरानलाई छुवाछुत मुक्त नगर घोषणा गर्ने अभियान शुरु भएको छ । अभियानका क्रममा धरानको भानुचौकमा १ साता हस्ताक्षर संकलन गरि स्थानियले छुवाछुत अन्त्यका लागि ऐक्यबद्धता पनि जाहेर गरेका थिए । करिब डेढ वर्ष अघि धरानको पुरानो बजारमा रहेको सब्जी मण्डीको एक होटलमा डोम जातीका उमेश बास्फोरलाई होटलमा खाजा खान जादा जातीय छुवाछुत गरिएको थियो । होटल साहुनीलाई सार्वजनिक स्थलमा माफि मगाई जरिवाना र क्षतिपुर्ति होटल साहुनीले तिरेकि थिईन । डोम समुदायमा भएको जातिय छुवाछुतको घटना सार्वजनिक भएको यो दोस्रो हो ।
साभार :- किलिकधरान

No comments:

Post a Comment