सप्तरी २१ जेष्ठ ०७२, विभेद बिरुद्ध अभियान । ऊ मरेको ११ वर्ष भइसकेको थियो। मृत्युपछिका हरेक संस्कार पनि उसका परिवारले गर्दै आएका थिए। मरेको भनी उनकी श्रीमतिले सेता कपडा लगाइन्, चुरा फुटाइन्, सिउँदो पुछिन्। गाविस कार्यालयमा गएर उनको मृत्यु दर्ता पनि गरियो।
उनकी श्रीमतिले एकल महिलाको भत्ता समेत थाप्दै आएकी थिइन्। तर सप्तरीको पिप्रा पूर्व गाविस २ पन्द्रह कठ्ठेका ४८ वर्षीय दलबहादुर परियार अचानक घरको दैलोमा उभिन आइपुग्दा उसका परिवारको होसहवास मात्र उडेन खुशीको सिमाना नै रहेन।
एक श्रीमति, दुई छोरा, एक छोरी, दुई नाती र दुई नातिनीका धनी परियारको काजक्रिया गरेको ११ वर्षपछि उनी घर फर्कदा गाउँ र परिवारमा खुसीयाली छाएको हो । ०६१ साउन १३ गते मृत्यु भएको भनेर गाविसबाट ०६५ माघ १२ गते दलबहादुर परियारको मृत्यु दर्ता प्रमाण पत्र समेत बनाइएको थियो।
छिमेकी गाउँ हर्दिया ५ का श्याम कोइराला परियारले ०५३ चैत ५ गते भारतमा मासिक ६ हजारको रोजगारी लगाइदिने भनेर घरवाट लिएर गऐपछि उनी बेपत्ता भएका थिए। घरवाट गएपछि वेपत्ता भएका दलबहादुर लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि लैजाने श्यामलाई सोध्दा भारतमै मृत्यू भएको भनेपछि विश्वासमा परी काजक्रिया गर्नुका साथै गाविस कार्यालयमा गएर मृत्यु दर्तासमेत बनाएको श्रीमति सीता परियारले बताइन्।
सीताले एकल महिलालाई दिइदै आएको भत्तासमेत बुझ्दै आएकी थिइन्। श्यामले खेतीपाती नभएको, तीनजना नाबालक छोराछोरी भएकोले घरमा त्यसै बस्नुभन्दा राम्रो रोजगारीमा लगाइदिने भन्दै श्यामलाई भारतको पञ्जाब लगेका थिए।
पञ्जाब हरियाणाको शितल होटलका सञ्चालक गोपाल सरदारलाई उनले तीन लाखमा बिक्री गरेका रहेछन्।
एक÷दुई महिनापछि तलब माग्दा होटल मालिकले तीन लाखमा श्यामसँग किनेको भन्दै तलब नदिएपछि आफू बिक्री भएको थाहा पाएको दलबहादुरले प्रहरी समक्ष बताएको प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए।
हरियाणाको होटलमा १८ बर्षसम्म बन्धक बनाई जुठो भाँडा माझेर बसेका दलबहादुरलाई कालाज्वरो र मलेरियाले निकै च्यापेपछि होटल मालिकले रु. पाँच सय थमाई निकालेपछि आफू घर फर्किन पाएको दलबहादुरले जानकारी दिए।
सप्तरी र उदयपुरबाट रोजगारीका लागि श्यामले एक दर्जनभन्दा बढी मानिस लगेर बिक्री गरेको श्यामको कथन छ। उनकै भान्जा नाताका शेर्पा परियार, मादे परियार, उदयपुर मोतिगढाका श्रवण विश्वकर्मा र बगहाका चौधरी थरका युवकलाई पनि लगेर श्यामले बिक्री गरेको उनको दाबी छ।
काजक्रिया समेत गरेर मरिसकेको भनिएका आफ्ना श्रीमान् एक्कासी घर फर्कंदा आफूलाई विश्वास गर्नै गाह्रो परेको उनको श्रीमती सीताले बताइन्।
'मृत्यु भएको भनेर मृत्यु संस्कार समेत गरिसकिएका श्रीमान् ज्युँदै होलान भनेर कल्पनासम्म पनि गरेको थिइन,' उनले खुसी साट्दै भनिन्, ‘सोच्दै नसोचेको कुरा हुँदा पत्याउनै मुस्किल परेको छ।'
उनले घरमा श्रीमान् नहुँदा छोराछोरीहरुले ‘बुवा खै' भनेर पीडा दिने गरेको स्मरण गर्दै आफ्ना बाबुलाई पाएपछि छोराछोरी, परिवारका साथै गाउँमा नै खुसीयाली छाएको बताइन्।
वि.सं २०५३ चैत ५ गतेदेखि बेपत्ता भई मरेको भनिएका दलबहादुर १८ वर्षपछि घर फर्कंदा सारा गाउँनै अचम्ममा परेको छ।
प्रहरीले भारतमा लगी बिक्री गर्ने श्यामलाई मंगलबार पक्राउ गरी जीउ मास्ने बेच्ने अपराधअन्तर्गत मुद्दा दर्ता गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले बताए।
(रेडियो अन्नपूर्णबाट)
No comments:
Post a Comment