दलितको आवश्यकतालाई ध्यान दिएर पञ्चेबाजाका सामग्री प्रदान

महँगीले गर्दा आवश्यक बाजाका सामग्रीको जोहो गर्न असमर्थ बनेका तारुकाका दलितलाई एक संस्थाले पञ्चेबाजा प्रदान गरेपछि उनीहरु फुरुङ्ग परेका छन् । सामुदायिक तथा व्यावसायिक विकास प्रवर्दन समाज कोब्डेप्सले दलितको आवश्यकतालाई ध्यान दिएर पञ्चेबाजाका सामग्री प्रदान गरेको हो ।

संयुक्त राष्ट्संघीय लघुउद्यम विकास कार्यक्रम, जिल्ला विकास समिति र घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा ती सामग्री प्रदान गरिएको हो । तारुका –३ कोलडाँडा आयोजित कार्यक्रममा बाजाका सामग्री हस्तान्तरण गर्दै घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विश्वप्रेम ढकालले प्राप्त सामग्रीको सदुपयोग गर्न आग्रह गरे ।

सनई, नरसिंह, ढोलक, दमाहालगायत बाजाको सेट नै पाएपछि उनीहरुलाई विवाह, व्रतबन्धमा बाजा बजाएर आम्दानी गर्न सहज भएको कोब्डेप्सका कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले बताए । सोही कार्यक्रममा ढाका बुनाइ तालिमका सहभागी महिलालाई प्रमाण्पत्र प्रदान गरिएको थियो । दुई महिनासम्म सञ्चालित सो तालिममा १२ जना महिला सहभागी थिए । जिल्ला विकास समिति नुवाकोटका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले ढाका बजारको सम्भावना राम्रो रहेकाले सीप विकास र गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिए ।

(स्रोतः कमाण्डर पोष्ट दैनिक)

No comments:

Post a Comment