असार ४, विभेद विरुद्ध अभियान। कहिलेकाहीँ दलित हुनु पनि फाइदा हुँदो रहेछ । गिरिराज सुनार दलित भएकै कारण तेक्वान्दो खेलाडी भए । अधिकारकर्मी र महिला सशक्तीकरण खेलकुद प्रशिक्षक भए । राष्ट्रिय दलित आयोगमा पहिलो अधिकृत भए । दलित भएकै कारण उनले छुवाछूत प्रथाको कारण खोज्दै गए र अन्तत: ओशो संन्यासी भए ।
यसपटक भुइँचालोमा उनले घरमा पुरिएका दुई युवक र एक युवतीको ज्यान बचाए । घरले पुरिएर मृत्यु भएका ७ जनाको लास निकाले । समाजमा ख्याति कमाए पनि उनी आफ्नो गाउँ (बाग्लुङको बिहुँ) जाँदा आज पनि होटलमा बाहिर बसेर खाना खान्छन् । आफूले खाएको प्लेट–थाल मोल्छन् । यस्ता कुराको विरोध गर्दा उनका भाइले गएको दसैंमा गाउँलेहरूको हातबाट कुटाइ खाए । यता उनी आफंैले प्रेमीकाबाट जन्माएको सन्तानलाई दलित भएकै कारण आफ्नो नाम र थर दिन पाएका छैनन् । दलित विज्ञ सुनारले साप्ताहिकमार्फत दलितभित्रका अनौठा भोगाइहरू बाहिर ल्याएका छन् ।
तपाईं आफू चर्चित व्यक्ति, अधिकारकर्मी र छुवाछूतसम्बन्धी अध्येता भएर पनि घर जाँदा होटलबाहिर खाना खानु, खाएको भाँडा मोल्नु अनौठो होइन ? किन विद्रोह नगरेको ?
सहर–बजारमा दलितहरूमाथि पहिलेजस्तो विभेद छैन । यहाँ परिचय खुलाउने आवश्यकता पनि पर्दैन । गाउँ–घरमा भने हामी जतिसुकै चर्चित भए पनि, पढेलेखेको भए पनि हामी बाहुन हुन सक्ने रहेनछौं, दलित नै हौं । पुस्तौंपुस्तादेखि चलिआएको हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न गाह्रो छ । यस्ता कुराको विरोध गर्दा गएको दसैंमा मेरो भाइमाथि सार्वजनिक कुटपिट भयो । बुबा–आमाहरू पनि हामी दलित हौं, अरूलाई मन नपर्ने कुरा नगर भनेर सम्झाइरहनुहुन्छ । कतिसम्म भने भाइले कुटाइ खाँदा उहाँहरूले प्रहरीमा रिपोर्ट गर्न मान्नुभएन । गाउँघरमा मिलेर बस्नुपर्छ भनेर सम्झाउनुभयो । उहाँहरू बाँचुन्जेल हामी विद्रोह नगर्न विवस छौं । त्यसैले म गाउँघरमा हुँदा सकेसम्म बाहिर खान्न, खाए पनि अलग्गै बसेर खान्छु । अरू ग्राहकहरू त्यतिकै हिँड्छन्, हामीचाहिँ भाँडा पखाल्छौं । त्यति बेला मुटु भक्कानिएर आउँछ, तर हामी विवस छौं ।
पहिलोपल्ट दलित भएकै कारण ममाथि विभेद भएको हो भनेर कहिले थाहा पाउनुभयो ?
मेरो बुवा र हजुरबुवा भारतीय सेनामा हुनुहुन्थ्यो । हजुरबुवा असम राइफल्समा भएका बेला संस्कृत पढ्ने अवसर पाउनुभएछ । पछि उहाँ त्यहीँ एउटा मन्दिरको पुजारी हुनुभयो । उहाँकै कारण घरमा पूजापाठ हुन्थ्यो । त्यसलाई बुवाले पनि निरन्तरता दिनुभयो । त्यसैले हामी दलित हौं भन्ने कुरा हामीलाई कहिल्यै महसुस भएन । बुवा सेनामा हुनुभएकाले म उतै जन्मिएँ । जब म ३ कक्षा पढ्न आमासँगै नेपाल आएँ, त्यो बेलासम्म आफू दलितको छोरा हुँ भन्ने थाहा थिएन । एकपल्ट गाउँमा स्वस्थानी पूजाको सांगे थियो । अरूले प्रसाद खाँदै पुस्तक ढोग्न थाले । घरमा पूजापाठको संस्कृति भएकाले मैले पनि स्वस्थानीको पुस्तकमा गएर ढोगें । त्यसपछि अचानक ममाथि लात र घुस्सा बर्सिए । घरमा रुँदै आएपछि पो आमाले हामी दलित हौं भनेर सम्झाउनुभयो ।
पहिलोपल्ट आफू दलित भएको सुन्दा कस्तो लाग्यो ?
त्यतिबेला म सानै थिएँ । आमाले नै हामी दलित हौं, सानो जात भएकाले हामीले ठूला जातलाई सम्मान गर्नुपर्ने, उनीहरूको घरभित्र छिर्न नहुने कुरा बताएपछि मनमा धेरै प्रश्न आएनन् । मैले त्यसलाई स्वीकार गरें । जब म ठूलो हुँदै गएँ, मान्छे–मान्छेबीच कसरी विभेद हुन सक्छ भनेर सोच्दै ल्याउँदा मभित्र विद्रोही भाव जन्मदै गयो, किनभने हाम्रो घरमा पनि पूजा पाठ हुन्थ्यो । सेनामा भएका कारण हामी सम्पन्न थियौं, गाउँका बाहुन–छेत्रीभन्दा सफा–सुग्घर थियौं, पढेलेखेका थियौं । तैपनि कुनै अमूक जातमा जन्मिएकै कारण यत्रो विभेद भएको देख्दा अनौठो लाग्न थाल्यो । विद्रोह गर्नुपर्छ भन्ने लाग्यो ।
विद्रोहको सुरुवात कहाँबाट गर्नुभयो ?
एसएलसीसम्म म विद्यालयको पानी छुन पाउँदिनथेँ । अरू साथीहरूले खाजा ल्याएका हुन्थे । उनीहरूको खाजा छोइने भएकाले मैले एक्लै बस्नुपथ्र्याे । झुक्किएर छोए कुटाइ खानुपथ्र्यो र छोएको खाजा पनि खानुपथ्र्याे । गाउँमा रामकोट शिवालय र बाग्लुङ बजारमा कालिका मन्दिर थिए, म ती मन्दिरमा छिर्नसमेत पाउँदिनथेँ । कुटाइ खाइएला भनेर छिर्ने हिम्मत नै आउँदैनथ्यो । त्यतिबेला मलाई ठूलो भएर दलितहरूको एउटा संगठन बनाउँछु र यी बाहुन–छेत्रीहरूलाई ठीक पार्छु भन्ने लाग्थ्यो । क्याम्पस पढ्न बाग्लुङ बजारमा आएपछि म मार्सल आर्टमा भर्ना भएँ । त्यति मात्र होइन, बजारमा भेटिएका दलितहरूलाई मार्सल आर्ट सिक्न प्रेरित गरें । पछि मास्टर डनको उपाधि पाएपश्चात् त्यतिबेलाका युद्धरत माओवादीहरूलाई पनि मार्सल आर्ट सिकाएँ ।
तपाईं पढेलेखेको दलित, माओवादीमा लागेर ठूलो नेता हुन सक्नुहुन्थ्यो । किन राजनीतिलाई निरन्तरता दिनुभएन ?
नेपालमा दलित विभेदविरुद्ध कानुन बनेका थिए तर समाजमा त्यो कानुनले कुनै काम गरिरहेको थिएन । माओवादीहरूले दलितको विषय उठान गरे र उनीहरू समाजको विभेद हटाउने काममा सक्रिय भए । तैपनि आइए पढ्ने क्रममा म जुन घरमा डेरा लिएर बसेको थिएँ, त्यो घरका ज्वाइँ माओवादी नेताले मलाई कोठाबाट हटाएर पसल भएको सटरमा राखे । त्यो घरमा एक जनाको मृत्यु भएका कारण मलाई कोठाबाट हटाइएको थियो । त्यसपछि खोजी गर्दै जाँदा मैले के थाहा पाएँ भने युद्धअघि बढाउन माओवादीहरूलाई उत्पीडित तर अशिक्षित जनताको साथ चाहिएको थियो । त्यसको पूर्ति दलितहरूले गर्न सक्थें । दलितहरू उनीहरूको अभीष्ठ पूरा गर्ने साधन थिए भने दलितहरूलाई पनि आफ्नो पीडा व्यक्त गर्ने ठाउँ चाहिएको थियो । त्यसैले आन्दोलन अघि बढ्यो । अब उनीहरू सत्तामा आए, दलित मुद्दा ओझेल भएको छ । पहिचानको यत्रो मुद्दा आइरहेको छ तर त्यहाँ कतै दलित देखिँदैनन् । यो कुरा बेलैमा बुझेका कारण म माओवादीमा पनि लाग्न सकिनँ । माओवादी मात्र होइन, अहिलेका कुनै पनि दलले दलितको मुद्दा उठाउँदैनन् ।
तपाईं आफूले पनि त केही गर्नुभएन नि ?
मार्सल आर्ट सिकेर दलितहरूलाई संगठित गर्ने जुन योजना थियो, त्यसमा माओवादी युद्धका गलत क्रियाकलापले पाठ सिकायो । तैपनि दलितहरूले जे भोगिरहेका छन्, मैले जे भोगिरहेको थिएँ त्यसको रिसमा हामीबाट गलत काम हुन सक्थ्यो । ओशोका प्रवचनहरूले मलाई रोके । ओशोको संन्यासी हुन कुनै धर्म, जात र हैसियत हेरिँदैन । मैले ओशोको संन्यासी हुने अवसर पाएँ । अध्यात्मले मलाई मानसिक शान्ति दियो । त्योभन्दा बढी हिन्दूभित्र किन छुवाछूत सतहमा आयो भन्ने कुरा थाहा पाएँ । सुरुमा कर्मका आधारमा जात प्रथा भए पनि उनीहरूलाई उच्च सम्मान थियो । पछि दलितहरूलाई शोषण गर्न नयाँ विधान बनाइयो । जब मैले समाजशास्त्रमा स्नातकोत्तर गरें, दलितकै विषयमा थेसिस लेखें । त्यतिबेला पो हामीमाथि मनुस्मृतिको पालादेखि शोषण हुन थालेको रहेछ भन्ने कुरा थाहा भयो । जब मैले फ्रायड र कार्ल गुस्ताफ युङ्का मनोविज्ञान अध्ययन गर्न थालें, मलाई बाहुन–छेत्रीहरूमाथि नै दया लागेर आउन थाल्यो ।
त्यस्तो के पाउनुभयो ?
नेपाली समाजको वास्तविक निर्माता दलितहरू रहेछन् । कामीले हतियार बनायो र पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे । दमाईंले लुगा सिए र राजादेखि सेनासम्मले लुगा लगाउन पाए । सार्कीले जुत्ता बनाए र ती जुत्ता लगाएर सेनाले खुला मञ्चमा परेड खेल्यो । यो कुरा पञ्चायती शासनसम्म कायम थियो । दलितले हलो नबनाएको भए किसानले खेती गर्नसमेत पाउने थिएनन् । जब मैले बाहुन–छेत्रीसँग भएको भाँडा कुँडा, हँसिया र हलो, जुत्ता र कपडा, सुन र गहना निकाल्दै गएँ उनीहरूलाई नाङ्गै पाएँ । आज पो विदेशबाट सामग्री आउँछन्, त्यो बेलाको नेपाली समाज दलितबिना सिधा उभिन पनि नसक्ने रहेछ । भोकै पर्ने रहेछ, तैपनि दलितहरूमाथि त्यत्रो विभेद, सुन्दै आश्चर्य लाग्ने, सुन्दै अपत्यारिलो ।
अहिले दलित विभेदसम्बन्धी कडा कानुन बनेको छ । अहिलेको अवस्थामा सन्तोष गर्ने ठाउँ छ ?
कानुन बनेका छन् तर समाज अझै पुरातन सोचमै छ । मेरो भाइले खाएको कुटाइ र मजस्तो मान्छेले गाउँमा जाँदा होटलको भाँडा माझ्नुपर्ने अवस्थाले नै कानुनले मात्र केही गर्दो रहेनछ भन्ने स्पष्ट हुन्छ । त्यत्रो माओवादी आन्दोलनले समेत समाजलाई फरक पारेको रहेनछ ।
आखिर किन यस्तो भयो ?
प्रसिद्ध मनोविज्ञ युङ्ले सामूहिक अचेतनका विषयमा लामो व्याख्या गरेका छन् । उनको व्याख्याअनुसार जब पुस्तौंदेखि कुनै समाजमा एक खालको चलन चलिरहेको छ, त्यसलाई हटाउन जतिसुकै प्रयास गरे पनि त्यो यति गहिरो गरी बसेको हुन्छ, त्यसलाई हटाउन हम्मे–हम्मे पर्छ । निरन्तर नथाकीकन लाग्नु पर्छ । सबैले लगातार संघर्ष गर्दा सयौं वर्षपछि बल्ल त्यो हटेर जान्छ । त्यसैले आज पनि प्रगतिशील भनिने मानिसहरू पनि अन्जानमै हामीमाथि विभेद गर्न पुग्छन् ।
केही उदाहरण दिन सक्नुहुन्छ ?
जब कुनै मानिस मसँग कुरा गरिरहेको हुन्छ, मेरो कुरा सुनेर मख्ख पर्छ । जब म दलित हुँ भन्ने थाहा पाउँछ, उसको मप्रतिको दृष्टिकोण अचानक फरक पाउने गरेको छु । एकपल्ट होइन, पटक–पटक यस्ता घटना घटेका छन् । अघिको सामीप्यता अचानक कम भएको पाउँछु । यो मेरो मात्र होइन, सबै दलितले महसुस गरेको कुरा हो । दलित भएर पनि कति राम्री केटी, दलित भएर पनि कति विद्वान् केटो भन्ने कुरा सुन्नुभएकै होला । किन त्यसो भनियो ? किनभने युगौंदेखिको मानिसहरूको भित्री चेतनामा दलित यति घृणित पात्र बनेको छ कि अचानक उनीहरूको मुखबाट यस्तो कुरा निस्कन्छ ।
केही अघि तपाईंले दलित भएकै कारण छोरीको बाबु हुने अधिकार पाइन भनेर लेख्नुभएको थियो । सत्य के हो ?
ओशो संन्यासी भएपछि संगत पनि खुला मान्छेसँग हुन्छ । त्यहाँ एउटी युवतीसँग मेरो प्रेम हुन पुग्यो । उनलाई म दलित हुँ भन्ने थाहा थियो तैपनि हामीबीच गहिरो प्रेम भयो । उनले स्वच्छ माया दिइन् । कतिसम्म भने उनले तिम्रो बच्चाको आमा हुन चाहन्छु भनिन् । बच्चा पनि भयो, तर समाजका कारण उनी बच्चाको सार्वजनिक परिचय गराउन डराइन् । त्यो बेला मैले थाहा पाएँ, व्यक्तिले दलितलाई स्वीकार गरे पनि समाजले त्यसलाई पचाउन सक्दो रहेनछ । आज आमा–छोरी नै देशबाहिर छन् तर मेरी छोरीले मेरो नाम पाएकी छैनन् ।
साभार:- साप्ताहिक //कानुन बनेका छन् तर समाज पुरातन सोचमै छ //-अश्विनी कोइराला
No comments:
Post a Comment