श्रीमती र छोरीको खोजी गरिदिन दृष्टिविहीन विकको आग्रह

 पी.टी.लोप्चन- रसुवा, असार ४, विभेद विरुद्ध अभियान। — धुन्चे गएका श्रीमती र छोरीले चामल ल्याउँछन् र खाऔंला भन्ने पर्खाइमा हुनुहुन्थ्यो धुन्चे – ६ ठूलोस्याब्रुका सुकलाल विक । दिउँसो धर्ती नै उल्ट्याउला झैं गरी आएको भूकम्पले कतै केही भयो कि भन्ने चिन्ताले उहाँलाई भित्रभित्रै पिरोल्थ्यो, तैपनि केही नहोस् भनी भगवानको नाम जपिरहनुभयो । 
बिहानै घरबाट निस्केका उहाँका श्रीमती र छोरी अबेरसम्म पनि नफर्केपछि त्यो रात बुबाछोरा आधापेट खाएर गुन्द्रीमा पल्टिए । मनमा अनेकौं तर्कना खेल्यो । आँखा झिमिक्क गर्न नपाउँदै घर पछाडिको खोरको भाले बास्यो ।
श्रीमती र छोरीको आशमा बस्दा बस्दै भूकम्प गएको भोलिपल्ट चार बजेतिर मात्र खबर आयो कि श्रीमती र छोरी घर फर्कने क्रममै पहाडबाट झरेको ढुंगाले लागेर करङ भाँचिएछ । घाइते आमा, छोरी दुवैलाई सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौ लग्यो रे भनेपछि सुकलाल धुरुधुरु रुनुभयो । ‘नेपाली सेनाको हेलिकप्टरले लगेको मानिसउपचार गरेरै पठाउलान् नि ?’ उहाँले मन बुझाउने बाटो खोज्नुभयो । ‘कहाँ बेपत्ता भयो ? भन्ने लागिरहेको थियो, सेनाको हेलिकप्टरले लग्यो भनेपछि म अलिक ढुक्क भएँ’ सुकलालले भन्नुभयो । समय बित्दै गयो श्रीमती सीता विक र छोरीको तत्काल खोजी गरिदिनका लागि दृष्टिविहीन विकको सहयोगी कोही पनि थिएनन् । सहाराको नाममा एक मात्र छोरो पनि ८ वर्षका मात्र थिए । एक मन जे त होला भुईं छाम्दै श्रीमती र छोरी खोज्न जान्छु भन्ने सोच आउँथ्यो, तर बेला बेलामा आईरहने पराकम्पनले क्षणभरमै हातखुट्टा गलेर लत्र्याकलुत्रुक्क भएर आउँथ्यो । 
  परिवारको खोजी गर्दै उहाँले चार पटक त धुन्चे स्थित नेपाली सेनाको कार्यालयमा धाइसक्नुभएको छ । तर अहिलेसम्म पनि परिवार कहाँ छ ? कसरी उपचार भईरहेको छ भन्ने अत्तोपत्तो छैन । सुकलाल भन्नुहुन्छ ‘सेनाले लगेको छैन पनि भन्दैन, यहाँ छ त्यहाँ छ पनि भनेको छैन, फोन गरेर खबर गरुँला भन्नुहुन्छ केही खबर पाएको छैन ।’ उहाँका अनुसार श्रीमती सीता विकको खुट्टा लुलो र केही बाङ्गो छ । एघार बर्षीया छोरी लक्ष्मीले समेत सानैमा अँगेनामा परी देब्रे हातको कान्छी औला गुमाएकी छिन् । लक्ष्मीको टाउकोमा पनि टाटो छ । 
बुबालाई डोर्याएर हिँडाउनुपर्ने भएपछि छोरोले पढ्न पाएनन्
दृष्टिविहीन बुबालाई डोर्‍याउदै हिँड्नुपर्ने भएपछि उहाँका कान्छो छोरो मानवहादुर विश्वकर्मको पढाई छुटेको छ । ‘म आँखा देख्दिन, मलाई डोर्‍याउने बुढी र छोरी नै हराएपछि उनैले डोर्‍याउनुपरेको छ, स्कुल पठाउन पनि सकेको छैन’ सुकलालले भन्नुभयो । ‘जेठीलाई कालले लगेपछि नौ बर्ष अघि कान्छीलाई विहे गरें, कान्छीको पनि यस्तो हालत कस्तो खोटी कर्म रहेछ मेरो’ गहभरि आँशु पार्दै सुकलालले भन्नुभयो । बुबाले दुःखको कथा बेसाईरहँदा नजिकै रहेको आठ बर्षका छोरा बुबाको हात तान्दै थिए । 
उनलाई सकभर चाँडो बुबालाई गाउँ विकास समितिको सचिवसँग भेट गराईदिनु थियो । भूकम्पले उठीबास लगाएपनि सुकलालले २० किलो चामल, मण्डी, विस्कुट र पाल मात्र पाएको दुःखेसो गर्नुभयो । ‘अरुले त पैसा पनि पाएछन् मैले त त्यो पनि पाएको छैन, गाविस सचिवलाई माग्न हिँडेको’ जिल्ला प्रशासन कार्यालय अघिल्तिरको सिँढी झर्दै सुकलालले भन्नुभयो ।  
- साभार- उज्यालो

No comments:

Post a Comment