सरकारले मुक्त हलिया परिवारका लागि नयाँ घर निर्माण गर्ने

डडेल्धुरा, ५ असार - विभेद विरुद्ध अभियान ।सरकारले हलिया समुदायलाई मुक्त गरेको झण्डै छ वर्षपछि पुनःस्थापना प्याकेजअन्तर्गत यसै आवमा डडेल्धुराका मुक्त हलियाका लागि घर निर्माण गर्ने भएको छ ।
सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि ल्याएको योजनाअन्तर्गत यसै आवभित्र घर बनाउने कार्यक्रम अन्तिम चरणमा पुगेको मुक्त हलिया पुनःस्थापना समितिका सदस्य तुलाराम सार्कीले जानकारी दिनुभयो ।
यस वर्षको कार्यक्रमअनुसार डडेल्धुराका २८ हलिया परिवारलाई घर निर्माण अन्तिम चरणमा पुगेको र २० परिवारको घर मर्मत गर्ने तथा १५ परिवारका लागि जग्गा खरिद गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
पुनःस्थापना समितिले १५ परिवारका लागि जग्गा खरिद गर्न रु एक लाख ५० हजार, घर मर्मतका लागि रु एक लाख र घर निर्माणमा दुई लाख ५० हजार बजेट विनियोजन गरेको जनाएको छ ।
डडेल्धुरा जिल्लाका प्रमाणीकरणमा परेका जिल्लाका दुई हजार ५७६ हलिया परिवारमध्ये हालसम्म एक हजार ४४२ जनाले परिचयपत्र लिएका छन् भने २६१ जना हलियाले रातो कार्ड, क वर्ग ५१७ ले खैरो ख वर्ग, ६५ ले हरियो ग वर्ग र ५९९ जनाले सेतो कार्ड घ वर्ग परिचयपत्र पाएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment