सुर्खेतको घाटगाउ गाविसलाई जातीय छुवाछुत मुक्त गाविस घोषणा

विष्णु विवेक,  सुर्खेत, जेठ २० -  विभेद बिरुद्ध अभियान  सुर्खेतको घाटगाउ गाविसलाई जातीय छुवाछुत तथा विभेद मुक्त, छाउपडिमुक्त र साक्षर गाविस घोषणा गरिएको छ ।

नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले उक्त गा.वि.स.मा संचालन गरेको अति सिमान्तकृत समुहका लागि लक्षित तथा दिगो विकास कार्यक्रम (किर्डाक) नेपाल, समाज जागरण केन्द्र (स्याक) नेपाल, वातावरण सुधार समाज, १० वटा रिफ्लेक्ट समुहका सार्थै संवाद केन्द्रहरुको  सहयोगमा मंगलबार एक कार्यक्रमको आयोजना गरी गाविसलाई जातीय छुवाछुत तथा विभेद मुक्त, छाउपडिमुक्त र साक्षर गाविस घोषणा गरिएको कार्यक्रम संयोजक नारायण विकले बताए । 

घोषणा सभामा बोल्दै नेपाली कांग्रेसका तर्फवाट संविधान सभामा प्रतिनिधित्व गर्ने संविधान सभाका सदस्य तप्तबहादुर विष्टले राज्यले कसैलाई पनि जातीय छुवाछुत तथा विभेद गर्न नहुने भनि कानून वनाएको भएता पनि यसको कार्यान्वय नभएकाले विभेद हट्न नसकेको बताए। 

उनले कार्यक्रममा सो कानुनको पालना गर्न सबै लाग्नुपर्नेमा पनि जोड दिएका थिए । त्यस्तै पहिलो संविधान सभाका सभासद नरबहादुर विष्टले कानूनले गर्नु हुन्न भनि उल्लेख गर्दा गर्दै पनि कानूनलाई अटेर गरि जातीय विभेद गर्ने जो कोहि पनि कानूनवाट मुक्त हुनु नदिई कानूनी कारवाहि गर्नुपर्ने बताए ।  कार्यक्रममा समाजमा जातीय छुवाछुत मुक्त गा.वि.स. घोषणाका लागि उल्लेखनिय भुमिका निर्वाह गरेका व्यक्ती र समुहलाई सम्मान समेत गरिएको संयोजक विकले जानकारी दिए ।

कार्यक्रममा सहभागि सहभागिहरुले आजका घोषणा गरिएको मिती देखि लागु हुने गरि घाटगाउ गा.वि.स.मा यदि कसैले कसैलाई जातीय छुवाछुत तथा भेदभाव जन्य व्यवहार, संकेत, हाउभार, शव्द र भाषा प्रयोग गरेको पाईएमा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको (कशुर सजाय) ऐन २०६८ का अतिरिक्त गा.वि.स.वाट प्रदान गरिने सेवा सुविधावाट समेत वंचित गरिने, जातीय छुवाछुत तथा भेदभाववाट पीडित भएको व्यक्तीहरुको न्यायका लागि पहल गरिने, दलित समुदायको आर्थिक समाजिक विकासका लािग योजना तर्जुमा, कार्यान्वय, उपभोगका क्रममा उनीहरुको सहभागिता पहल गर्ने प्रतिवद्धता जनाएका संयोजक विकले बताए ।

No comments:

Post a Comment