दलितको लागि पनि सविधान - गोविन्द नेपाली

२०७२ असार १५, विभेद विरुद्ध अभियान ।लामो समयको राजनीतिक अस्थिरतापछि फेरि चहलपहल सुरु भएको छ, आज भोलि । भूकम्पले मुलुकमा निम्त्याएको विपदका कारण यस बेला बेग्लाबेग्लै कित्तामा उभिएका राजनीतिक दलका नेताहरू मिलेका छन् र सहकार्यमा संविधान निर्माणको कार्यलाई अगाडि बढाउँदै छन् । यो पङ्क्ति लेख्दासम्म संविधानको प्रारम्भिक मस्यौदा सार्वजनिक भइसकेको छ । अर्थात् विगत लामो समयदेखि हामीले पर्खेर बसेको संविधान केही समयपछि नेपालीको हातमा हुनेछ । यतिखेर नेपालमा रहेका ६० लाख दलितका लागि मुक्तिको आभास गराउने बेला भइसकेको छ । हामी दलितहरूमा लागेको छुवाछूत र जातीय उत्पीडनविरुद्धको बिल्ला र हतकडी फुकाउने अवसरका रूपमा पनि हामीले यसलाई लिनुपर्ने बेला भएको छ । अथाह सम्भावना बोकेका तर राज्यको दृष्टिबाट जहिले पनि हेपिएको यो वर्गका लागि पनि अबको नयाँ संविधानमा उल्लेख हुनुपर्ने अवस्था आएको छ । सदियौंदेखि हेपिएका, चेपिएका दलितहरूको स्तरोन्नतिका लागि पनि अब दलितले आफूलाई अगाडि बढाउनुपर्ने भएको छ । आम दलितको जीवनमा परिवर्तन ल्याउनका लागि पनि दलितहरूको अग्रसरता आवश्यक रहेको छ । दलितहरूसम्म राज्यको पहुच छैन भन्ने मानसिकता अँगालेका शासक वर्गले सधैं दलितलाई हेप्ने परिपाटीको विकास हुँदा दलित वर्गले आफूमा खासै परिर्वतनको आभास गर्न पाएका छैनन् भन्दा हुन्छ ।
आज अन्य जातजातिहरू आफ्नो आफ्नो पहिचानका निम्ति जोडतोडका साथ लागिपरेका छन् । पहिचान बनाउन भरमग्दुुर प्रयत्न गरिरहेका छन् । तर हामी दलितहरू भने सधैं चेपिएका छौं । हामी किन चुक्यौं त ? हामीलाई किन त्यसरी हेरियो त ? विगतलाई खोतलेर हे¥यौं भने हामीले थाहा पाउन सक्छौं । वास्तवमा हामी को हौ ? हामीमा सिप, ज्ञान के के छ ? त्यो हामी आफैले पहिचान गरौं । त्यसतर्फ हामीले ध्यान दियौं भने हामीलाई कहाँ चुकाइरहेका छन् भन्ने हामीले थाहा पाउन सक्छौं । कतै धर्मको लोभमा, कतै रोजगारीको प्रलोभनमा हामीलाई चेप्ने काम भइरहेको पाउँछौं । परम्परागत रूपमा जरो गाडेको जातीय स्टक्चरबाट पनि हामी पीडित छौं । हाम्रो यिनै केही कमी कमजोरीलाई कसैले आफ्नो फाइदाका लागि प्रयोग गरिरहेका त छैनन् ? यसको निक्र्योल हामीले गर्न सके हामीलाई, हाम्रो कर्मलाई कसैले पनि नकारात्मक सोचका साथ हेर्न सक्दैनन् ।
हामीले यो पनि बुझ्न जरुरी छ, दलितले चन्द्रमा टेके, परिवर्तनको खातिर पसिना बगाए, युद्ध लडे, तर तिनले सुखको सास फेर्न पाएनन् । यसैमा बिते हाम्रा पूर्खाका रगत पसिनाहरू । त्यसैले हाम्रो भविष्य र सन्तानको उन्नति प्रगतिका लागि अब हामीले हाम्रो क्षमता प्रदर्शित गर्नैपर्छ । अनि मात्र देश पनि सफल हुन्छ । देश र जनताको आयमा मात्र नभई चेतनामा पनि वृद्धि हुन जान्छ । यसले देशप्रतिको भावनालाई पनि जागृत गराउँछ । हामीले देख्दै आएका छौं, पिछडिएका वर्गलाई सधैं राज्यले हेप्ने चेप्ने काम गर्दै आएको छ । भन्नलाई त दलितका उत्थानका अनेकन कुरा गरिन्छन् । तर त्यो भाषणमा मात्र सीमित रहन्छ, कार्यान्वयनमा आउन कठिन हुन्छ । त्यसैले राज्यले अब भाषणमा मात्र यस्ता भावनका कुरा ओकल्ने होइन कि दलितहरू पनि हाम्रै समाजका एउटा अंग हुन भनेर लाग्नु पर्छ । सरकार र अन्य राजनीतिक दलका शीर्ष नेताहरू यतिखेर संविधानको मस्यौदामा काम गरिरहेका छन् । तशर्स दलितहरूको हितमा हुने योजना, उद्देश्य, लक्ष्य र संकल्पसहितको नयाँ संविधान लेखिनु पर्छ । यसले दलितहरूलाई पनि अबको संविधान हाम्रो पनि हो भन्ने भावनाको जागृत गराउँछ । निष्पक्ष, कर्म निष्ठा, इमानदार, तवरबाट दलितका हकहित संरक्षित हुने सुनिश्चतासहितको दलितहरूको भावनालाई मुखरित गर्ने त्यस्तो संविधान दलितहरूलाई पनि चाहिएको छ । यसलाई हृदयंगम गरेको खण्डमा दलितहरूको भविष्य पक्कै पनि उज्ज्वल हुनेछ ।
विगतमा बेलाबखत दलित किन पछाडि परे त भन्ने विषयमा मैले लेख्दै आइरहेको छु । दलितहरूको दुर्दशाको कारण, हाम्रा राजनेतामा नेतृत्व क्षमताको कमी तथा कर्मचारीत्रन्त्रमा दलितको अभावका कारण पनि हो । सौभाग्यवश पाइहाले पनि पदअनुरूप कर्म गर्न नदिएर खुट्टा तान्ने प्रवृत्तिबाट दलितहरू सधैं पीडित छन् । पदीय दायित्वमा बसेकाले पनि सकारात्मक नसोचेका कारण यो दुर्दशा दलितहरूले भोग्नु परिरहेको छ । दलितका नाममा भोट भने माग्ने, तिनलाई भाँडो बनाउने अनि त्यसबाट मोज भने केही टाठाबाठाले मात्र पाउने । अब नयाँ संविधानले दलितलाई त्यसरी ठग्ने छैन । नयाँ सामन्तहरू अब देखा नपरून् । संविधान दलितको हित गर्ने खालको होस्, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ नहोस् । अब आउने संविधानले समस्तरूपमा मुलुकका हरेक जनतालाई समेट्ने काम गरोस्, एउटा नमुनाको संविधान निर्माण भई मुलुकभरि सुसन्देश फैलाओस् । अब पनि विगतमा झै दलितलाई मारमा नपारियोस् ।साभार :- इहिमालय टाइम्स

No comments:

Post a Comment