पाँच दशक पुरानो पेशाले पेट पाल्नै गाह्रो -हर्कबहादुर नेपाली

दुर्गाप्रसाद शर्मा ।पर्वत, - ९ जेठ, विभेद बिरुद अभियान  । – पर्वतको नाङलीबाङका ७७ वर्षका हर्कबहादुर नेपाली बिहानै उठेपछि गाउँको अग्लो डाडाँमा पुग्नुहुन्छ अनि ‘सुन है गाउँले हो.....’ भन्दै कराउन थाल्नुहुन्छ । उहाँले यसरी कटुवाल गराएर गाउँलेलाई भेला पार्न थालेको पाँच दशक भयो ।

उबेला यही पेशाले परिवार पाल्दै आउनुभएका  हर्कबहादुरलाई अहिले भने कटुवालको कमाईले पेट पाल्नै गाह्रो भएको छ । पहिले कटुवालको कमाईले परिवार चलेपनि अहिले पारिश्रमिक थोरै भएको उहाँको गुनासो छ ।
पहिले हरेक घरमा पुगेर धान, मकै, कोदो, गहुँ जस्ता अन्नबाली पाथीका दरमा उठाउँदा केटाकेटी पाल्न गाह्रो थिएन । अहिले भने गाविसले वर्षको २६ हजार मात्रै दिने गरेको छ । ‘पहिले सबै घरधुरीबाट पाथी अन्न उठाउँदा धेरै कमाई हुने गथ्र्यो’ नेपालीले भन्नुभयो ‘अहिले गाविसले दिएको नगदले पेट पाल्नै धौ धौ भएको छ ।’ गाविसका दुईवटा वडा बाहेक सबै वडामा गाउँ विकास समितिको बैठकको चिठ्ठी पुर्‍याउन, भेला, बैठक, सभा समारोह, वन गोडमेल, सिंचाई, कुलो होस कि खानेपानी मर्मतका लागि जनसहभागिता जुटाउन घोक हाल्ने काम सबै उहाँको जिम्मामा छ  ।
त्यसबापत उहाँले केही वर्ष अघिसम्म हरेक घरबाट वर्षको दुई पाथी धान, एक एक पाथी मकै, कोदो र गहुँ उठाउनुहुन्थ्यो । त्यो अन्न वर्ष दिनभरी खान पुग्थ्यो । अहिले छोरा बुहारीको साहरामा बस्दै आएका नेपालीले भन्नुभयो ‘केही वर्ष अघिदेखि गाविसले वर्षको २६ हजार रुपैयाँ दिने गरेको छ । यो रकम साह्रै थोरै भयो ।’ गाविस सचिव र सामाजिक परिचालकको अनुपस्थितिमा पनि हर्कबहादुरले गाविसको कार्यालय खोल्ने काम नियमित रुपमा गर्दै आउनुभएको छ । नाङलीबाङ गाविसका सचिव मोहदत्त पौडेल आफू भरखर गाविसमा आएकाले सबै कुरा बुझ्न बाँकी रहेको बताउनुहुन्छ । उहाँले समयानुकुल पारिश्रमिक बढाउने पनि बताउनुभयो । ‘सबैकुरा बुझेपछि पारिश्रमिक र अन्य विषयमा निर्णय गर्न सकिन्छ’ उहाँले भन्नुभयो । गाउँघरमा आधुनिक सञ्चारका साधनको पहुँच पुगेको छ । युवादेखि वृद्ध सबैका हातमा मोबाइल छन् । तर पनि गाउँमा सार्वजनिक महत्वका विषयमा सूचना दिनका लागि कटुवाल राख्ने प्रथा अहिले पनि हटेको छैन ।
कटुवाल पेशामा आवद्धको पारिश्रमिक अन्न उठाउने बेलाको भन्दा पनि अहिले अव्यवहारिक हुँदा उनीहरु समस्यामा छन् । पर्वतको नाङलीबाङ गाविसमा मात्रै होइन सदरमुकाम वरपरका गाउँहरुमा पनि  सूचना पुर्‍याउन कटुवालले  काम गर्दै आएका छन् ।

स्रोत: उज्यालो

No comments:

Post a Comment