सरकारमा दलित नपारेकोमा आपत्ति

काठमाडौं, फाल्गुन १४ - मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व नगराइएको भन्दै दलित नागरिक समाजले सडक आन्दोलनको चेतावनी दिएको छ ।बुधवार पत्रकार सम्मेलन गरेर समाजले प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा विस्तारित मन्त्रिमण्डलमा दलितको प्रतिनिधित्व नगराइएकोप्रति भर्त्सना गर्दै आगामी विस्तारित मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चितताको लागि जोडदार माग समेत गरेको छ ।

पत्रकार सम्मेलनमा दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले गाउँघरमा दलितलाई अछुतको व्यवहार गरेको देखिए पनि अहिले सिंहदरबारबाटै दलितलाई अछुतको व्यवहार गरेको आरोप लगाउँदै विस्तारित मन्त्रिमण्डलमा दलितको प्रतिनिधित्व सुनिश्चित नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

दलित महिला संघकी अध्यक्ष दुर्गा सोवले ऐतिहासिक जनआन्दोलनमा दलित समुदायले पुर्‍याएको भूमिकाको अवमूल्यन गर्दै राजनीतिक पार्टीहरुले दलित समुदायलाई हलिया र खेतालाको रुपमा प्रयोग गरेको आरोप लगाइन् ।जनउत्थान फाउण्डेशनका अध्यक्ष अमृत विश्वकर्माले आगामी विस्तारित मन्त्रिमण्डलमा दलित समुदायको प्रतिनिधित्व नगराइए ५० लाख दलित समुदाय सडकमा उत्रने चेतावनी दिए ।
- स्रोत:- कान्तिपुर

No comments:

Post a Comment