राज्यबाट पाउने सेवाबाट समेत बञ्चित

२७ जेठ, रामेछाप -विभेद बिरुद्ध अभियान । रामेछाप नगरपालिका-४ बावियाखर्क आरुबोटका लेखबहादुर बिकको घर भूकम्पका कारण बस्न नहुने गरी चर्कियो । गत बैशाख १२, १३ र २९ गते आएको विनासकारी भूकम्पका कारण उनको घर धाँजा फाटेर चिरिएको छ ।
घरमा बस्न नहुने भएपछि उनको परिबार घर बाहिर पाल टाँगेर बसेको छ । तर बिक राज्यको भूकम्प पीडितको सूचिमा पर्न सकेका छैनन् । प्राविधिकहरुको आँखामा उनको घर भूकम्पका कारण आंशिक मात्रै क्षति भएको छ ।
“घर बस्न नहुने गरी फुटेको छ, डेढ महिनादेखि बारीको पाटामा पाल टाँगेर बसेका छौँ, प्राविधिकले आएर यो घर सामान्य क्षति भएको हो, राज्यले घर बनाउन उपलब्ध गराउने २ लाख रुपैयाँ र तत्काललाई अस्थाई घर बनाउन दिने १५ हजार रुपैयाँ पनि दिन मिल्दैन भनेर हिँड्यो”- बिकले गुनासो गरे ।
लेखबहादुरको मात्र हैन, विनासकारी भूकम्पले रामेछाप जिल्लामा ढुङ्गामाटोले बनेका केही घरहरु ढलेका छन् । बाँकी घरहरु बस्न नहुने गरी चर्किएर छियाछिया भएका छन् । बाहिरबाट सद्दे देखिने कतिपय घरहरु भित्र छिर्न नसकिने अवस्थामा छन् । ती घरहरु कुनै पनि बेला ढल्ने अवस्थामा छन् ।
राष्ट्रिय योजना आयोग तथा सरकारका निकायबाट गएका प्राविधिकहरुले भने चर्किएका ढुङ्गा माटोका घरहरुलाई समेत आंशिक क्षति भएको प्रतिवेदन दिएपछि भूकम्प प्रभावितहरु समस्यामा परेका छन् । उनीहरु राज्यबाट पाउने सेवाबाट समेत बञ्चित भएका छन् ।
सरकारले घर पूर्ण रुपमा क्षति भएकाहरुका लागि मात्र आवासका लागि तत्काल १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सरकारको यो परिभाषा अनुसार प्राविधिकहरुले आंशिक क्षति भनि सिफारिस घरपरिवारले सो सुविधा पाउने छैनन् ।
भर्खरै रामेछाप जिल्लाका २९ गाविस घुमेर फर्किएका पूर्व जलश्रोत राज्यमन्त्री समेत रहेका कांग्रेस नेता एवं वरिष्ठ इञ्जिनियर लक्ष्मण घिमिरे रामेछाप जिल्लाका ढुङ्गा माटोले बनेका कुनै पनि घरहरु बस्न हुने अवस्थामा नरहेको बताउँछन् ।
‘ढुङ्गा माटोका घर सिमेन्टका पक्की घर जस्ता हुँदैनन् । पक्की घरहरुमा पर्खाल चर्किए पनि बिम र पिल्लर केही नहुँदा मर्मत गरेर बस्न सकिन्छ, तर ढुङ्गा माटोको घर चर्किए पछि मर्मत गरेर पनि बस्न सकिँदैन, ती घर भत्काउनुपर्छ,’ घिमिरेले भने-‘रामेछापका ढुङ्गा माटोले बनेका कुनै पनि घर बस्न लायकका छैनन् । ‘
कांग्रेस नेता घिमिरेले भने- इञ्जिनियर पढेर आएका नयाँ पुस्ताले ढुङ्गा माटोको घरको बनोटको बारेमा पढेकै छैनन् । त्यसबारेमा उनीहरुलाई व्यवहारिक ज्ञान छैन, त्यसैले यस्तो समस्या आएको हो ।’
जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले पनि रामेछाप जिल्लाका ढुङ्गो माटोले बनेका कुनै पनि घरहरु बस्ने अवस्थामा नरहेको निर्णय गरेको छ । जिल्लामा ४७ हजार घरहरु बस्न अयोग्य भएको दैवी प्रकोप उद्धार समितिले सिफारिस गरेको छ । तर, प्राविधिकहरुको यो कार्यले भूकम्प प्रभावितलाई थप पीडित र आक्रोषित बनाएको छ ।
मन्थली नगरपालिका-१ का वडा नागरिक मञ्चका संयोजक ध्रुवप्रसाद सुवेदीले ढुङ्गा माटोका घरहरु मान्छे बस्न लायक छन् भन्ने प्राविधिलाई ती घरमा एक रात बिताउन चुनौती दिएका छन् । उनले अनलाइनखबरसँग भने – ‘यी घरहरु बस्न योग्य छन् भन्ने प्रविधिकलाई एक रात ती घरमा सुतेर देखाउन हामी चुनौती दिन्छौँ ।’
रामेछाप जिल्लाका ३५ भन्दा बढी गाविस घुमेर मन्थली फर्किएका रामेछापका पूर्वसांसद एवं एमाले केन्द्रीय सदस्यसमेत रहेका भूगोलविद देवशंकर पौडेल पनि रामेछाप जिल्लाका ढुङ्गामाटोका कुनै पनि घर बस्न नहुने भएको बताउँछन् ।  “ती घरमा मानिसहरु राख्नु भनेको यति ठूलो भूकम्पबाट बचेको ज्यानलाई चिहानमा पठाउनु हो । त्यसैले यस विषयमा सरोकारवाला र प्राविधिकहरु सचेत हुनुपर्छ”- उनले भने ।
बारम्बार आएका ठूला भूकम्पका कारण ढुङ्गामाटोका घरहरु थिलथिलो भएका छन् । ती घरहरु ठूलो हावाहुरी चल्दा, पानी पर्दा वा भूकम्पको साना झड्का आउँदा पनि ती भवनहरु भत्किन सक्छन् । यति ठूलो विपत्तिबाट जोगिएका ज्यान प्राविधिरुहरुको लापरवाहीले गए त्यसको जिम्वेवारी कसले लिने ?
साभार : अनलाइन खबर 

No comments:

Post a Comment