दलित बस्तीमा हेपाटाइटिस बीका कारण दुई दिनअघि एक जनाको मृत्यु

सर्लाही, फाल्गुन ८ - किसनपुर गाविस १ को दलित बस्तीमा हेपाटाइटिस बीका कारण दुई दिनअघि एक जनाको मृत्यु भएको छ । भारतमा मजदुरी गरेर माघमा फर्केका ४५ वर्षीय रामप्रताप पासवान उतैबाट बिरामी परेर आएका थिए ।

भारतको पन्जाबमा काम गर्न गएका पासवान उतै बिरामी परेका हुन् । उनी घर आएपछि अरूमा पनि रोग सरेको उनका भतिजा दरोगाले बताए । उक्त गाउँमा अहिले ७ जनामा रोग भेटिएको छ । हेपाटाइटिस बी कै कारण एक जनाको मृत्यु भएपछि गाउँले अझ बढी त्रसित भएका छन् । रोग सर्न नदिन सरकारले जोखिममा रहेका सबैलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउनुपर्ने स्थानीयवासीले माग गरे ।

'एकबाट अर्काेमा सर्दै ७ जनामा हेपाटाइटिस प्रमाणित भइसक्यो,' दरोगाले भने, 'समयमै रोकथाम नगरे गाउँभरि रोग फैलने खतरा छ ।' दरोगाकी पत्नी उमादेवी, रामप्रतापका छोरा श्यामकुमार, भाइ शिवचन्द्र, विजेन्द्र, तेजनारायण, सतियादेवी र विनोद महरामा हेपाटाइटिस बी को लक्षण देखिएको हो ।

रोग देखिएका सबै मजदुरी गरेर दैनिक गुजारा गर्ने गरिब परिवारका हुन् । रोग फैलिन नदिन बिरामीले दिसा पिसाबसमेत छुट्टै गर्नुपर्ने हुन्छ । शौचालय नभएकाले खुला शौच गर्ने हुँदा जोखिम अझ बढेको दरोगाले बताए । जनस्वास्थ्य अधिकृत प्रभाकर झाले हेपाटाइटिस बी सरुवा रोग भएकाले रोग सर्न नदिन संक्रमितका परिवार र छिमेकमा भ्याक्सिन चलाउनुपर्ने बताए । ७ जनामा रोग देखिएको पुष्टि गर्दै झाले गाउँमा पुगेर स्वास्थ्य शिक्षा दिई र्फकेको जनाए ।

'बिरामी र परिवारका सदस्यलाई भेटेर अपनाउनुपर्ने सावधानीबारे बतायौं,' उनले भने, 'रोग सर्न नदिन बिरामीका परिवार र छिमेकमा भ्याक्सिन लगाउँदा राम्रो हुन्छ । तर सरकारले भ्याक्सिन दिँदैन । त्यसका लागि गाविसको सहयोग जुटाउन भनेका छौं ।' झाले हेपाटाइटिस बी निर्मूल पार्ने औषधि नभएकाले रोग फैलनबाट रोक्नुपर्ने बताए । भ्याक्सिन महँगो पर्ने हुँदा गरिब बस्तीका सबै सरकारको मुख ताकेर बसेका छन् । रोग सर्न नदिन परिवारका सदस्यले बिरामीलाई अलग खाने सुत्ने गराएका छन् । बिरामी र उनका परिवारलाई छिमेकीले फरक व्यवहार गर्न सुरु भएको छ ।

'यो गाउँका बालबच्चालाई विद्यालय जाँदा अपहेलना सहन बाध्य छन्,' उनले भने, 'सरुवा रोग फैलिएको गाउँका भनेर हामीलाई पनि अपहेलना गर्छन् । यही रोगले गाउँका सबै सिद्धिने अवस्था छ ।'
साभार :- कान्तिपुर 

No comments:

Post a Comment