भुकम्पबाट पिडित विपन्न र दलित समुदायको अवस्था अवलोकन

असार ४, विभेद विरुद्ध अभियान।राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले लमजुङका भुकम्प पिडित विपन्न र दलित समुदायको अवस्था अवलोकन गरेको छ । दुवै आयोगका प्रतिनिधी सम्मिलित टोलीले स्थलगत रुपमा परेवाडाँडा गाविसमा पुगेर अवलोकन गरेको हो । अवलोकन पश्चात बेसीशहरमा भएको छलफल कार्यक्रममा सहभागीहरुले पहुँचका आधारमा राहत वितरण भईरहेको बताएका थिए । जिल्लामा एकद्धार प्रणाली मार्फत भुकम्प पिडितलाई राहत वितरण गर्ने भनिएपनि राजनितिक दलका नेता तथा कार्यकर्ता र गैर सरकारी संस्थाले आफुखुशी राहत वितरण गरेको सहभागीको भनाई छ । 
विपन्न र दलित समुदायको पहुँच राज्यका निकाय र दलहरुमा पुग्न नसक्दा उनिहरुमा मर्का परेको उनिहरुले बताएका थिए । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी लमजुङका अध्यक्ष नारायणप्रसाद घिमिरेले लमजुङमा भुकम्पको क्षेति र राहत वितरणको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । छलफलमा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष नविनराज कुँईकेल, निवर्तमान अध्यक्ष कृष्ण केसी, गैर सरकारी संस्था महासंघ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो । 
सो अवसरमा राष्ट्रिय दलित आयोगका सदस्य मनसुर सुनार, बेगम विश्वकर्मा, राष्ट्रिय मानव अधिकारी आयोगका कानुनी परामर्शदाता हरि ज्ञवाली लगायतको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment