श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

तम्घास अस्पतालमा पोष्टमार्टम गरी अत्येष्टिका लागि लैजाने तयारी गरिरहेका ती दुवै श्रीमान श्रीमतीको शव
प्रेम सुनार, गुल्मी, १९ जेठ ०७२ विभेद बिरुद्ध अभियान  – आज विहान गुल्मीको सिमीचौरमा आफ्नै घरमा श्रीमान–श्रीमती रहस्यमय रुपमा मृत फेला परेका छन् । घटना स्थलमा पुगेको प्रहरी र प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार घटना स्थलको प्रकृतिले श्रीमतीको घाँटी थिचेर श्रीमानले आत्माहत्या गरेको आशंका गरिएको छ ।
रेसुङ्गा नगरपालिका वडा नम्वर–१२ साविकको सिमिचौर गाविस वडा नम्वर–३ का ३५ वर्षीय रामु भन्ने रामबहादुर नेपाली र ३३ वर्षीया उनकी श्रीमती लक्ष्मी नेपाली त्यस्तो अवस्थामा मृत फेला परेका हुन् । ‘घाँटीमा निला डाम रहेको अवस्थामा श्रीमती भुँईमा मृत फेला परेकी थिईन्, श्रीमान घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि हमालले भने– ‘पोष्टमार्टमको रिर्पोट नआएसम्म त हामीले त्यसो भन्न मिल्दैन । तर, घटनास्थलको प्रकृति हेर्दा श्रीमतीको हत्या गरी श्रीमान आफुले झुण्डिएर आत्माहत्या गरेको आशंका गर्न सकिन्छ ।’
मृतक दम्पत्तीका १३ वर्षीय छोरा अजय नेपालीकाअनुसार हिजो साँझ करिव ८ बजेदेखि ९ बजेको समयसम्म श्रीमान–श्रीमतीबीच निकै चर्काचर्कि झगडा चलेको थियो । ‘बाबाले रक्सी खानुभएको थियो । रक्सी नखान मम्मीले मनाही गर्ने क्रममा उनले तँ त झुण्डएर मरे पनि हुन्छ भन्नु भयो त्यसपछि झगडा सुरु भएको हो ।’
उनले थपे– त्यस्तै ९ बजेतिर मम्मीले हामीलाई खाना खुवाएरमाथि आँटी (चोठा) मा सुत्न जाउ भन्नुभयोे र गयौं । त्यसपछि के भयो हामी दुई दाजुवहिनीले केही थाहा पाएनौं ।’ उनकी ११ वर्षीया बहिनी अन्जानाको भनाई पनि दाजुसँग मिल्दो थियो । ‘रक्सी र खैनी डाक्टरले खान हुन्न भनेको कुरालाई आमाले बन्देज गर्न खोज्दा बाबुले मरेमर्छु भन्दै झगडा सुरु भएको उनको भनाई थियो ।
मृतक नेपालीकी आमा पुनकलाकाअनुसार ती दम्पत्तीबीच पहिलैदेखि बेला–बेलामा झगडा र कुटपिट भईरहन्थ्यो । मृतक नेपालीकी जेठी दिदी मिना नेपाली, माइली दिदी रिमा र कान्छी गोमाकाअनुसार केहिदिन अघिदेखि रामुले श्रीमतीलाई मार्ने र आफुले पनि आत्माहत्या गर्ने धम्की दिँदै आएका थिए । ती परिवारका आरोप थियो, बुहारीको तातो रिसको कारण रामु त्यस्तो आक्रोशमा आएका हुनसक्छन् ।
हुर्केका ती दुई सन्तानका अलावा ती दम्पत्तीका ११ महिनाका एक छोरासमेत रहेका छन् । उक्त दिन साँझ हुर्केका ती दुई छोरा–छोरीलाई माथि तलामा सुत्न पठाएर ११ महिने ती दुधे बालकलाई लक्ष्मीले तल बिस्तरामा सुताउन लागेकी थिइन् । त्यसै अगेनाको छेउमा उनको शव फेला परेको थियो भने, त्यसको नजिकै श्रीमान झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । ती दम्पत्ती तिन महिनाअघि मात्र भारतको सिलाङ्गको रोजगारीबाट घर आएका थिए । आएको दिनदेखि रामुले आफ्ना दुवै मृगौला फेल भएको तर, उपचारका लागि परिवार र आफन्तजनले सहयोग नगरेको भन्दै निरासा पोख्दै आइरहेका थिए ।
झुण्डिएको अवस्थामा फेला परेका श्रीमानको मुहार र शरिरमा पनि चिथोरिएको घाउ देखिनु र श्रीमतीको मुहार र घाँटीमा पनि निलाडाम देखिनुले दुवै जनाको कुटपिट लामै समय चलेको र त्यसको क्रममा श्रीमतीको मृत्यु भएपछि श्रीमानले आत्माहत्या गरेको आशंका परिवारजनले गरेका छन् । मृतक दम्पत्तीका अहिले साँझ रिडीमा एकैसाथ दाह संस्कार गरिदैँछ । उनका १३ वर्षीय छोरा दागबत्ती दिन पुगेका छन् । मृतक रामु नेपाली त्यस परिवारका एक मात्र छोरा थिए ।
स्रोत: रातो पाटी

No comments:

Post a Comment